सरकार

काठमाडौँवासीलाई बाह्रै महिना पानी खुवाउँछौँ : मन्त्री चौधरी

इकागज |
मंसिर २३, २०७९ ११:४५ बजे

काठमाडौँ - खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रूपमा भए पनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् । 

उनले मेलम्चीको पानीको स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए । मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे । ‘१२ महिना नै अस्थायी रूपमा भए पनि काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउँछु । यसको दीर्घकालीन रूपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको छ । दोस्रो प्रतिवदेन बुझाउने क्रममा छ,' उनले भने, 'संरचना सुरक्षा गर्ने र स्थायी रुपमा समाधान गर्न कसरी अघि बढ्ने भन्ने बारेमा पनि हामी सोचिरहेका छौँ । विज्ञहरूले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सक्छौँ  ।'


काठमाडौंवासीलाई बारम्बार मेम्चीकै पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउन सरकारले पहल गरिरहेको उनको भनाइ थियो । उनले यस वर्ष वर्षात्‍को बेलामा बागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको उनले बताए । 'काठमाडौंवासीलाई बारम्बार मेम्चीकै पानीको लागि पर्खिनु नपरोस्, मेलम्चीको विकल्प यस वर्ष वर्षातको बेलामा बागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा ल्याएर खसालेका थियौँ,' उनले भने, 'यसको विकल्पको रुपमा याङ्ग्री र लार्केको योजना पनि हामीले बनाइसकेका छौँ । सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको छ, काम पनि अघि बढेको छ । महादेव खोला पनि विकल्पमा छ । अब आउने दिनमा काठमाडौंको पानीलाई व्यवस्थापन गर्नको लागि अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले पानीको लागि कसैको मुख हेर्न पर्दैन । बाह्रै मास काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनु हुनेछ ।’


Author

थप समाचार
ad
x