फुटबल

फिफा विश्वकपः समूह 'ए' र 'बी' बाट नकआउटमा पुग्ने टोलीको टुंगो लाग्दै

इकागज |
मंसिर १३, २०७९ मंगलबार ९:५० बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको समूह 'ए' र 'बी' बाट नकआउटमा पुग्ने टोलीको आज टुंगो लाग्दैछ ।

समूह 'ए' अन्तर्गत इक्वेडरले सेनेगल तथा नेदरल्यान्ड्सले कतारको सामना गर्दा अन्तिम १६ मा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । यी दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।


समूह 'ए' मा समान दुई खेलबाट ४-४ अंक जोड्दै नेदरल्यान्ड्स र इक्वेडर शीर्ष दुई स्थानमा छन् । यता ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ । अघिल्ला दुबै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको आयोजक कतार भने पुछारमा छ ।

त्यसैगरी, समूह 'बी' मा रहेका इंग्ल्यान्डले वेल्स तथा इरानले अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ । यी दुबै खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

यस समूहमा दुई खेलबाट ४ अंक जोड्दै इंग्ल्यान्ड शीर्ष, ३ अंक जोडेको इरान दोस्रो, २ अंकसहित अमेरिका तेस्रो तथा १ अंक जोडेको वेल्स चौथों स्थानमा छन् । यस समूहबाट चारवटै टिमको नकआउटमा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।


Author

थप समाचार
x