सरकार

बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गर्न रामचन्द्र पौडेलको माग

इकागज |
कात्तिक ७, २०७८ आइतबार १३:४२ बजे

भजनी- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज (आइतबार) आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन् ।

'बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ,' उनले भने, 'अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाकासाथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।'


पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताए । 'कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ । त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ,' उनले भने, “जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन ।”

पौडेलले यही कात्तिक १ गतेदेखि आएको बाढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् । रासस


Author

थप समाचार
x