सरकार

विनाविभागीय अर्थात ‘पेन्डुलम’ मन्त्री

इकागज |
पुस २२, २०७९ शुक्रबार १५:२१ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा मन्त्रीको शपथ खाएका चार जना अझै विना विभागीय छन् । आफ्नो हातमा सत्ता आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार हतार गरेर तीन जनालाई मन्त्रीको शपथ खुवाउन लगाएका थिए ।

तर सत्ता गठबन्धनमै भागबण्डा मिल्न नसकेपछि शपथ खाएका चार जना मन्त्री भने विनाविभागीय मात्रै होइन ‘पेन्डुलम’ बनेका छन् । पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएका मन्त्रीहरुले झण्डै दुई हप्तासम्म पनि जिम्मेवारी पाउन सकेका छैनन् ।


एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी, ज्वाला कुमारी साहले विनाविभागीय मन्त्रीको शपथ खाएका थिए । यस्तै जनमत पार्टीका अब्दुल खानले पनि विना विभागीय मन्त्रीका रूपमा शपथ खाएका थिए ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिएपछि मात्रै उनीहरूलाई जिम्मेवारी दिने र मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि विनाविभागीय रहेका चार मन्त्री अहिले ‘पेन्डुलम’ बनेका छन् ।

जिम्मेवारी नपाएका उनीहरु सिंहदरबार पनि प्रवेश गर्न सकेका छैनन् । प्रवेश गरेपनि पार्टी कार्यालयमै सीमित हुनु परेको छ । मन्त्रालय छिर्न नपाएका विनाविभागीय मन्त्रीहरु मन्त्री क्वार्टर पुल्चोकमै दिन बिताउन बाध्य छन् । 

मन्त्री बनाउँदा कार्यक्षमता र विषयविज्ञभन्दा केवल शीर्ष नेता रिझाएको आधारमा बनाउँदा धेरै नेताहरू मन्त्री बन्ने रहरमै शपथ खान बाध्य हुन्छ । अहिले विना विभागीय मन्त्री बनेका चार जनाको अवस्था पनि त्यही छ ।

जसको विषयविज्ञता स्पष्ट छैन । त्यसमाथि उनीहरुले कुन मन्त्रालय पाउने त्यो पनि स्पष्ट छैन । केवल मन्त्री बन्ने र रहर पूरा गर्ने लहरले गर्दा नागरिकहरू नयाँ सरकार र मन्त्रीबाट सन्तुष्ट हुन सकेका छैनन् । 

भागबण्डामै सरकार चलाउने र राष्ट्रिय ढुकुटी आफूअनुकुल चलाउने प्रपञ्चले गर्दा योग्यहरू पाखा लागेर अयोग्य नेता सत्ताको बागडोर सम्हाल्ने अवस्थामा पुगेका छन् । यसले राजनीतिप्रति अर्को निराशा थपेको छ ।

मन्त्रीको शपथ खान हतार गर्ने तर जिम्मेवारीको टुंगो नहुने मन्त्री र नेताहरुले कस्तो उपलब्धी दिन सक्छन् ? त्यो आश गर्नु पनि निरर्थक हुन्छ । यसर्थ अहिले केवल सत्ताको स्वार्थले सरकार चलाइरहेका नेताहरूको प्रवृत्ति र भागबण्डाले नागरिकमा झन् निराशा थप्ने निश्चित छ ।


Author

थप समाचार
x