स्वास्थ्य

स्वास्थ्य मन्त्रालयमा राजपत्रमै नभएको पद

अतिन आचार्य |
साउन ३१, २०७९ मंगलबार ८:३० बजे

काठमाडौँ- गत बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औ तहका अधिकारीलाई 'अतिरिक्त सचिव' बनाउने निर्णय गर्‍यो।  मन्त्रिपरिषद्ले राजपत्रमा उल्लेख नभएको पद सिर्जना गरी नयाँ पद दिएको हो ।

नेपाल राजपत्रमा स्वास्थ्य मन्त्रालयको १२औ तहका अधिकारीहरूलाई विशेष सचिव, विशेषज्ञ विशेष सचिव, प्रमुख विशेषज्ञ, महानिर्देशक र केन्द्रीय स्तरका अस्पतालका प्रमुखहरू रहने उल्लेख छ ।


हाल मन्त्रालयमा १२औँ तहका अधिकारी विभिन्‍न विशेषज्ञ पदमा छन् । केही दिनअघि मन्त्रिपरिषद्को निर्णयले राजपत्रमा १२औ तहका कर्मचारीको उल्लेख नभएको पद 'अतिरिक्त सचिव' सिर्जना गरेको हो । नयाँ पद पाए पनि मन्त्रालयका १२ औँ तहका कर्मचारीहरू सन्तुष्ट छैनन् ।

राजपत्रमा विशेष सचिव, विशेषज्ञ विशेष सचिव, प्रमुख विशेषज्ञ, महानिर्देशक र केन्द्रीय स्तरका अस्पतालका प्रमुखहरू छन् । राजपत्रमा भएको पदविपरीत सरकार गएको छ । 

मन्त्रालयले पनि राजपत्रमा उल्लेख भएको १२ औ तहका कर्मचारीलाई 'विशेष सचिव स्वास्थ्य '  प्रस्ताव गरेर पठाएको थियो । तर, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले नयाँ पद सिर्जना गरेर मन्त्रीपरिषद्मा पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयका १२औ तहका कर्मचारीहरूले भने सरकारले नभएको पद सिर्जना गरेको भन्दै असन्तुष्टि जनाएका छन् । स्वास्थ्य मन्त्रालयले भने राजपत्रमा उल्लेख भएबमोजिम १२ औ तहका कर्मचारीहरूको पद तोकेर पठाएको जानकारी दिएको छ । तर, प्रस्तावअनुसार पुरानो नाम नआएकाले उनीहरूले असन्तुष्टि जनाएका हुन् । सरकारले पुरानो पद भए पनि  नयाँ पद स्थापित गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार विशेष सचिव राख्दा अन्य मन्त्रालयमा पनि गएर सचिवको काम गर्न सक्‍ने त्रासले पद हटाएको हुन सक्छ ।

मन्त्रालयकै १२ औ तहका एक अधिकारीले भने, 'स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रस्ताव गर्दा नयाँ नाम थपेर गलत काम गर्न सकेका हुन्छन् ।  स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारीले काम गर्न नसक्ने जस्तो गरी बेवास्ता गरेका छन् ।'

स्वास्थ्य मन्त्रालयमा हाल १२औ तहका स्वास्थ्य सचिव डा. रोशन पोख्रेल छन् । उनीसहित मन्त्रालयमा १२  औँ तहका पाँच जना अधिकारी छन् । सचिव डा. रोशन पोखरेल बाहेक डा. श्यामसुन्दर यादव, डा दीपेन्द्ररमण सिंह, डा गुणराज लोहनी र डा संगिता मिश्र १२औँ तहको रुपमा कार्यरत छन् ।

मन्त्रालयका १२ औ तहका अधिकारीले 'विशेष सचिव स्वास्थ्य' भनेर मन्त्रिपरिषद्‍मा प्रस्ताव गरेर पठाएका थिए । तर,मन्त्रिपरिषद्‍मा स्वास्थ्य मन्त्री तथा प्रस्तावकले पदमा तलमाथि गरेर बुझाउँदा कर्माचारीको माग अनुसार पद पाउन सकेनन् ।

मन्त्रिपरिषद्‍मा नपुग्दा उक्त नामकरण अतिरिक्त स्वास्थ्य सचिव राखिए पनि जिम्मेवारी भने पुरानो प्रमुख विशेषज्ञ पद रहेको छ । 'पुरानो पद अनुसार काम हुने भएमा नयाँ अतिरिक्त पद किन बनाएको हो? ,' उनले प्रश्न गर्दै भने ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले पछिल्लो  समयको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य मन्त्रालयको बारेमा मन्त्रालयले केही पनि प्रस्ताव नगरेको बताए ।

'सरकारले बनाएको कानूनलाई मात्र ड्राफ्ट गर्ने गर्छ । मन्त्रालयले अन्य कुनै पनि मन्त्रालयको प्रस्तावलाई परिवर्तन गर्दैन,' उनले भने,' स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयहरू आफैँले लैजाने गर्छ ।'

 

 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x