गिरिजा स्मृति दिवस

गिरिजा स्मृति दिवस

गिरिजाबाबुका अनौठा आनीबानी

इकागज |
चैत ७, २०७७ शनिबार ७:१८:५ बजे

‘म जे भन्छु, त्यो गर्छ, जे गर्छ त्यो भन्छु’ यो कुनै फिल्मी डायलग होइन, तर पनि बालकदेखि वृद्धसम्मलाई यो डायलग र डायलगका नायक को हुन् भन्‍ने कुरा थाहा छ  । उनको अहिलेसम्मको यात्रालाई समष्टिमा विश्लेषण गर्दा उनी वास्तवमै बोलेको कुरामा अडिग रहन्थे । त्यो पनि उनको व्यक्तित्वको परिचय थियो । उनी अर्थात् गिरिजाप्रसाद कोइराला गिरिजाप्रसाद एक्सन ओरिएन्टेड म्यान थिए, यो कुरा सूर्यबहादुर थापाले भनेका हुन् । एक्सन ओरिएन्टेड म्यान भएकैले हुनसक्छ, उनले जमानामा सातपटक शोले चलचित्र हेरेका थिए । गब्बर सिंहको अभिनय उनलाई खुबै मन पर्‍यो । सधैं सान्दाजु अर्थात् बीपी कोइरालाको मार्गदर्शनमा हिँडिरहेका क्रान्ति लडाकू बीपीको अवसानपछि पनि लक्ष्यतर्फ अविचलित रहे । २०४६ सालमा उनी पार्टीको महामन्त्री रहेकै बेला प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसपछि उनी ०४८ को आमनिर्वाचनमा दुई स्थानमा चुनाव जितेर दोस्रो जननिर्वाचित प्रधानमन्त्री भएका थिए ।

०००
२०३५ सालको कुरा हो । गिरिजाप्रसाद कोइराला महामन्त्री थिए । जनमत संग्रह गर्ने-नगर्ने विषयमा राजासँग बीपीको कुराकानी भइरहेको थियो । एक दिन राजालाई भेटेर आएका बीपीले विराटनगरमा रहेका गिरिजाप्रसादलाई चिठी लेखे, ‘राजाले रेफरेन्डममा जाने सहमति गरेका छन्, के गर्ने ?' चिठी पढेपछि गिरिजाप्रसाद फारबिसगञ्ज पुगे । उनी फारबिसगञ्ज पुग्‍नुको अर्थ थियो रेफरेन्डमको अर्थ खोज्‍नु ? उनले त्यहाँ पुगेर डिक्सनरी पल्टाएर हेरे र थाहा पाए- अब जनमत संग्रह हुने रहेछ भनेर  । पार्टीको महामन्त्रीजस्तो उच्च पदमा रहेको व्यक्तिमा पनि यति ज्ञान नहुनु अचम्म लाग्‍ने कुरो थियो । त्यसपछि गिरिजाप्रसादले सबै क्षेत्रमा आफूलाई खरोरूपमा उतार्ने ईख लिएर अघि बढेका थिए । गिरिजाप्रसाद गीत, सङ्गीत र चलचित्रमा विशेष रुचि राख्थे  । उनी क्रान्तिका कुरा गर्थे तर उनको एग्रेसिभनेसले सकारात्मक मोडको खोजी गर्थ्यो ।  एकपटक बीपीसँग कुरा नमिल्दा उनले पार्टी छोड्ने धम्की दिए, तर पछि बीपीले सम्झाएपछि उनी फेरि शान्त भएका थिए ।


०००
गिरिजाप्रसादको न्वारानको नाम घनश्याम हो । कसै-कसैले उनको नाम कुमार पनि भनेका छन्  । उनको राशि मिथुन हो  । राशि रत्नअनुसार गिरिजाप्रसादले पन्‍ना उगाउँथे  । उसका पाँचवटा ग्रह उच्च थिए  । त्यसकारण उनको अगाडि गएर बोल्न सक्ने हिम्मत कमैको हुन्थ्यो । लग्‍न सिंह भएका कोइरालाको चिनामा विशिष्ट राजयोग भएको ज्योतिषी वासुदेवकृष्ण शास्त्री बताउँछन् ।

०००
गिरिजाप्रसाद धर्म र संस्कृतिलाई राम्रो स्थान दिन्थे । उनी मन्दिर गइरहन्थे, मन्दिर गएर त्यहाँका विशिष्ट कलाकृति हेर्ने उनको बानी थियो । कलाकारले सिर्जना गरेका कलाकृतिमा गिरिजा विशेष अभिरुचि राख्थे । शोभा भगवतीको मन्दिर, काभ्रेको चण्डेश्वरी मन्दिरका मूर्तिको उनी चर्चा गर्थे र राष्ट्राध्यक्षले मात्र हेर्न पाउने भक्तपुरस्थित नवदुर्गाको मूर्ति पनि हेर्न भ्याएका थिए ।

०००
एकपटक मनमोहन अधिकारी लगायत कम्युनिस्ट विचारधाराका साथीहरूसँगै उनी जेल परेका थिए । जेलमै एउटा ढुंगालाई भगवान् मानेर पुजिएको रहेछ  । भगवान् नहुने र धर्म भनेको नचाहिँदो करा मात्र हो भनेर व्याख्या गरिरहेका कम्युनिस्ट नेता मनमोहनलाई गिरिजाले त्यसो भए ढुंगालाई लात्ता हान्‍न च्यालेन्ज दिए । मनमोहनले ढुंगालाई लात्ताले हान्‍न सकेनन् । त्यसैले कम्युनिस्टहरूप्रति उनी घृणा रहेको बताउँथे, तर समयक्रममा कम्युनिष्टहरूलाई हेर्ने उनको दृष्टिकोणमा परिवर्तन आयो ।

०००
गिरिजाप्रसाद कोइराला परम शिवभक्त थिए । उनी साइबाबाका पनि भक्त थिए । साइबाबाले उनलाई नवरत्नको औंठी लगाइदिएका थिए । जनआन्दोलन भाग-२ अघि गिरिजाप्रसादले संसद् पुनःस्थापनाको माग गर्दै महारुद्रीको सङ्कल्प लिएका थिए, जसअनुसार पशुपतिमा उनले महारूद्री हवन गरेका थिए ।

०००
दाजु बीपी कोइरालाको प्रत्येक निर्देशनलाई कडाइका साथ पालना गर्ने कोइराला दाजुको निधनपछि भाउजू नोनासँग सबैजसो सरसल्लाह गर्थे । नोनाकै सङ्गतका कारण पनि गिरिजाप्रसाद धार्मिक प्रवृत्तिमा रुचि देखाउन थालेका थिए । नोनाकै सल्लाहमा पण्डित वासुदेवकृष्ण शास्त्रीले गिरिजाप्रसादको मृत्युञ्जयको जप पनि गराएका थिए ।

०००
गिरिजा आफ्ना बाल्यकालका सबै सखालाई पछिल्ला दिनसम्म पनि सम्झन्थे । बनारसमा उनका साथीहरू डा. बच्चन सिंह, सागरबाबु आदि थिए । बनारसको गान्धी अध्ययन प्रतिष्ठानमा अहिले पनि किशोर तथा युवावयका गिरिजाप्रसाद तथा कोइराला परिवारका दर्जनौं तस्बिर संग्रहित छन् ।

०००
धर्मप्रति उनको आस्था बढाउनमा बीपीले जीपीलाई दिएको एउटा सल्लाह सम्झनुपर्ने हुन्छ । एक दिन बीपीले तनावमा भएका गिरिजाप्रसादलाई पशुपतिनाथको दर्शन गरेर आउन सल्लाह दिए । जसअनुरूप नै जीपीले पनि पशुपतिको दर्शन गरे । तनावमा गएका कोइराला एकाएक शान्त भएको महसुस गरेर फर्किए । त्यसपछि उनलाई पशुपतिनाथ मन्दिरको शक्तिको अनुभूति भयो । धेरैले गिरिजाप्रसाद कोइरालालाई अराजक, घमण्डी, डरलाग्दो र रिसाहा प्रवृत्तिको भनेर बुझे पनि उनी यसको ठ्याक्कै विपरीत स्वभावका थिए । उनी असाध्यै अनुशासित थिए । पछिल्ला दिनहरूमा बिरामी भएकाले उनको स्वास्थ्यमा केही गडबडी आएकाले उनको रूटिन बिग्रिएको थियो ।

०००
गिरिजाप्रसाद उनलाई भेट्न आउनेहरू तथा पार्टी केन्द्रीय नेताहरूलाई समेत आफ्नो धरातल नबिर्सन पटक-पटक आग्रह गर्थे आफू कहाँबाट आएको, प्रारम्भमा कुन हैसियतमा थिएँ भन्‍ने कुरा बिर्सिएन भने त्यो मानिस सधैँ सफल हुन्छ भनेर उनले भन्‍ने गरेको परिवारका सदस्यहरू बताउँछन् ।

एकपटक राजा-रानी विदेश भ्रमणबाट फर्किएपछि आफूलाई पेरिस, लन्डनजस्ता भव्य सहर मन पर्ने भनेर कुराकानी गरिरहेका थिए, त्यसबखत राजाले गिरिजाप्रसाद कोइरालासँग पीएम, तिमीलाई विश्वको कुन ठाउँ मनपर्छ भन्दा उनले फ्याट्ट विराटनगर भनिदिए । राजा-रानी यो उत्तर सुनेर छक्क परेका थिए ।

०००
गिरिजाप्रसाद कुनै महत्त्वपूर्ण कुरा बोल्नुपर्‍यो भने विराटनगर जान्थे । ‘विराटनगर पुगेपछि मलाई एक प्रकारको जोस आउँछ, अनि फ्याट्ट एउटा कुरा बोलिदिन्छु,’ काठमाडौंबाट सँगै गएका पत्रकारहरूले ‘आज के भन्‍ने ?’ भनेर जिज्ञासा राख्दा उनी अहिलेसम्म थाहा छैन, त्यहाँ पुगेपछि मात्रै के बोल्ने आफैँ निस्कने बताउँथे । परिवारका धेरै सदस्यलाई कोइराला आफैँले पनि मलाई विराटनगर पुग्‍नेबित्तिकै अखबारलाई चाहिने मुख्य समाचार जसरी फ्याट्ट भन्‍न आएको होला भनेर सुनाउँथे । पुरानो घरको कौसीमा बसेर पत्रकारहरूसँग गफ गर्दा उनी पार्टी कार्यकतासँगै बसेर गफ गरेजस्तै गर्थे । कार्यकर्ताको भीड पनि त्यतिकै हुने भएकाले उनी एकछिन गफ गरेपछि लु अब तिमीहरू जाओ भनिदिन्थे  । विराटनगर पुगेपछि गिरिजाले के बोल्लान् भनेर राजादेखि प्रचण्डसम्म तर्सिन्थे ।

०००
राजा महेन्द्रकी रानी रत्न गिरिजाबाबुलाई पटक्कै मन पराउँदैनथिन् । एक चर्चित पुस्तकमा उल्लेख भएअनुसार उनी बीपीलाई खुबै माया गरे पनि जीपीको नाम सुन्‍न चाहन्‍नथिन्  । रानी रत्नले जीपीको नाम पिलधरे बाहुन राखिदिएकी थिइन् ।

०००
५० को दशकयता राजदरवारसँग गिरिजाप्रसादको सम्बन्ध कहिल्यै राम्रो भएन  । राजा महेन्द्र हुँदा पार्टीको पावरफल पदमा नभए पनि बीपीको भाइका नाताले उनी दरबारसँग नजिक थिए, तर पछि उनी पार्टीमा आफैँ पावरमा आएपछि भने दरबारले उनलाई रुचाएन । हक्की स्वभावका कोइराला राजालाई अनावश्यक मान नगर्ने भएकाले पनि गिरिजाप्रसाद र दरबारबीच सम्बन्ध राम्रो नभएको जानकारहरू बताउँछन्  ।

उनले जमानामा सातपटक शोले चलचित्र हेरेका थिए । गब्बर सिंहको अभिनय उनलाई खुबै मन पर्‍यो ।

राजा वीरेन्द्र हुँदा नै कूटनीतिक विषयमा राजा र गिरिजाबाबुबीच एक प्रकारको टकराव थियो  । पछि माओवादी जनयुद्ध दबाउने क्रममा सेना परिचालन गर्ने विषयमा दरबारले ग्रीन सिग्‍नल नदिएपछि गिरिजाबाबुले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपयो । ज्ञानेन्द्र राजा भएपछि पनि गिरिजाबाबुको सम्बन्ध उनीसँग सुमधुर भएन । एकपटक राजाले गिरिजाबाबुलाई दरबार बोलाएर पत्रिका देखाउँदै के हो पीएम, तपाईंको भष्ट्राचारका बारेमा खुब समाचार आइरहेका छन् नि ? भनेर सोध्दा गिरिजाले राजालाई तपाईं पनि दाइमारा भनेर जनताले दरबार हत्याकाण्डको प्रमुख आरोपी भन्छन् नि भनेर उल्टो समस्या तेस्र्याएपछि राजा उनीसँग बोल्न नसक्ने अवस्थामा पुगेका थिए ।

०००
शान्ति प्रक्रियाका दौरान प्रचण्डले निहुँ खोजेपछि गिरिजा एकाएक जंगिएका थिए  । उनले प्रचण्डलाई भनेका थिए, तपाईं जहाँबाट आउनुभएको थियो, हेलिकप्टरले अब तपाईंलाई त्यहीँ पुर्‍याउँछ र जसै हेलिकप्टर काठमाडौं आइपुग्छ, लगत्तै सेना परिचालन भइहाल्छ भनेपछि प्रचण्ड हच्किएका थिए । शान्ति सम्झौताकै दौरान नेकपा एमालेबाट प्रतिनिधित्व गरेका तत्कालिन प्रधानमन्त्री माधवकमार नेपाललाई पनि गिरिजाप्रसादले राम्रैसँग हपारेका थिए । शान्ति सम्झौताका दौरान निर्वाचनको विषयमा छलफल चल्ने क्रममा माधव नेपालले लगातार असहमति जारी गरेपछि तत्कालीन पीएम कोइरालाले सरकारका तर्फबाट म र विद्रोही पक्षबाट, प्रचण्डजीले हस्ताक्षर गरे पुग्छ, तपाईं बाठो नहनुस् भनेपछि माधव नेपाल हच्किएर दुईवटा नोट अफ डिसेन्ट राखेर हस्ताक्षर गर्न सहमत भए ।

०००
गणतन्त्र घोषणा भएपछि पत्रकार महासंघले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री आउने बताइएको थियो । पूर्वनिधारित १ बजेर ३० मिनेटको उक्त कार्यक्रम तत्कालिन प्रधानमन्त्री आउन नभ्याउने बताएपछि जसरी भए पनि आइदिन आग्ह गरियो । त्यसपछि प्रधानमन्त्री एक बजर १५ मिनेटमै आइपुग्‍ने खबर आयो । सबै नेतालाई आउने समय १ बजेर ३० मिनेटको भनेको अवस्थामा प्रधानमन्त्री १५ मिनेट अगावै आएपछि आयोजकलाई समस्या पर्‍यो । चिया बसाएकै थिएन, प्रधानमन्त्री आइपुगे । त्यस बेलाको घटना संस्मरण गर्दै जगत नेपाल भन्छन्- त्यस बेलासम्म पीएम सिसाको ग्लासमा मात्र चिया खान्छन् भन्‍ने कसैलाई थाहा थिएन । अनि तत्कालै उनलाई चाहिने २० रुपैयाँको सिसाको ग्लास किन्‍न ३०० सय रूपैयाँ ट्याक्सी खर्च गरिएको थियो ।

०००
गिरिजाप्रसादको सफलतामा कोइराला परिवारको सहयोग एकदमै महत्त्वपूर्ण रहयो  । जीपीको लिगेसीमा कसैले कहिल्यै प्रश्न गरेन  । राजा ज्ञानेन्द्रले कु गरेर सत्ता आफ्नो हातमा लिँदा प्रकाश कोइरालालाई त्यो सत्तामा जान जीपीले नै सल्लाहमा दिएका थिए । विभिन्‍न पार्टीमा आफ्ना नेतालाई प्रवेश गराएर त्यहाँको आन्तरिक राजनीति बझ्न सजिलो हुने उनको बुझाइ थियो  । उनी वास्तवमा खतरनाक राजनैतिक लिडर थिए । तारानाथ रानाभाटलाई उनको परिवारले राजीनामा गर्न दबाब दिँदा गिरिजाबाबुले नै एकाबिहानै उनको निवासमै पुगेर राजीनामा नगर्न आग्रह गरेका थिए  । कोइराला परिवारका सबै सदस्य सानोबुबाको भनाइलाई नकाट्ने परिवार स्रोत बताउँछ  । जीपीले परिवारको सहयोग नै मेरो सफलताको आधार हो भन्‍ने गरेका थिए ।

०००
एकपटक गिरिजाप्रसादले सानो उमेरको प्रकाश कोइरालालाई तेरो बाबुको कमजोरी के के हो भन् भनेर साधे । ८-९ वर्षका प्रकाश खेलिरहेका थिए । प्रकाशले उत्तर दिनु अगावै बच्चालाई यस्तो कुरा सोध्ने भनेर बीपीले जीपीलाई हपारे । तत्कालै प्रतिवाद गर्दै जीपीले ‘यसले तपाईंको कमजोरी साँचो अर्थमा बताउँछ  । ठूलाले त चाकडी गर्छन्, तपाईं रिसाउनुहुन्छ भनेर बोल्न डराउँछन् तर यसलाई तपाईंको कमजोरी बताउन केही सोच्नु पर्दैन  । फटाफट भनिदिन्छ’ भनेपछि बीपी गिरिजाप्रसादको तर्कसँग सहमत भएका थिए ।

०००
गिरिजाप्रसाद आफ्नो अडानमा सधैँ अडिग रहन्थे  । बीपीलाई जेलबाट छुटाउने संकल्प लिएका उनले राजा महेन्द्रलाई गएर पटक-पटक आग्रह गरे, तर महेन्द्रले जीपीको कुरा सुनेनन्  । त्यसपछि उनले राजा महेन्द्रकै अगाडि कहाँ गएर कसरी छुटाउनुपर्छ मलाई थाहा छ भनिदिए, मलाई त देशभित्रै मिलाउनु पर्छ भन्‍ने लाग्थ्यो तर हुने रहेनछ भनेर चेतावनी दिए । पछि दिल्ली गएर उनले बीपीलाई छुटाएका थिए  । जीपी कुशल वार्ताकार भएको भनेर गणेशमानले पनि उनको प्रशंसा गरेका थिए । 

०००
गिरिजाप्रसाद आफ्ना नजिककाहरूसँग एउटै भावना पोख्थे  । त्यो थियो सुष्मासँग धेरै बस्न नपाएको कुरा । ००८ सालमा उनले सुष्मासँग विवाह गरेका थिए । ०२४ सालमा केरोसिन फ्रिज पड्कँदा उनको मृत्यु भयो । जीपीका अनुसार उनले मुस्किलले सुष्मासँग ३-४ वर्ष मात्र साथै बस्‍न पाएका थिए । बाँकी समय राजनैतिक व्यस्ततामै बित्यो । सुजाता ०११ सालमा जन्मेकी थिइन्  । गिरिजासँग विवाह गर्नुअगावै सुष्माले अरूसँग विवाह गरेकी र पहिलो विवाहबाट जन्मिएको छोरो सुरेशसहित कोइराला निवासमा उनी बेहुली बनेर भित्रिएकी थिइन् । सुरेशलाई पनि गिरिजाप्रसादले आफ्नै छोरोसरह हुर्काएका थिए । सुरेशको नाम ‘स’बाट उठेको आधारमै छोरीको नाम पनि सुजाता राखेका थिए । 

०००
गिरिजाप्रसादको जीवनकै सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको उनको नैतिक आचरण हो  । विवाह गरेको १६ वर्षमै श्रीमती गुमाएका उनले दोस्रो विवाह त गरेनन् नै, शारीरिक विषयवस्तुसँग सम्बन्धित रहेर उनी कहिल्यै विवादमा आएनन् ।

०००
गिरिजाबाबु बालबालिका भनेपछि हुरुक्कै हुन्थे  । मौका पाउनेबित्तिकै उनीहरूसँग खेल्न, चल्न मन पराउनुका साथै धेरै समय व्यतीत गर्थे । कोइराला नानीहरूलाई पैसा दिएर केही किनेर ल्याउन लगाउँथे, जसबाट उनी उनीहरूको मनोविज्ञान बझ्थे  । त्यस्तै स-साना काम लगाएर काम पूरा गरे पुरस्कार दिन्थे  । केटाकेटीबाट ठूला मानिसको विश्लेषण गराउनु उनको सौख थियो ।

०००
उनी अध्ययनमा रुचि राख्थे । जीवनको अधिकांश समय उनले पाए जति सबै पत्रपत्रिका अध्ययन गर्नमा बिताए । पछिल्ला दिनमा अरूलाई पढ्न लगाएर समाचार सुन्‍ने उनको बानी थियो । बिहान उठेपछि, उनी अखबार अध्ययनलाई समय छुट्याउँथे कोइराला सफा पहिरन लगाउँथे  । घरमा बस्दा पनि सफा रहने उनी वरिपरिका सुसारेहरू पनि सफा हुनुपर्ने बताउँथे  । उनी हलुका खाना खान मन पराउँथे । धेरै खानेहरूको दिमाग बोदो हने उनको तर्क थियो  । एउटा काजु, एउटा बदाम, एक चम्चा च्यवनप्रास, अण्डाको सेतो भाग उनी नियमित खान्थे ।

कोइराला चिन्तनशील थिए, उनी एकान्तमा रहँदा मेडिटेसन (ध्यान) गर्थे  । गीत सुन्‍न मन पराउँथे  । चाडपर्वलाई उल्लासमय वातावरणमा मनाउनुपर्छ भन्‍ने मान्यता राख्थे  । घरमा आउने जो-कोहीलाई पनि समान व्यवहार गरेको मन पराउँथे  । झुटा तथा बनावटी मानिसलाई घृणा गर्थे ।

०००
कोइरालालाई जान्‍नेहरू उनी कारूणिक व्यक्ति भएको बताउँछन् । इमानदारी एवं पारदर्शितामा विश्वास राख्‍ने कोइराला द्वैध चरित्रलाई घृणा गर्थे । राजनीतिक चलचित्र हेर्न मन पराउने कोइराला सबै मानिस जिम्मेवार बन्‍न सके उपलब्धि हात पर्ने बताउँथे । सकारात्मक सोच राख्‍ने उनी भेदभाव गर्दैनथे । हेर्दा गम्भीर देखिए पनि कोइराला ठट्यौली पनि उत्तिकै गर्थे । औपचारिक कार्यक्रममा पनि छेवैमा बस्नेहरूसँग उनी ठट्टा गरिरहेका हुन्थे । उनको रोमान्टिक स्वभाव र ठट्यौली क्याबिनेट बैठकमा पनि निस्कन्थ्यो । उनी जोक्स पनि सुनाउँथे  । पछिल्ला दिनमा नजिकका मानिसलाई बोलाएर कथा सुनाउने उनको बानी थियो ।

०००
२०६३ सालसम्म उनी नियमित बियर सेवन गर्थे । ब्रोङकाइटिसले च्यापेपछि उनले बियर पिउन छाडे, तर लुकेर चुरोट खाने र एक प्याग लिने बानीले उनको स्वास्थ्यमा असर पुगेको चिकित्सकहरू बताउँछन् । जीपी पहिला पाइन्ट-सर्ट लगाउँथे  । पहिलो पटक प्रधानमन्त्री भएपछि उनले दौरा सुरुवाल, कालो कोट, कालो जुत्ता र कालो टोपी लगाउन थालेका थिए । त्यसपछि यो पहिरन उनको ब्रान्ड बन्यो । सयौं जोर दौरा सुरूवाल सिलाएका उनी औपचारिक समारोहदेखि विदेश भ्रमणमा समेत यो ड्रेसकोडलाई छोड्दैनथे ।

०००
गिरिजाबाबु प्रत्येक बिहान नुहाउँथे । वाल्टीमा पानी राखेर जगले पानी हाल्दै नुहाउने आदत थियो  । उनले कहिल्यै सावरमा नुहाएनन्  । जगले खत्याएर नुहाउने बानी बसेकाले नै यो बानीलाई उनले विदेशमा समेत निरन्तरता दिए  । कसैको निम्ता मानेर भोज-भतेरमा जाँदा उनी प्रायः केही खाँदैनथे  । एक कप चिया खाएर फर्कन्थे । एकदमै विशेष भोजमा मात्र खान्थे अनि त्यस्तो डिनरबाट फर्कंदा बाटामा भेटिने कुनै डिपार्टमेन्टल स्टोर वा कतै आफ्ना सहयोगीहरूलाई लिएर जान्थे ।

त्यहाँ उनीहरूलाई निश्चित पैसा दिएर आ-आफूलाई मन पर्ने सामान किन्‍न भन्थे । सबैले सामान किनिसकेपछि क-कसले के किने भनेर चासो दिन्थे । यसबाट उनी सहयोगीको मनोविज्ञान चहार्थे  । कतै जाँदा आफ्ना सुरक्षाकर्मीहरूले खाए खाएनन् भनेर बुझिरहन्थे  । कुनै पनि कार्यक्रममा आफ्ना सुरक्षाकर्मीले चिया खाएपछि मात्र उनी खान्थे  । अर्थात् आफ्नो सुरक्षाकर्मीको उनी निकै ख्याल गर्थे ।

०००
आफ्नो निवासमा सहयोगी बनेर काम गर्नेहरूमा उनले कहिल्यै भेदभाव गरेनन्  । सबैलाई समान व्यवहार गर्थे । साथै उनीहरूको सम्पूर्ण जानकारी लिन्थे-छोराछोरी कस्ता छन्, कहाँ पढ्छन्, गाउँमा को-को छन् इत्यादि  ।  उनी समयलाई पनि अनुशासित ढङ्गले पालना गर्थे  । उनी कहिलेकाहीं कामदारहरूलाई आफ्नो कथा सुनाउँथे  । घरमा उनको परिवार ठूलो थियो  । मासु पकाएको बेला पुर्याउन धौ-धौ हुन्थ्यो  । सबैको भागमा मासु हाल्दा एक-एक चोक्टा मात्र पुग्थ्यो  । अनि त्यो चोक्टा भातको माझमा राखेर भात खाइन्थ्यो । यो कथाले उनले थुप्रै पटक सुनाएका थिए ।

०००
पछिल्लो समय उनलाई सम्पूर्ण दैनिक पत्रिकाको सम्पादकीय पढेर सुनाउनुपर्थ्यो  । उनी फुर्सदमा पुराना हिन्दी गीत सुन्थे र हिन्दी फिल्म हेर्थे । सपिङमा पनि उनी पर्फेक्ट थिए । उनी कुन ट्रेडमार्क राम्रो भन्‍ने कुरा खुट्याउन सक्थे ।
(‘नेपाली राजनीतिका शिखरपुरुष राजनेता गिरिजाबाबु’बाट ।) 
 


Author

थप समाचार
x