सरकार

संकट टरेको दाबी

सरकारले लिएको नीतिका कारण मुलुकको आर्थिक समस्या सुधार हुँदै आएको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
फागुन २८, २०७९ आइतबार १३:२७ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले लिएको नीतिका कारण मुलुकको आर्थिक समस्या सुधार हुँदै आएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा मुलुक संकटमा पर्ने खतरा देखिए पनि बाह्य क्षेत्र सन्तुलनमा राख्न सरकारले लिएका नीति सफल भएका कारण आर्थिक संकट टरेको बताएका हुन् । 

अहिले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेकाले अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको उनको जिकिर छ । 


अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको र सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको उनले बताए । 

निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार संकल्पवद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेकाले निर्माण व्यवसायीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको धारणा राखे ।


Author

थप समाचार
x