फुटबल

काराबाओ कप सेमिफाइनल समीकरणः

लिभरपुलको भिडन्त आर्सनलसँग, कोन्टे चेल्सी फर्कने

इकागज |
पुस ८, २०७८ बिहीबार ११:५६ बजे

काठमाडौँ- इंग्ल्यान्डको घरेलु प्रतियोगिता काराबाओ कप (ईएफएल) को सेमिफाइनलमा लिभरपुल र आर्सनलको भिड्ने भएका छन् । अर्को सेमिफाइनलमा भने चेल्सी र टोटनहम आमने–सामने हुनेछन् । सेमिफाइनल खेलहरू दुई लेगमा हुनेछन् । पहिलो लेग जनवरी ६ मा हुनेछ भने दोस्रो लेग जनवरी १३ मा खेलाइनेछ ।  अन्तिम चारमा स्थान बनाउन आर्सनलले सन्डरल्यान्डलाई पराजित गरेको थियो । मंगलबार राति भएको क्‍वार्टरफाइनलमा आर्सनलले इंग्लिस फुटबल संरचनामा तेस्रो श्रेणीमा रहेको सन्डरल्यान्डमाथि ५–१ को जित दर्ता गरेको थियो । 

बाँकी तीनक्‍वार्टरफाइनल भने बुधबार राति भए । जसमा चेल्सीले बे्रन्टफोर्डलाई २–० ले पन्छायो । चेल्सीको जितमा जोर्गिन्होले पेनाल्टी गोल गरे । अर्को गोल भने चेल्सीले उपहार पायो । ब्रेन्टफोर्डका पोन्टुस जानसनले ८० औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । 


अर्को क्‍वार्टरफाइनल खेलमा लिभरपुल र लेस्टर सिटी भिडेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमले तीन–तीन गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । लेस्टरका लागि लुक थोमस र रायन बरट्रान्डले गोल गर्न सकेनन् । उता लिभरपुलका लागि ताकुमी मिनामिनो गोल गर्न चुके । 

चौथो क्‍वार्टरफाइनलमा भने टोटनहमले सहरी प्रतिद्वन्द्वी वेस्टह्याममथि २–१ को जित दर्ता गर्‍यो । यो खेलमा पाँच मिनेटमभित्र तीन गोल भए । आफ्नै मैदानमा भएको खेलमा टोटनहमले २९ औँ मिनेटमा स्टिभन बेर्गविनको गोलमार्फत अग्रता लिएको थियो । गोल खाएको तीन मिनेटपछि नै वेस्टह्याम खेलमा फर्किएको थियो । उसका लागि जारोड बोवेनले गोल गरेका थिए । तर ३४ औँ मिनेटमा टोटनहमले फेरि गोल गर्‍यो । यसपटक बेर्गविनले लुकास मौराका लागि गोलको पास मिलाए । दोस्रो हाफमा भने दुवै टिमका तर्फबाट गोल हुन सकेन । 

यसपालिकाे कारबाओ कपका सेमिफाइन खेलहरू दुई लेगमा हुने भएकाले यसको विरोध भइरहेको छ । बेलायतमा कोभिड–१९ संक्रमणमा पर्नेको संख्या बढिहेकाले एकै खेलबाट सेमिफाइनल विजेताको टुंगो हुनु पर्ने माग उठिरहेको छ । यस्तो माग राख्नेमा टोटनहम प्रशिक्षक एन्टोनियो कोन्टे पनि छन् । जसले आफ्नो पूरानो क्लब चेल्सीको सामना गर्ने तालिका छ । 

‘फाइनल प्रवेश गर्ने टिमको निक्र्योल दुई लेगबाट नभई एक लेगबाटै हुनुपर्छ । किनभने अहिलेको अवस्था फरक छ,’ कोन्टेले भने, ‘जे होस् यो भिडन्तका लागि म उत्साहित छु । चेल्सी मेरो पुरानो क्लब हो । त्यहाँ मैले अविस्मरणीय दुई सिजन बिताएको छु । यसकारण चेल्सीविरुद्ध खेल्न म आतुर छु ।’ उता लिभरपुलका प्रशिक्षक योर्गन क्लपले पनि कोन्टेकै जस्तो धारणा राखेका छन् । सेमिफाइनल एकै लेगमा खेलिने भए आफ्नो टिम ‘अवे खेल’ खेल्न पनि तयार रहेको क्लपको भनाइ छ । 


Author

थप समाचार
x