स्वास्थ्य

बीपीका उपकुलपतिसहित तीन पदाधिकारीले राजीनामा दिनुपर्छ : निर्देशक शाह

इकागज |
साउन ३०, २०७८ शनिबार २१:२७ बजे

सुनसरी – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्राध्यापक डाक्टर गौरीशंकर शाहले उपकुलपतिसहित तीन जना पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शनिबार विज्ञप्ति जारी गरेर उनले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा. गुरूप्रसाद खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले तत्काल राजीनामा दिएर प्रतिष्ठानको प्रतिष्ठा जोगाउन भूमिका खेल्नुपर्ने बताएका छन् । 

प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका सरोकारवालाले चारै जना पदाधिकारीको राजीनामा मागे पनि शाहले भने आफूले प्रतिष्ठानको कुनै नियम उल्लंघन गर्ने प्रकारका कुनै काम नगरेकाले राजीनामा दिनुपर्ने कारण नरहेको दाबी गरेका छन् ।


‘मेरा अग्रणी र प्रतिष्ठानका नियमावली प्रदत्त सम्पूर्ण अधिकार केन्द्रित गरेर बसेका र अनेक सार्वजनिक आरोप व्यहोरिरहेका तीन जना पदाधिकारीहरू प्रतिष्ठान धरासायी भएर सधैंको निम्ति बन्द हुने अवस्थामा पुग्दासमेत मौन रहनुले त्यो हदसम्मको गैरजिम्मेवार बन्नु राज्य, जनता र संस्थाप्रति घोर अन्याय र अपराध हुने आत्मबोध भएर,’ आफूले विज्ञप्ति जारी गरेको डा. शाहको तर्क छ ।

अहिलेसम्म आफूले प्रा.डा. राजकुमार रौनियार, कावा उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाल र डा. ज्ञानेन्द्र गिरीसँग काम गरेको उल्लेख गर्दै शाहले सबै उपकुलपतिले आफूलाई अधिकारविहीन तुल्याएको गुनासो पनि गरेका छन् ।

‘यसरी सम्पूर्ण कार्यकाल नै आफूभन्दा वरिष्ठ पदाधिकारीहरूको शक्ति संघर्षको कोपभाजनमा परेर बिताएको सन्दर्भमा हाल प्रतिष्ठानमा आन्दोलनरत पक्षले चारै जना पदाधिकारीको राजीनामाको मागप्रति म अत्यन्त गम्भीर छु,’ उनले विज्ञप्तिमा भनेका छन् । चारै जनाको राजीनामा माग्ने मुख्य कारण असार १५ को घटना भएको बताउँदै उनले उपकुलपति मदिरा सेवन गरेर वार्तामा बसेको कुरा पदाधिकारीले नै सार्वजनिक गरिदिएको पनि उल्लेख गरेका छन् ।   


Author

थप समाचार
x