स्वास्थ्य

सय देखि तीन सय शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने स्वास्थ्य मन्त्रीको दाबी

इकागज |
माघ १०, २०८० बुधबार १९:११ बजे

फाइल फोटो

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताएका हुन् । 


स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमबिबिएसको पढाई गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको उनले बताए । उनले अब अस्पतालहरूले विरामीको उपचार मात्र गर्ने नभई चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नुपर्ने उल्लेख गरे । मन्त्री बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवा विस्तारका लागि मन्त्रालय सकारात्मक रहेको बताए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.युवानिधि बसौलाले ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको बताए । पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा विशेष ध्यान दिएको उनको भनाइ छ । 

 


Author

थप समाचार
x