घटना-दुर्घटना

‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि...

इकागज |
भदौ २८, २०८० बिहीबार २१:५० बजे

सांकेतिक तस्विर

खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिएका थिए । सत्र वर्षीय हिमालले आफ्नो फेसबुकमा ‘बुबाको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना बाबा ! सदैव हजुरको दीर्घायु र खुसीको कामना गर्दछु । भगवान्सँग यो नै प्रार्थना छ कि, हजुरको सबै नराम्रो र खराब समयको अन्त्य भई सधैँभर खुसी मिलोस् ! हरेक औँसीमा हजुरलाई स्वस्थ र खुसी हेर्न पाइराखुम् । अहिलेको यो जटिल समयको चाँडै अन्त्य होस् र हजुरलाई शीघ्र स्वास्थलाभको कामना बाबा !’ भनेर लेखेका थिए । 

हिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बुबाको दीर्घायु र स्वास्थ्यलाभको कामना गरेको केही क्षणमै उनका बुबा चन्द्रप्रसाद आचार्यको निधन भएको खबर प्राप्त भयो । जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि आफैंले काठमाडौँ सिफारिस गरी मागेर काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका चन्द्रप्रसादको निधन भएको खबरले अहिले गाउँ नै शोकमग्न भएको छ । 


हप्ता दिनअघि सामान्य बिरामी परेका चन्द्रप्रसाद छ दिनअघि उपचारका लागि जिल्ला अस्पताल खोटाङमा भर्ना भएका थिए । जिल्ला कारागार खोटाङको सहलेखापाल पदमा कार्यरत चन्द्रप्रसादको काठमाडौँ पुगेको तीन दिनपछि बिहीबार बिहान करिब पौने नौ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङका साधारण सदस्यसमेत रहेका चन्द्रप्रसाद सेवाप्रति इमानदार, कर्तव्यनिष्ठ र मिलनसार कर्मचारी रहेको सङ्गठनका केन्द्रीय सदस्य मोहन भट्टराईले बताए । “देशभर साढे ८६ हजार निजामती कर्मचारी कार्यरत छन् । हाम्रो सङ्गठनका साधारण सदस्य चन्द्रप्रसाद आचार्य सय जनाभित्र पर्नुहुन्थ्यो”, उनले भने, “अल्पायुमै उहाँ (चन्द्रप्रसाद आचार्य)को निधन हुनु दुःखद् हो । देशले एउटा इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी गुमाएको छ ।”

चन्द्रप्रसादको निधनले आचार्य वंशकै इमान्दार र सामाजिक व्यक्तित्व गुमेको नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले बताए । “दाजु चन्द्रप्रसाद आचार्य राष्ट्रसेवक कर्मचारीमात्र नभई सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । हामीले आचार्य वंशकै इमानदार र सामाजिक व्यक्तित्व गुमाउनुपरेको छ”, उहाँले भन्नुभयो, “राम्रा मान्छेको नै छिटो मृत्यु हुँदोरहेछ ! दाजुको निधन भएको खबर सुन्नासाथ गाउँ नै शोकमग्न छ ।”

मृतक चन्द्रप्रसादको शव अन्तिम दाहसंस्कारका लागि दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ । निमोनियाका कारण निधन भएका ४५ वर्षीय चन्द्रप्रसादको घरमा श्रीमती तथा एक छोरा र एक छोरी रहेको भाइ जीवन आचार्यले जानकारी दिए । 

घर खर्चका लागि कमाइ गर्ने अभिभावक (चन्द्रप्रसाद)को अल्पायुमै निधन भएपछि आश्रित परिवारको बिचल्ली छिमेकीले बताएका छन् । मृतक चन्द्रप्रसादको छोरा हिमाल १७ वर्षका छन् भने छोरी हिमाञ्जली १४ वर्षकी छन् ।
रासस


Author

थप समाचार
x