स्वास्थ्य

सडकबाट उद्धार गरिएका १२१ जनालाई कोभिड खोप

इकागज |
साउन २८, २०७८ बिहीबार २२:३४ बजे

विराटनगर – प्रदेश १ का विभिन्न स्थानबाट सडक उद्धार गरेर विराटनगरस्थित मानव सेवा आश्रममा राखिएका १ सय २१ जना आश्रितहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । सामाजिक विकासमन्त्री उषाकला राईले बिहीबार उनीहरूलाई खोप लगाउने कार्यको शुभारम्भ गरिन् । उद्धार गरिएका ५० पुरुष र ७१ जना सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई कोभिड १९ विरुद्ध जोन्सेन एण्ड जोन्सेन खोप लगाइएको हो ।

मानव सेवा आश्रम अन्तर्गतको विराटनगर महानगरपालिका–१० स्थित महिला ब्लकमा रहेकामा कुल ७८ जना आश्रित रहेका छन् । बालबालिका र गर्भवतीहरूबाहेक त्यहाँका ७१ जनालाई खोप लगाइएको जनाइएको छ । यस्तै विराटनगर–१ स्थित पुरुष ब्लकमा आश्रित रहेका ५२ मध्ये ५० जना गरी कुल १ सय २१ जनालाई खोप लगाएको मानव सेवा आश्रमकी मोरङ जिल्ला सहसंयोजक पार्वती तिवारीले बताइन् ।


सामाजिक विकासमन्त्री राईले मानव सेवा आश्रमसहित विभिन्न संरक्षण गृहमा रहेका सबैलाई कोभिड विरुद्धको खोप लगाइने बताइन् । उनले लक्षित समूहले खोप लगाई रहेको भए पनि संरक्षण गृहहरुमा संक्रमण फैलिएमा जोखिम बढ्नसक्ने भन्दै सरकारले प्राथमिकताका साथ खोप उपलब्ध गराएको उनले जानकारी दिइन् ।

विराटनगर–३ पोखरियास्थित मानव सेवा आश्रमकै अर्को पुरुष ब्लकमा रहेका ७७ जना पुरुष आश्रितलाई शुक्रबार खोप उपलब्ध गराइने जनाइएको छ ।

आश्रममा अहिले २ सय ७ जना आश्रित बस्दै आएका छन् । बिहीबार मानव सेवा आश्रमसहित प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, महिला पुनर्स्थापना केन्द्र, माइती नेपाल र एबीसी नेपालका संरक्षण गृहमा रहेका हिंसापीडित महिलाहरूलाईसमेत खोप लगाइएको हो ।


Author

थप समाचार
x