सरकार

किरणराज शर्मा सचिवमा सिफारिस

इकागज |
असार ३१, २०७८ बिहीबार १८:२९ बजे

काठमाडौँ : लोक सेवा आयोग अध्यक्षको अध्यक्षतामा आज बिहीबार बसेको बढुवा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव किरणराज शर्मालाई नेपाल सरकारको सचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । 

बढुवा समिति बैठकले ज्येष्ठताका आधारमा सहसचिव शर्मालाई बढुवा गरिएको आयोग स्रोतले बतायो । शर्मा २०६९ सालमा सहसचिवमा नियुक्त भएका थिए । बढुवा समितिको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले शर्मालाई नेपाल सरकारको सचिवमा नियुक्त गर्नेछ ।


आयोग अध्यक्षसहित निजले तोकेको आयोग सदस्य, मुख्य सचिव, सामान्य प्रशासन सचिव र एकजना विज्ञ रहेको समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान छ ।

सूचना विभागको महानिर्देशक रहिसकेका शर्मा २०५१ सालमा लेखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । निजामतिमा आउनुअघि नेपाल राष्ट्र बैंक र त्यसअघि राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका शर्मा २०५९ सालमा प्रशासनतर्फ उपसचिव भएका थिए ।

जनप्रशासन र व्यापार प्रशासन गरी दुई विधामा स्नातकोत्तर गरेका शर्मा पर्वत निवासी हुन् । प्रशासनमा उनलाई भद्र र शालीन व्यक्तिका रुपमा परिचित छन् । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत शासकीय सुधार महाशाखामा कार्यरत छन् । 


Author

थप समाचार
x