पूर्वाधार

पहिरोले २६ करोडको खानेपानी आयोजना प्रभावित

इकागज |
असोज १३, २०८० शनिबार २१:७ बजे

फाइल फोटो

पाँचथर - उपभोक्ता र सरकारी निकायको प्रभावकारी समन्वयको अभावका कारण पाँचथरमा निर्माण भइरहेको रु २६ करोड लागतको एक खानेपानी आयोजना प्रभावित भएको छ । आयोजना प्रभावकारी हुन नसक्दा उपभोक्ताले पनि चासो देखाएका छैनन् । 

जिल्लाको फिदिम नगरपालिका–९ लुम्फाबुङ र फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका उपभोक्तालाई लक्षित गरी निर्माण भइरहेको लुम्फाबुङ–नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजना लथालिङ्ग अवस्थामा छ । आयोजनाको पहिलो खण्डको निर्माण कार्य गत वर्ष नै पूरा भए पनि खानेपानी वितरण हुनसकेको छैन । दोस्रो खण्डअन्तर्गतको पाइपलाइन विस्तार चलिरहे पनि उपभोक्ता समितिको भवन निर्माण हुन नसक्दा आयोजना सञ्चालन अझै लामो समय प्रभावित हुने भएको छ । आयोजनाको मुहान तथा पाइपलाइनमा पहिरोले क्षति पु¥याउँदा पुनःनिर्माणमै धेरै समय र लगानी खर्च हुने अवस्था सिर्जना भएको छ ।


आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका सवइन्जिनीयर अनिल मण्डलका अनुसार आयोजना दुई चरणमा निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत आयोजनाको प्रसारण लाइन निर्माण, नौ वटा पम्पिङ तथा अन्य ट्याङ्की निर्माण र आठ सय ४४ घर उपभोक्तासम्म वितरण पाइपलाइन निर्माण गर्नुपर्ने थियो । रु २१ करोड २० लाख ७२ हजारको लागतमा स्वामीनारायण–आदर्श जेभीले उक्त कार्यको ठेक्का लिई गत वर्षको मङ्सिरमा मुख्य काम सम्पन्न गरेको थियो । तर आठ सय ४४ उपभोक्ताहरुमध्ये हालसम्म करिब चार सय ९० घरधुरीले मात्रै धारा जडान गरेका छन् । 

यस्तै दोस्रो चरणमा दुई सय ६९ घरधुरी उपभोक्ताका घरसम्म वितरण पाइपलाइन निर्माण गर्ने तथा उपभोक्ता समितिको बहुउद्देश्यीय कार्यालय भवन निर्माण गर्नुपर्ने थियो । जसअन्तर्गत वितरण पाइपलाइन र त्यसका लागि आवश्यक अतिरिक्त संरचना निर्माण भइरहेका छन् । तर करिब रु ९० लाखको लागतमा बन्नुपर्ने कार्यालय भवन अझैसम्म निर्माण सुरु हुनसकेको छैन । लुम्फाबुङ वा नवमीडाँडा कतातर्फ भवन बनाउने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य अघि बढ्नसकेको छैन् । राजनीतिक दबाबका कारण भवन निर्माण हुन नसक्दा सिङ्गो आयोजना नै प्रभावित भएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथर साइट इन्चार्ज मण्डलका अनुसार पहिलो चरणको ठेक्का २०७६ असार ३० गते लागेको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने निर्माण कार्य पटकपटक म्याद थप गरी विसं २०७९ मङ्सिरमा सम्पन्न गरिएको थियो । निर्माण सम्पन्न भएपछि धारा जडान गरेका घरहरुमा खानेपानी वितरण पनि थालिएको थियो । तर यहाँका अधिकांश उपभोक्ताहरूले अहिले पनि वैकल्पिक माध्यमबाट खानेपानीको सुविधा लिइरहेका कारण पानीको नियमिततामा चासो देखाएनन् भने उपभोक्ता समिति र आयोजनाले खानेपानी नियमित गरेका छैनन् ।

दोस्रो चरणको निर्माण कार्य २०७८ पुस २७ मा सुरु भएको थियो । जसको अवधि आगामी माघ १४ गतेसम्म छ । निर्धारित समयमा वितरण पाइपलाइन निर्माण सम्पन्न हुनसक्ने भए पनि आयोजनाको ‘मुटु’ का रुपमा रहेको भवन भने निर्माण सम्पन्न हुने अवस्था छैन । आयोजना सञ्चालनमा मद्दत गर्ने भवन निर्माणस्थल अझैसम्म विवादमै छ । दोस्रो चरणको निर्माणको कार्यको ठेक्का निर्माण कम्पनी सीएबीजेआरडीले रु चार करोड ९६ लाख पाँच हजारमा लिएको थियो । 

राजनीतिक दबाबपछि निर्माण कम्पनीले फाल्गुनन्द–१ नवमीडाँडाको तुम्बायक भन्ने स्थानमा भवन निर्माण थालेको थियो । सो स्थानमा अहिले पनि केही बालुवा, रोडा र ढुङ्गा देख्न सकिन्छ भने पिल्लर निर्माण सुरुवात गरी अलपत्र छोडिएको भेट्न सकिन्छ । यता फिदिम नगरपालिका–९ लुम्फाबुङको लुम्फाबुङडाँडामा भवन निर्माणका लागि स्थानीयवासीले दिएको जग्गा बाँझै छ भने निर्माण कार्य अघि बढ्न सकेको छैन । 

उपभोक्ता समितिका अध्यक्ष गगन लावती आयोजना निर्माणकै क्रममा रहेको बताउँछन् । विगतमा केही समय पानी वितरण गरिए पनि गत असारमा आएको बाढी र पहिराले आयोजनाको ट्याङ्की र एक सय ५० मिटर प्रशारण लाइनमा क्षति पु¥याएकाले मर्मतको काम भइरहेको उनको भनाइ छ । उपभोक्ता समितिको भवन नियमबमोजिम लुम्फाबुङडाँडामा बन्नुपर्ने भए पनि आफू बाहिर रहेको समयमा नवमीडाँडामा निर्माण थालिएका कारण समस्या भएको लावतीको भनाइ छ ।

“म बाहिर रहेको समयमा नियमविपरीत नवमीडाँडामा भवन निर्माण थालिएछ”, लावतीले भने, “म आएर नेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कुरा राखेर निर्माण कार्य रोकिएको छ ।” लावतीका अनुसार नवमीडाँडाको तुम्बायकमा भुइ तहको काम सम्पन्न भइरहेका अवस्थामा निर्माण कार्य रोकिएको छ । अहिले कार्यालयले लुम्फाबुङडाँडामै कार्यालय बनाउन पत्राचार गरेपनि निर्माण कम्पनीले काम थालेको छैन । विवादकै कारण दुवैतर्फ केही संरचना बनाउने निष्कर्षमा समिति पुगेको देखिन्छ ।

यस्तै खानेपानीको महसुल चर्को पर्ने डरले कतिपय उपभोक्ताहरुले धारा जडान गरेका छैनन् । “हामीले पहिलो चरणको निर्माण क्षेत्रका सबै उपभोक्तालाई पत्र पठाएर धारा जडान गर्न भनेका थियौँ”, उपभोक्ता समितिका अध्यक्ष लावतीले भने “धारा जडानकै क्रममा भए पनि कतिपयले महसुल धेरै उठ्ने डरले जडान गर्नुभएन ।” सबै उपभोक्ताका घरमा धारा जडान भएपछि मात्रै विपरीत खानेपानीको महसुल उठाउने समितिको योजना रहेको लावतीको भनाइ छ । 

तर उपभोक्ताहरू उपभोक्ता समिति, निर्माण व्यवसायी र तालुकदार कार्यालयसँग असन्तुष्ट छन् । लुम्फाबुङका भद्रमान राई खानेपानी आयोजना निर्माणको कार्य अलपत्र पार्न नहुने बताउँछन् । “सबै पक्ष मिलेर चाँडो आयोजना सम्पन्न गर्नुपर्ने हो”, राईले भने । 

फाल्गुनन्द–१ नवमीडाँडाका रामबहादुर आङ्देम्बे उपभोक्तालाई नियमित खानेपानी नदिने अवस्था आएपछि आफूहरु सरोकारवाला निकायको ध्यानाकर्षण गराउन लागेको बताउँछन् । “उपभोक्ताहरू मिलेर योजना व्यवस्थित रूपमा सञ्चालन गर्न र बाँकी रहेको निर्माणको काम छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने अवस्था आएको छ”, आङ्देम्बेले भने । 

फाल्गुनन्द–१ नवमीडाँडाकै सीआर आङ्देम्बे लथालिङ्ग भएको आयोजना सहजै सञ्चालन गर्न कठिन रहेको वताउँछन् । “सबै मिलेर व्यवस्थित गरे मात्रै योजना सञ्चालन गर्न सम्भव छ । अहिलेजस्तो लथालिङ्ग पाराले योजना चल्न गाह्रो छ”, उनले भने । आवश्यकताको पहिचान नगरी भोट सङ्कलन गर्ने उद्देश्यले आयोजना निर्माण थालिएका कारण समस्या सिर्जना भएको आङ्देम्बेको तर्क छ । “पानीको आवश्यकता भएपनि लिफ्टिङबाट सञ्चालन हुने योजनाको मिटरको पानीको शुल्क तिर्न उपभोक्तालाई कठिन पर्छ”, आङ्देम्बेले भने । रासस


Author

थप समाचार
x