अर्थ / बाणिज्य

डब्लुटीओको नयाँ महानिर्देशक एन्गोजी कोन्जोइवेलाले भोलिदेखि कार्यभार सम्हाल्ने, विवाद समाधान संयन्त्रमा सुधार प्राथमिकता

इकागज |
फागुन १६, २०७७ आइतबार १८:३० बजे

काठमाडौँः विश्व व्यापार संगठन (डब्लुटीओ) को नयाँ महानिर्देशकमा एन्गोजी कोन्जोइवेलाले मार्च १ देखि पदभार सम्हाल्ने भएकी छिन् । उनलाई डब्लुटीओको जनरल काउन्सिलले फेब्रुअरी १५ मा महानिर्देशक छनौट गरेको थियो । 

नाइजेरियाकी एन्गोजी ग्लोबल फाइनान्स (विश्वव्यापी वित्त) को विज्ञ हुन् । उनीसँग अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा एसिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका तथा उत्तर अमेरिकामा ३० वर्ष काम गरेको अनुभव छ । डब्लुटीओको महानिर्देशक हुनुअघि उनी गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन) को सञ्चालक समितिको अध्यक्ष थिइन् । 


एन्गोजीले नाइजेरियाको दुई पटक अर्थमन्त्री (२००३–०६ र २०११–१५) भएकी थिइन् । 

डब्लुटीओको यसअघिका महानिर्देशक रोबर्टो अजेभेदो गत वर्ष ३१ अगस्टबाट बाहिरिएपछि डब्लुटीओको जनरल काउन्सिलले नयाँ महानिर्देशकका लागि आवेदन लिएर एन्गोजीलाई चयन गरेको हो । 

एन्गोजी डब्लुटीओको महानिर्देशक बन्ने पहिलो अफ्रिकी र पहिलो महिला हुन् । डब्लुटीओको महानिर्देशक नियुक्त भएपछि उनले आफू कोभिड–१९ महामारीका कारण उत्पन्न अनिश्चितताको समयमा जिम्मेवारी सम्हाल्न आइपुगेको भन्दै सबैभन्दा पहिले आफ्नो ध्यान कोभिड–१९ महामारीको समाधानमा डब्लुटीओले के समाधान दिनसक्छ भन्नेमा हुने बताइन् । 

‘महामारी नियन्त्रण र अर्थतन्त्र पुनरुत्थानका लागि व्यापार महत्वपूर्ण छ,’ उनले भनेकी छिन्, ‘किनकी अहिले औषधी र खोपको स्वतन्त्र र सहज आपूर्ति हुनुपर्छ, त्यस्तै अर्थतन्त्र पुनरुत्थानको लागि पनि चुस्त ढङ्गले व्यापार हुनुपर्छ ।’ 

एन्गोजी डब्लुटीओको महानिर्देशक बन्ने पहिलो अफ्रिकी र पहिलो महिला हुन् ।

उनले डब्लुटीओको विवाद समाधन संयन्त्रलाई सुधार गर्ने बताएकी छिन् । यसको सुधारका लागि सदस्य राष्ट्रहरूले पहिल्याएका सुधारका उपायहरूमा सहमत गराएर विवाद समाधान संयन्त्रमा सुधार गर्ने उल्लेख गरेकी छिन् ।

डब्लुटीओमा रहेर उनले सबै सदस्यहरूलाई लाभ पुग्नेगरी काम गर्ने उल्लेख गरेकी छिन् । ठूला र शक्तिशालीमात्र होइन, टापु राष्ट्रहरू र साना देशहरूलाई पनि लाभ पुर्‍याउने भन्दै उनले विश्व व्यापार व्यवस्थाको लाभ सीमान्तकृत वर्ग, महिला लगायत सबै तहमा पुर्‍याउने बताएकी छिन् । 
लघु, साना र मझौला व्यवसायलाई व्यापारको मूल प्रवाहमा ल्याउने र बहुपक्षीय व्यापारका व्यवस्थालाई वर्तमान आवश्यकता अनुसार सामञ्जस्यता कायम हुन सक्ने गरी आधुनिकीकरण गर्ने उनले उल्लेख गरेकी छिन् । डिजिटल अर्थतन्त्र अत्यन्त उदयमान भएर आइरहेको छ, इ–कमर्सको प्रभुत्व बढीरहेको र यो महत्वपूर्ण भएको उनको भनाइ छ । 

डब्लुटीओका पुराना मुद्दाहरू औद्योगिक र कृषिको सहुलियत तथा विशेष र फरक व्यवहारमा ध्यान दिने उल्लेख गर्दै उनले सदस्य राष्ट्रहरूको डब्लुटीओप्रतिको विश्वास अभिवृद्धि हुने गरी विश्व व्यापार सम्बन्धी व्यवस्थाहरूमा आधुनिक ढङ्गले सुधार ल्याउनेमा जोड दिएकी छिन् । 


Author

थप समाचार
x