पूर्वाधार

‘आर्थिक मन्दीको प्रभाव राष्ट्रिय गौरवकाे आयोजना निर्माणमा देखियाे’

इकागज |
पुस १६, २०८० सोमबार १२:१५ बजे

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सूचना अधिकारी शूभा श्रेष्ठले दुई वर्ष यता बजेट विनियोजन नहुँदा राष्ट्रिय गौरव आयोजनाका काम समयमा सम्पन्न हुन नसकिरहेको बताएकी छिन्। 

विकास निर्माणका लागि छुट्टयाइएको बजेट पनि थोरै रहेको इकागज टेलिफोन संवादमा उनले  जानकारी दिइन् । ‘शत प्रतिशतको बजेट आवश्यक पर्ने ठाउँमा बीस प्रतिशत मात्र विनियोजन भइरहेको छ,’ उनले भनिन्,’ कतिपय ठाउँमा यति पनि काम सम्पन्न हुन सकेको छैन ।‘ 


ठेक्का व्यवस्थापन राम्रो हुन नसक्दा समयमा काम हुन नसकेको श्रेष्ठको भनाइ छ । कुरा गर्दै विभिन्न निर्माण व्यवसायी कम्पनीलाई चार खर्ब बराबरको रकम भुक्तानी गर्न नसकेको उनले जानकारी दिइन् ।

अर्थकै कारणले फिक्स भएका कार्यक्रमहरू समेत रोकिएको छ । ‘अर्थ मन्त्रालयको परिपत्रले धेरै कामहरू नगर्नु भनेकाले रोकिएका छन्,’ उनले अगाडि थपिन् ।  उनका अनुसार साठी प्रतिशत काम भए पनि चालीस प्रतिशत काम फिर्ता भएका छन् । 

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा दोहोरो काम हुन नदिन मन्त्रालयले चासो व्यक्त गरिरहेको उनले बताइन् । प्रत्यक्ष रुपमा सडकमा भइरहेका कामलाई अनुगमन गर्न सडक विभागलाई निर्देशन दिएको उनले उल्लेख गरिन् ।

फरक(फरक मन्त्रालयसँग समयमै आपसमा समन्वय नहुँदा पनि काम दोहोरो भएको देखिन्छ । ‘समय(समयमा सडक बिग्रने गरेका छन्। विद्युत मन्त्रालय र खानेपानी मन्त्रालयको काम हुँदाखेरि यस्तो समस्या आउने गरेको छ,’ उनले प्रस्ट पारिन् । 


Author

थप समाचार
x