अर्थ / बाणिज्य

चैतभित्रै मेलम्ची ल्याउन भरमग्दुर प्रयास

इकागज |
फागुन २९, २०७८ आइतबार १६:५६ बजे

फाइल तस्वीर

काठमाडौं - आगामी चैत मसान्तभित्र मेलम्ची खानेपानी पुनः काठमाडौं ल्याउने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी मर्मत कार्य पूरा भएको  र चैत मसान्तसम्म काठमाडाैँ मा मेलम्चीको पानी ल्याउन भरमग्दुर प्रयास भइरहेको छ ।

साँघुरो ठाउँमा यन्त्र उपकरण लैजान नसकिएको र जनशक्ति परिचालन गर्न पनि कठिनाइ भइरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक पौडेलले आइतबार इकागजसँग भने, ‘एक्स्याभेटरबाट ठूलाठूला ढुंगा फुटाउन सकिएन, त्यसलाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाइयो, जति भित्र गयो उति काम गर्न कठिन हुँदै आएको स्थिति छ ।’
जतिसुकै कठिन अवस्था भए पनि सक्दो छिटो काम सकाउन (ढुंगा, बालुवा, जमेको लेदो हटाउन) आफूहरु प्रयासरत रहेको पनि उनले बताए ।


मेलम्ची खानेपानीको संरचना क्षेत्रमाथिबाट ओइरिएको गेगरान (ढुंगा, माटो, बालुवा, लेदो) ले आयोजनाको मुहान क्षेत्रमा नराम्रो क्षति गरेको थियो । अस्थायी बाँध राखेर मेलम्चीको पानीलाई सुरुङमा पठाएर काठमाडौं उपत्यकामा खानेपानी वितरण भइरहेको थियो । बाढी आउने एक दिनअघि परीक्षणका लागि मुख्य सुरुङको ढोका बन्द गरिएको थियो । मुख्य सुरुङको ढोका बन्द गरिएकै कारण मेलम्चीमा त्यति ठूलो विनाश हुन पाएन ।

यसअघि समितिले तयार पारेको ‘आयोजना पुनःस्थापना कार्यायोजना’ ले मेलम्चीको पानी आगामी (२०७९) जेठमा पूरा हुने लक्ष्य लिएको थियो । वर्षायामभरि कुनै पनि काम गर्न नसकिएको र हिउँद लागेपछि मात्र गेगरान हटाउने, बगाइएका प्रवेश मार्ग बनाउने काम सुरु हुने भएकाले करिब एक वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने आँकलन थियो । 

गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारदेखि हेडवक्र्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर र याङ्ग्रीतर्फ पनि पाँच किलोमिटर सडक पूर्ण क्षति भएको थियो । बाढीले उक्त सडक खण्डमा पर्ने ६ वटा पक्की पुल बगाएको थियो । बाढीले हेडवक्र्स डाइभर्सन टनेलको दुई सय १० मिटर खण्ड र अम्बाथान अडिट टनेल (मुख्य सुरुङ जाने बाटो) को तीन सय मिटर खण्डमा लेदो भरिएको थियो ।

हेडवक्र्समा पक्की बाँध, गेटहरु, जेनेरेटर घर र नियन्त्रण गृहजस्ता पक्की संरचनाहरु पुरिएका थिए । निर्माण सामग्री र उपकरणहरु बगाएको उक्त बाढीले ठेकेदारको मजदुर क्याम्प पनि बगाएको थियो ।  आयोजनाको अनुमान अनुसार एक अर्ब ८८ करोड रुपैयाँको क्षति पुगेको थियो । ठेक्कामा बीमाको व्यवस्था गरिएको हुनाले ठेकेदारले नै बीमा दाबी गर्न पाउने कार्यकारी निर्देशक पौडेलले बताए । 

आयोजनाको मुख्य सुरुङको परीक्षण सञ्चालन कार्यनिम्ति गत फागुन १० गतेदेखि सुरुङमा पानी सञ्चालन गरिएको थियो । गत २०७७ चैत दोस्रो सातादेखि असार १ गतेसम्म दैनिक १७ करोड लिटर प्रशोधित पानी काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । सुरुङका् प्राविधिक निरीक्षणका लागि गत असार १ गतेबाट पानी सञ्चालन बन्द गरिएको थियो ।  हालसम्म ३० अर्ब १५ करोड ६२ लाख रुपैयाँ खर्च भएर आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत सकिएपछि बाढीको विनाशका कारण पूर्ण रुपमा मेलम्ची पूरा गर्न २०८० सालसम्म लाग्ने अनुमान गरिएको छ । 
 


Author

थप समाचार
x