स्वास्थ्य

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइँदै

इकागज |
असोज ४, २०७९ मंगलबार १०:१५ बजे

सुर्खेत - प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने प्रक्रिया थालनीको तयारी भएको छ । सोहीअनुरुप प्रदेश अस्पतालले प्रदेश अस्पताललाई ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउनका लागि बनाइएको ऐनको मस्यौदामाथि छलफल सुरु गरेको हो ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय शैयाको अस्पताल बनाउने प्रदेश सरकारको लक्ष्य छ । प्रदेश अस्पतालले अहिले दुई सय ९७ शैयासहितको स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । कर्णाली प्रदेश सरकारले पनि आ.व २०७९/०८० को बजेटमा समेत ‘प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने’ लक्ष्यसहित प्राथमिकतामा राखेको छ । प्रदेश सरकारको मुख्य र संघीय सरकारको केहि आर्थिक सहयोगमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको यो अस्पताल तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पतालबाट २०७५ कार्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको हो । 


अस्पतालमा हालको जनशक्ति क्षमता, भौतिक पूर्वाधार, सेवाग्राहीको चाप, सेवाप्रवाहको अवस्था तथा भावी योजनाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सम्भावना बढाएको अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्काको भनाई छ । कर्णाली प्रदेशलाई स्वास्थ्य तथा शैक्षिक क्षेत्रलगायतमा समृद्व बनाउन अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न तथा सेवा क्षेत्रलाई विस्तार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवश्यकता परेको भन्दै उनले दक्ष स्वास्थ्यकर्मीको उत्पादन तथा विकास, स्वास्थ्य अनुसन्धान तथा त्यसका नवीनता र स्वास्थ्य सेवा क्षमता सुदृढिकरण गर्न प्रतिष्ठानको आवश्यकता औल्याए ।

प्रदेश अस्पतालमा अहिले तीन सय २५ जनाको दरवन्दी छ । तीमध्ये ९१ दरबन्दी पूरा भएका छान् । अस्पताल विकास समितिमार्फत ६२ र अन्य स्रोत मार्फत दुई सय ८१ जनशक्ति अस्पतालसँग छन् । चार सय ३९ जनशक्ति अस्पतालसँग रहेको अस्पताल निर्देशक डा. खड्का बताउँछन् । 

अस्पतालले एक सय ५० शैयाका लागि सरकारबाट अनुमति पाएको छ । तर अस्पताल विकास समितिमार्फत थप एक सय ४७ गरी कुल दुई सय ९७ शैयामार्फत अस्पतालले सेवा प्रवाह गरिरहेको छ । अस्पतालको क्षेत्राधिकारमा २० विगाह जमिन पर्छ । यो जमिन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि पर्याप्त रहेको डा. खड्काले जानकारी दिए । अस्पतालसँग ६ वटा भवनहरु अस्पताल मापदण्डका छन् ।

अस्पतालमा सेवाग्राहीको चाप पनि बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ५२ जना सेवाग्राहीले दैनिक सेवा लिएको अस्पतालबाटा हालको अवस्थामा बढेर २०७८/०७९ मा अस्पतालमार्पmत दैनिक पाँच सय २५ जना सेवाग्राहीले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

एक वर्षभित्रै अस्पतालमा मृगौला प्रत्यारोपण सेवा समेत शुरु गर्ने अस्पतालको तयारी छ । यसका साथै ‘क्याथल्याव’को स्थापना, विद्युत तथा वैकल्पिक उर्जाको पर्याप्त व्यवस्था, थप एमआरआई मेशिनको जडान, डायलासिस सेवामा विस्तार र बर्थिङ सेन्टर सञ्चालन गर्ने अस्पतालको तयारी छ ।


Author

थप समाचार
x