स्वास्थ्य

जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, चितवनमा २ हजार सात सयमा सङ्क्रमणको आँकलन

इकागज |
भदौ ३०, २०७९ बिहीबार १३:१४ बजे

चितवन- जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी छन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ ।    
    
मृतक भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएका थिए । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको र २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कार्यालय प्रमुख चापागाईँका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआएकीले उनके खोजी भइरहेके छ। राप्तीका ३५ वर्षीया महिला उपचारपछि घर फर्किएकी छन् । उनको स्मरण शक्ति कमजोर देखिएको छ ।

कालिका नगरपालिकाका एक जना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किएको र उनको अवस्था सामान्य रहेको प्रमुख चापागाईँले जानकारी दिए । रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगरभित्रका चार जनामध्ये वडा नं २२ का ५२ वर्षीय पुरुषमा अस्वाभाविक गतिविधि र बिर्सने समस्या रहेको छ ।    
    
सोही वडाका ५२ वर्षीया एक महिला, वडा नं १९ का ७० वर्षका पुरुष र वडा नं २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाइटिसको पुष्टि भए पनि ती बिरामीलाई सम्पर्कमा ल्याउन नसकिएकाले उनीहरुको खोजी भइरहेको छ । रगतका नमूना सङ्कलन गर्दा ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजीमा कठिनाइ भएको हो ।    
    
कार्यालयका अनुसार परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १२ जनामध्ये चार, माडीमा पाँच जनामध्ये दुई, राप्तीमा दुईजनामध्ये एक, कालिका नगरपालिकामा एक रत्ननगरमा दुई जनामध्ये एकमा सङ्क्रमण देखिएको हो ।    
    
साउन १५ गतेदेखि यस्ता बिरामी देखिन थालेकामा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको थियो । यहाँ परीक्षण गर्दा नमूनामा शङ्का लागेकाले काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिन्छ । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको कार्यालय प्रमुख चापागाईँले बताए । हाल यो रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् ।    
    
सन् २०२१ र २०२० मा एक एक जनामा यो रोग देखिएकामा सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । उनले भने, “सम्भवतः जिल्लामा यसरी महामारीको रूपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा दुई हजार सात सय जनामा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको कार्यालय प्रमुख चापागाईँको भनाइ थियो ।    
    
यो रोग अप्रिल-मे देखि सेप्टेम्बर-अक्टुबरसम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए ।



Author

थप समाचार
x