घटना-दुर्घटना

गाईघाटमा आगलागी हुँदा करोडौंको क्षति, सात पसल भत्काएपछि बल्ल नियन्त्रणमा

इकागज |
मंसिर २५, २०८० सोमबार १२:१९ बजे

सांकेतिक तस्विर

काठमाडौँ - उदयपुरको सदरमुकाम गाईघाटमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । 

राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षति र पाँच पसलमा आंशिक क्षति हुदाँ करिब अढाई करोड बराबरको क्षति भएको हो । आगलागीका कारण राज अटो पार्टस् पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ७० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


सोही आगलागीमा ईजिकुल इन्जिनियरिङ सेन्टर पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ८ लाख, राम उद्धार सहनी माछा पसल पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी १ लाख ५० हजार, पंडित पान पसल पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ५ लाख, महालक्ष्मी अटो पार्ट्स पूर्ण रुपमा जली नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार शाही होटलमा आंशिक क्षति हुँदा ५० हजार, किरण होटल १५ हजार, नरसिंह अटो सेन्टर १५ लाख, चाँदनी साइकल पसलमा ६० हजार र कोसेली घरमा २० हजार बराबरको क्षति पुगेको छ ।

आगो नियन्त्रणमा लिन सो क्षेत्रका ७ वटा पसल स्काभेटर लगाएर भत्काइएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिनसहित विभिन्न यन्त्र उपकरणहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा स्थानीयले झण्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।


Author

थप समाचार
x