अर्थ / बाणिज्य

पेन्ट उद्योगहरूले झेलिरहेका समस्याबारे ध्यानाकर्षण

इकागज |
बैशाख २३, २०७९ शुक्रबार ११:३९ बजे

काठमाडौँ- पेन्ट उद्योगहरूले आयातित कच्चा पदार्थमा भन्सार विभागबाट बेहोरिरहेको अधिकतम भन्सार शुल्क समस्याबारे ध्यानाकर्षण गराउन पेन्ट उद्योग संघले पत्रकार सम्मेलन गरेको छ ।

हाल नेपालको बैङ्किङ क्षेत्रमा देखिएको तरलता सङ्कट तथा विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासलाई मध्यनजर गरी आउँदा दिनहरूमा तयारी पेन्टको आयातमा सरकारले काउण्टरभेलिङ शुल्क लगाउन सक्ने सम्भावनाको आँकलन गर्दै एनपिएमद्वारा उक्त सम्मेलन गरिएको हो ।


पेन्टका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा पनि उद्योगहरूले तयारी उत्पादनकै कोडसरहको भन्सार शुल्क बेहोर्नु परेकोमा सङ्घले ध्यानाकर्षण गराउन खोजेको छ ।

एक्रिलिक पोलिमर सबै पानीमा आधारित पेन्ट तयार गर्नको लागी आवश्यक एक मुख्य कच्चा पदार्थ हो । आजको दिनमा हेर्दा, पानीमा आधारित पेन्ट कुल बिक्रीको लगभग ७५% अनुपातमा रहेको छ । एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमूखी नरहेको पेन्ट उद्योग संघको ठहर छ । सङ्घका अनुसार इमल्सन एचएसएन कोड ३९.०६ अन्तर्गत वर्गिकृत गरिएको वाटर वेस्ड पेन्टहरूका लागि कच्चा पदार्थ भए पनि २०७६ ०३ ०८ मा भन्सार विभागले जारी गरेको पत्र अन्तर्गत एक्रिलिक पोलिमरू लाई फिनिस्ड गुड, पेन्ट एण्ड भानिसका लागि तोकिएको कोड ३२.०९ अन्तर्गत वर्गीकृत गर्न निर्देशन दिइएको छ ।

एचएसएन ३९.०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्र तिर्नुपर्ने र साफ्टा सुविधापनि पाइनेछ । तर ३२.०९ कोड अन्तर्गत भन्सार मूल्यांकन गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने र साफ्टामा पनि तयारी उत्पादनका लागि केही प्रावधान नरहेको सङ्घले जनाएको छ ।

क्याबिनेटले ३२.०९ कोड अन्तर्गत भित्रिने इमल्सनको भन्सार २० प्रतिशतमा झारे पनि पेन्टका लागि आवश्यक पर्ने प्रमुख पदार्थमा भने भन्सार शुल्क प्रभावकारी रुपमा १०% देखि २०%मा पुगेको छ । जबकि एक्रिलिक पोलिमरमा श्रीलङ्का, बङ्गलादेश, भारतजस्ता छिमेकी मुलुकहरूले ०–१० प्रतिशत मात्र भन्सार शुल्क कायम गरिएको छ भन्ने उद्योगीहरूको भनाइ छ ।

यसैगरी, वित्तीय ऐन २०७७÷७८ ले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरेको छ । पेन्ट उद्योगहरूले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११.०० मा आयात गर्ने गरेको हुनाले एचएसएन कोड सच्याउन नेपाल पेन्ट उद्योगको माग रहेको छ ।


Author

थप समाचार
x