अर्थ / बाणिज्य

पुराना १० गाडी सोझै वार्ता गरेर बेच्‍दै परराष्ट्र मन्‍त्रालय

इकागज |
फागुन १६, २०७७ आइतबार १२:४४ बजे

काठमाडौं : परराष्ट्र मन्‍त्रालयले थन्किएर बसेका पुराना गाडी सोझै वार्ता प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । मन्त्रालयमा रहेका पुराना सवारी साधन थान १०, मोटरसाइकल थान १ र अन्य पुराना कार्यालय सम्बन्धी मालसामान सोझै वार्ताद्वारा बिक्री गरिने मन्‍त्रालयले जानकारी दिएको छ ।

खरिद गर्न चाहने व्यक्ति, फर्म कम्पनी वा संस्थाले १६ दिनभित्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्ने बताएको छ । वार्तामा सहभागी भई सामान सकार गर्न रकम कबोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफूले बोलकबोल गरेको रकमको १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोडी हुन आउने रकमको १० प्रतिशत रकम धरौटीको रूपमा नगदै बुझाउनु पर्ने उल्‍लेख छ । रकम जम्मा नगरेसम्म बोलकबोल रकमलाई मान्यता नदिइने मन्‍त्रालयले जनाएको छ ।

गत साउनमा सर्वोच्च अदालतले सरकारी स्वामित्वका पुराना सवारी साधनबारे अध्ययन समिति बनाउन आदेश दिएको थियो । देशभरका सरकारी कार्यालयले करोडौँ मूल्यका सवारी साधन कवाडीका रुपमा फालेर बर्सेनि नयाँ किनिँदा राज्य स्रोतको दुरुपयोग भइरहेको भन्दै त्यसबारले ६ महिनाभित्र विस्तृत रुपमा अध्ययन गर्न सरकारलाई निर्देशन दिएको थियो ।


महालेखा परीक्षकको कार्यालयले सरकारी स्वामित्वका चल्न सक्ने सवारी साधनलाई पनि कवाडीका रुपमा फोलेर कमिसनका लागि करोडौँ मूल्यका खरिद हुने गरेको र त्यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिँदै आएको छ ।

महालेखाले सुधारका लागि प्रत्येक वर्ष सुझाव दिए पनि कार्यान्वयन नभएको भन्दै एफोर्टल्यावको तथा आफ्नोतर्फबाट अधिवक्ता पद्मबहादुर श्रेष्ठले रिट दायर गरेका थिए । अदालतले ६ महिनाभित्र विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न आदेश दिएको थियो ।


Author

थप समाचार
x