फुटबल

विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलको उपाधि नेपाल पुलिस स्कुल साँगालाई

इकागज |
फागुन ८, २०८० मंगलबार २१:३३ बजे

काठमाडौँ- नेपाल एपीएफ स्कुल कीर्तिपुरले आयोजना गरेको ‘प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८०’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले जितेको छ ।

स्कुलको १९औँ स्थापना दिवस एवं प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते सम्पन्न भएको हो ।


फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपुरलाई पेनाल्टी सुटआउटमा ६-५ गोलको अन्तरले पराजित गरी उपाधि जितेको हो । महानिरीक्षक अर्यालले प्रतियोगिताका विजेता तथा उपविजेता टिम र उपाधि हासिल गर्ने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र, ट्रफी र पुरस्कार तथा रनिङ ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका दिपसन परियार उत्कृष्ट गोलरक्षक र नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पाले उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका छन् भने सैनिक आवासीय महाविद्यालयका दिग विजय शाहीले उच्च गोलकर्ताको रूपमा गोल्डेन बुट प्राप्त गरेका छन् । फेयर प्लेको उपाधि सैनिक आवासीय महाविद्यालयले प्राप्त गरेको छ ।

महानिरीक्षक अर्यालले खेलकुद शारीरिक तथा मानसिक विकासमा जीवनको एक अपरिहार्य तत्व रहेको उल्लेख गर्दै खेलकुदले व्यक्तिलाई अनुशासित, चरित्रवान् बनाउँदै सामूहिक एकता र सहकार्यको भावना विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले खेलकुदले नेतृत्वको शैली, एकतामा विकास र मानवलाई कर्तव्यनिष्ठ बनाउँदै सकारात्मक गुणले भरिपूर्ण बनाउन थप सहयोग पुर्याउने बताउँदै यस प्रकारका अन्तर विद्यालय प्रतियोगिताहरूले व्यक्तिलाई मात्र नभई समग्र विद्यालय, समाज र राष्ट्रलाई परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै खेल मैदानमा खेल्ने व्यक्तिले समाज र राज्यको लागि गौरवको ध्वजा फहराई रहेको बताए ।

महानिरीक्षक अर्यालले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि प्रत्येक प्रदेशमा विद्यालय संचालन गर्न संगठनको नीति अनुरूप मधेश प्रदेशको सप्तरी, लुम्बिनी प्रदेशको बाँकेमा समेत विद्यालय संचालन भई रहेको र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको झलारीमा यसै शैक्षिक सत्रबाट अध्ययन अध्यापन सुरु हुने तथा अन्य प्रदेशहरूमा विद्यालय स्थापनको लागि अध्ययन तथा आवश्यक तयारी भइरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले प्रतियोगितालाई मर्यादित, अनुशासित र नियमसंगत तवरबाट सम्पन्न गराउने रेफ्री तथा खेल व्यवस्थापन समिति र विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दै खेलकुद गतिविधिले विद्यार्थीहरूमा सामूहिक भावना, अनुशासन, नेतृत्वको विकास, सहयोग र समन्वयात्मक भावनाको विकास हुने बताए ।  

गत माघ २२ गतेदेखि संचालन भएको प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x