घटना-दुर्घटना

बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर हुम्लामा कामदारको ज्यान गयो

इकागज |
कात्तिक १, २०८० बुधबार २०:२ बजे

हुम्ला - बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर एक जना कामदारको मृत्यु भएको छ। हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलीब्रिजका नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा जिल्ला कोलबी नगरपालिका-६ सनबार गाउँ घर भएका २० वर्षीय सुरेश चौधरी घाइते भएका थिए।

उनलाई उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए।


नटबोल्ड कसिरहेको बेला पुलको ड्यामबाट चिप्लिएर टाउको र ढाडमा चोट लागेका चौधरीलाई स्थानीयले उद्धार गरी सरिसल्लामा भएको हिमाल हेल्थ पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी अस्पताल बाजुरा रिफर गरिएको थियो।

हुम्ला सदरमुकाम सिमकोट जोड्ने कर्णाली कोरिडोर सडकअन्तर्गत सर्केगाड र चंखेली गाउँपालिकाको सरिसल्लामा तत्कालका लागि बेलीब्रिज जडान गरी आगामी फागुन महिनाभित्र सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ पुल जडानको काम द्रुतगतिमा भइरहेको छ।


Author

थप समाचार
x