अर्थ / बाणिज्य

मूल्यवृद्धि ६ वर्ष यताकै उच्च

इकागज |
चैत २९, २०७८ मंगलबार १४:० बजे

काठमाडौँ– खाद्य वस्तु तथा गैर–खाद्य वस्तुमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार, मूल्यवृद्धि ७.१४ प्रतिशत पुगेको छ । इन्धन, यातायात, ढुवानी, खाद्यवस्तुको मूल्य आकाशिएसँगै मूल्यवृद्धि ६ वर्षयताकै उच्च बिन्दूमा पुगेको छ । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण इन्धन र खाने तेलको मूल्य अत्याधिक बढेको छ । 

राष्ट्र बैंकका अनुसार खाद्यवस्तु र गैर–खाद्यवस्तु दुवै समूहको मुद्रास्फिति उच्च छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मुद्रास्फिति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको भएपनि यो मुश्किल हुने देखिन्छ । खाद्य समूहको उपभोक्ता मुद्रास्फिति ७.५१ प्रतिशत र गैरखाद्य समूहको मुद्रास्फिति ६.८४ प्रतिशत छ । 


खाद्य समूहमा घिऊ, तेलको मूल्य २६.३४ प्रतिशत र तरकारीको मूल्य १३.९६ प्रतिशतले बढेको छ । त्यस्तै, दाल तथा गेडागुडी र दूध तथा अन्डामा पनि दोहोरो अंकको मूल्यवृद्धि छ । 

गैर–खाद्यतर्फ, यातायात क्षेत्रमा १६.२७ प्रतिशतको मूल्यवृद्धि छ । शिक्षा शुल्कमा झन्डै ९ प्रतिशतको मूल्यवृद्धि छ भने घरयासी सामग्री र फर्निसिङको मूल्यवृद्धि ६.६ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । पछिल्लो समय निर्माण सामग्रीको मूल्य पनि उच्च भएको छ । 
 


Author

थप समाचार
x