सरकार

प्रधानमन्त्रीले बाढीपहिरो प्रभावित कर्णालीको स्थलगत अवलोकन नगरेको भन्दै सांसदको आपत्ति

इकागज |
कात्तिक ७, २०७८ आइतबार १७:४१ बजे

काठमाडौँ - सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाएका छन् । 

हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश व्यक्त गरेका हुन् । 


संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आईतबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले कर्णाली प्रदेशमा बाढी पहिरोको कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको गम्भिर आरोप समेत लगाए । 

सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनी समेत दिए । उनले भने, ‘बाढीपहिरोले क्षति भयो, पश्चिममा प्रधानमन्त्री पुग्नु भयो । आफ्नो क्षेत्र भएको हो कि, अथवा आफ्नो पार्टीले बोलाएर हो कि ? कर्णाली का त मान्छे होइनन् । कर्णालीमा जानु पर्दैन क्या हो ? कर्णाली कस्तो अवस्थामा छ ? त्यहाँ कति खाद्यान्न नष्ट भयो, त्यहाँ पनि मान्छे बस्छन । त्यहाँ पनि विद्यालय छ ।'

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले बाढीपहिरोबाट अवरुद्ध सडक तत्काल सूचारु गराउन सरकारसँग माग गरे । उनले मनाङ, बाजुरा र बझाङ जिल्लाको यातायात ठप्प भएकाले त्यसलाई तत्काल सूचारु गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराए । 

यता, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ८/१० दिनभित्र बाढीपहिरोले अवरुद्ध सबै सडकहरू सूचारु गराउने प्रतिवद्धता जनाइन् । उनले अवरुद्ध सडक सूचारु गराउने काममा तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराइन् । मन्त्री यादवले जनशक्ति र स्रोत, साधनको अभावमा सरकारले अवरुद्ध सडक खुलाउनका लागि सोचे जस्तो गरेर काम गर्न नसकेको यथार्थता बुझि दिन समिति समक्ष आग्रह गरिन् । 

मन्त्री यादवले अवरुद्ध सडक खुलाउनका लागि छुट्टै संयन्त्रको जरुरी रहेको बताइन् । उनले स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नो दायित्वको सडक निर्माणमा ढिलाइ गर्न नहुने स्पष्ट पारिन् । 


Author

थप समाचार
x