फुटबल

इंग्लिस प्रिमियर लिग

नयाँ प्रशिक्षकहरूले जिताए युनाइटेड, टोटनहम र भिल्लालाई

इकागज |
मंसिर २०, २०७८ सोमबार ११:३३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा नयाँ प्रशिक्षकहरूको नेतृत्वमा खेलिरहेका तीन टिम विजयी बनेका छन् । राल्फ राग्‍निकको प्रशिक्षक भएपछिको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले आइतबार राति क्रिस्टल प्यालेसलाई पराजित गर्‍यो । सोहि रात टोटनहमले नर्विच सिटीमाथि जित दर्ता गर्‍यो । टोटनहमका एन्टोनियो कोन्टे गत महिना मात्रै लन्डनको क्लबलको प्रशिक्षकमा नियुक्त भएका हुन् । आइतबार राति नै भएको अर्को खेलमा स्टिभन जेरार्ड नेतृत्वको एस्टन भिल्लाले लेस्टर सिटीलाई निराश बनायो । 

ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा फ्रेडको गोल निर्णायक बन्यो । उनले ७७ औँ मिनेटमा गोल गरेका थिए । जारी लिगमा उनको यो दोस्रो गोल हो । राग्‍निकले आफ्नो पहिलो खेलमा युनाइटेडलाई जित दिलाएपछि समर्थकले उनको पक्षमा नारा लगाए । ‘गेगेनप्रेसिङ’लाई युरोपियन क्लब फुटबलमा लोकप्रिय शैलीमा परिणत गर्ने प्रशिक्षक भनेर चिनिएका राग्‍निकले क्रिस्टियानो रोनाल्डोको तारिफ गरे । 


‘बल नियन्त्रणमा नहुँदा पनि उनले निरन्तर मेहेनत गरिरहे,’राग्‍निक को भनाइ थियो । तर गोलमा रोनाल्डाको भूमिका रहेन । ‘समग्रमा हाम्रो प्रदर्शन सन्तोषजनक रह्यो । खेलाडीहरूले तिव्र गतिमा खेले । मैले बनाएको योजना अन्तर्गत रहेर खेले,’ राग्‍निकले भने । जितसँगै युनाइटेडको १५ खेलबाट २४ अंक भएको छ । अंक तालिकामा युनाइटेड छैटो स्थानमा छ । 

आफ्नै मैदानमा भएको खेलमा टोटनहमले नर्विचलाई ३–० ले पन्छायो । टोटनहमका लागि लुकाु मौरा, डाभिन्सन सान्चेज र सन ह्युङ मिनले एक–एक गोल गरे । कोन्टेको नेतृत्वमा टोटनहमले चार लिग खेल खेलिसकेको छ । तीमध्ये तीन खेलमा टोटनहमले जीत निकालेको छ भने बाँकी एक खेलबाट भने एक अंक मात्रै बटुलेको छ । 

उता भिल्लाले लेस्टरविरुद्ध २–१ को विजय प्राप्त गर्‍यो । एक गोलले पछि परेको भिल्लाले लगातार दुई गोल फर्कायो । पहिलो हाफको १४ औँ मिनेटमै लेस्टरले हार्भी बान्सको गोलबाट अघि बढेको थियो । तर तीन मिनेटपछि नै एज्री कोन्साले गोल गरेपछि भिल्ला खेलमा फर्किएको थियो । दोस्रो हाफको ५४ औँ मिनेटमा कोन्साले फेरि गोल गरे । जुन जीतका लागि पर्याप्त रह्यो । जेरार्डका लागि यो तेस्रो लिग जित हो । उनी प्रशिक्षक बनेपछि यसअघि भिल्लाले ब्राइटन र प्यालेसलाई पराजित गरेको थियो । तर म्यानचेस्टर सिटीसँग भने भिल्ला २–१ ले हारेको थियो । 

 


Author

थप समाचार
x