स्वास्थ्य

बीपी प्रतिष्‍ठानको बेथितिः अस्पतालमा आईसीयू छैन, इमर्जेन्सीबाटै रिफर हुन्छन् बिरामी

विशेषज्ञ चिकित्सकले बिरामीको परीक्षण नै गर्दैनन

अतिन आचार्य |
असोज १०, २०७८ आइतबार १६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा आईसीयूको अभाव भएको छ । आईसीयूको अभाव भएकाले गम्भीर अवस्थाका बिरामीहरू ईमर्जेन्सी कक्षबाटै बाहिरी अस्पतालमा रिफर हुने गरेका छन् ।

अस्पतालबाट दैनिक १५ देखि २० जना रिफर भएर जाने गरेको प्रतिष्‍ठानको स्वास्थ्य सेवा प्रवाहको बारेमा नेपाल मेडिकल काउन्सिलद्वारा स्थलगत गरिएको प्रतिवेदनले उल्लेख गरेको छ ।


काउन्सिलले भदौ २ गतेदेखि ५ गतेसम्म प्रतिष्‍ठानको निरीक्षण गरेको थियो । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायण विक्रम थापा र डा. प्रेषितकुमार पोख्रेलले सदस्यले निरीक्षण गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाले साउन २० गतेको पत्रको निर्देशन अनुसार चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले प्रतिष्‍ठानमा देखिएका समस्याहरूको विशेष गरी जनशक्ति, शैक्षिक अवस्था र सेवा प्रवाहको अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

प्रतिवेदनका अनुसार ईमर्जेन्सी कक्षमा आएका बिरामीको समेत स्वास्थ्य परीक्षण प्रयोगशाला तथा रेडियोलोजी विभागमा शिघ्र सेवा उपलब्ध छैन । प्रतिष्‍ठानमा सेवा उपलब्ध नुहँदा बिरामीहरू अन्य अस्पताल जान बाध्य छन् ।

पर्याप्‍त जनशक्ति भए पनि ओपीडीमा आएका बिरामीहरूलाई व्यवस्थापन गर्न नसकिएको प्रतिवेदनले उल्लेख गरेको छ । भौतिक संरचनाको अत्यावश्यक सेवा निर्माण गर्न नसकेको समेत औल्याएको छ ।

समयमा प्रतिष्‍ठानम उपलब्ध चिकित्सकहरूले बिरामीहरूको समयमा स्वास्थ्यको परीक्षण नगर्नु र उनीहरू लामोसमयसम्म पर्खन बाध्य छन् । ओपीडीमा बिरामीहरूले गरेको परीक्षणको रिपोर्ट ढिलो आउने गरेको छ । कतिपय परीक्षण अस्पतालभित्र नहुने गरेको छ । परीक्षणका लागि लामो समयसम्म पर्खनुपरेकाले प्रतिष्‍ठान अगाडि रहेको प्रयोगशाला र अस्पतालमा जाने गरेको प्रतिवेदनले जनाएको छ ।

रोग विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूलाई नहेर्ने गरेको प्रतिवेदनले उल्लेख गरेको छ । रेजिडेन्ट चिकित्सकहरूले मात्र बिरामीलाई हेर्ने गरेको सेवाग्राहीले गुनासो गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

जनशक्ति र बिरामीको चाप अनुसार न्यून संख्यामा आईसीयू र अन्य बेड रहेको छ । शल्यक्रिया गर्न ओटी कक्षको अभावले शल्यक्रिया गर्न सेवाग्राहीले महिनादेखि कुर्नुपर्ने समस्या रहेको छ ।

प्रतिष्‍ठानको स्वास्थ्य सेवा अवस्था एकदमै नाजुक रहेको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ । गुणस्तरहीन सेवा भएकाले सेवाग्राहीले धेरै दुःख पाइरहेका छन् । अस्पताल परिसरमा फार्मेसी नभएकाले बिरामीका आफन्त तथ सेवाग्राहीले दुःख पाइरहेका छन् । प्रतिष्‍ठानको मेडिकल रेकर्डहरू जथाभावी राखेको र काउन्सिलको मापदण्ड अनुसार व्यवस्थित राखिएको छैन ।

अस्पतालमा बिग्रेका उपकरण नबनाउने र सबै सामग्री अस्तव्यस्त रहेकाले कुनै पनि सामग्री हिफाजत नगरिएको प्रतिवेदनमा उल्लेख छ । अतिआवश्यक स्वास्थ्योपचारका लागि आवश्यक उपकरहरूको समेत अभाव रहेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x