फुटबल

सहिद स्मारक ए डिभिजन लिगः

दर्शनको दुई गोलले दिलायो एनआरटीलाई तेस्रो जित

इकागज |
माघ ३, २०७८ सोमबार १६:९ बजे

काठमाडौँ- दर्शन गुरुङले चार मिनेटभित्र दुई गोल गरेपछि न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई सोमबार २–० ले पराजित गरेको छ । दर्शनले पहिलो गोल दोस्रो हाफको ६९ औँ मिनेटमा गोल गरेका थिए भने दोस्रो गोल ७३ औँ मिनेटमा गोल गरेका थिए । 

दर्शनको दुवै गोलका लागि असिस्ट प्रदान गर्ने खेलाडी अफ्रिकी थिए । पहिलो गोलका लागि मेसौके ओलौमौउले जावलाखेलका तीन खेलाडीलाई डिब«ल गरेर पास निकालेका थिए । जावलाखेलको गोल एरियामा पुगेका दर्शनले ओलौमौउको पासलाई वान टच गोलका परिणत गरे ।


दोस्रो गोल गर्दा पनि दर्शन जावलाखेलका कुनै पनि खेलाडीको मार्किङमा परेका थिएनन् । स्टिफन समिर बिनोङले बाँया क्षेत्रबाट दिएको क्रसलाई दर्शनले पोस्टको दिशा देखाएका थिए । 

यो जितपछि एनआरटी छैटौँ स्थानमा छ । लिगमा तेस्रो जित दर्ता गरेको एनआरटीले नौ खेलबाट १३ अंक जम्मा गरेको छ । उसको भन्दा एक अंक कम रहेको सातदोबाटो युथ क्लब सातौँ स्थानमा छ । उता पराजित जावलाखेल भने १० औँ स्थानमा छ । अहिलेसम्म दुई खेल जितेको जावलाखेलको आठ अंक छ । 

जावलाखेल र रेलिगेसन क्षेत्रमा रहेको च्यासल युथ क्लबबीच तीन अंकको फरक छ । च्यासलभन्दा एक स्थान तल रहेको फ्रेन्ड्सको तीन अंक छ । यद्यपि च्यासलले फ्रेन्ड्सको भन्दा एक खेल कम खेलेको छ । च्यासलको नेपाल पुलिस क्लबसँग आइतबार हुने भनिएको खेल रोकिएको थियो ।  
 


Author

थप समाचार
x