वार्ता

‘भक्तपुरवासी विकल्पको खोजीमा छन्, नयाँ अनुहार चुन्‍नेछन्’ (अन्तर्वार्ता)

कमल विष्ट |
कात्तिक २३, २०७९ बुधबार १४:११ बजे

आगामी मंसिर ४ को निर्वाचनमा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दल र स्वतन्त्र गरी २६ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये एक हुन्– शशि विक्रम कार्की । उनी नेपाल विवेकशील पार्टीबाट ‘कुकुर’ चुनाव चिह्न लिएर मैदानमा होमिएका छन् । कार्की २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रमा तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । उनले त्यतिबेला १७ सय ८४ मत पाएका थिए । 

तर, यसपालिको चुनाव जितेर सांसद बन्ने दौडमा रहेका कार्कीले राजनीतिमा आउनेबारे भने कहिल्यै सोचेका थिएनन् । उनी त केवल एक अभियन्ताका रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहन्थे । तर, एउटा विन्दुमा पुगेर उनलाई लाग्यो, अभियानका सीमा हुन्छन्, मुलुकमा दूरगामी परिवर्तनका लागि राजनीतिमा प्रवेश गर्नुको विकल्प छैन । ‘राजनीति भनेको देशको मूल नीति हो । राजनीति नै दूषित भएपछि राष्ट्रले विकास र समृद्धिको बाटो पक्रन सक्दैन,’ कार्की भन्छन्, ‘यही बोधसाथ राजनीतिमा लागेँ । दूषित राजनीतिलाई सुसंस्कृत राजनीतिमा रूपान्तरण गर्ने मेरो मूल लक्ष्य हो ।’


उनी राजनीतिलाई पूर्णकालीन पेसा बनाउन नहुने मत राख्छन् । राजनीति ‘फुल टाइम जब’ भएपछि नेता भ्रष्टचारी बन्ने सम्भावना हुने उनको बुझाइ छ । त्यसैले पनि उनले जीवनयापनका लागि छुट्टै पेसा अँगालेका छन् । उनी ‘टुरिस्ट गाइड’ र नेपाली–फ्रान्सेली भाषा शिक्षक हुन् । कार्की यो पेसामा ११ वर्षदेखि आबद्ध छन्।

अन्तर्राष्ट्रिय व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका कार्की सात वर्षयता सामाजिक तथा राजनीतिक अभियान चलाइरहेका छन् । डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै गरेका सत्याग्रहमा होस् वा ‘नेपाल खुला छ’ अभियानमा; ‘पुनर्निमाण कहाँ पुग्यो सरकार ?’ भन्ने अभियानमा होस् वा ‘अकुपाई टुँडिखेल’ अभियानमा होस्; नेकपा एमालेका केपी शर्मा ओलीले संसद् विघटन गरेको कदमविरुद्धको आन्दोलनमा होस् वा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता भएको आन्दोलन उनी हरेक अभियानमा अग्रपंक्तिमा छन् । तीमध्ये कतिपय अभियानमा त उनले नेतृत्वदायी भूमिका निभाएका छन् । 

सरकारको उदासीनताका कारण कोरोना कहरमा नागरिकले ज्यान गुमाउँदा र उनीहरूको बिचल्ली हुँदा पनि कार्की सडकमा आएका थिए । ‘निर्मला काण्ड’मा पनि कार्कीले सडकमा उर्लिएर पन्तको हत्यारालाई यथाशीघ्र पक्राउ गर्न सरकारलाई दबाब दिए । सात वर्षयता संघीय राजधानी काठमाडौँ र आसपासमा भएका आन्दोलनमा सरिक हुन सायदै छुटे होलान्, उनी । 

पछिल्ला केही वर्षयता उनी ‘राइट टू इन्फर्मेसन’ अभियान चलाइरहेका छन् । सूचनाको हक र यसको महत्वबारे आमनागरिकलाई बुझाउन विभिन्न जनचेतामूलक कार्यक्रम गरिरहेका छन् । सूचनाको हकको प्रयोग गरी विभिन्न सरकारी कार्यालयसँग सूचना मागिरहेका छन् । उनको निष्कर्ष छ– सूचनाको हकसम्बन्धी हरेक नागरिक जानकार हुनुपर्दछ । यसले नै लोकतन्त्रलाई मजबुद बनाउने हो र मुलुकमा सुशासन ल्याउने हो । 



गत सालको मंसिर २१ गते । बिहानीको त्यस्तै ७ आसपासको समय थियो । उनी अफिस जान भनी घरबाट निस्किए । तर, त्यस दिन कार्यालयमा पुग्न पाएनन् । बीच बाटोमै एक अज्ञात समूहबाट आक्रमणमा परे । रक्ताम्मे हुने गरी कुटिए । कार्कीले आफूमाथि आक्रमण गर्ने समूहविरुद्ध प्रहरीमा उजूरी दिए, तर प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन । 

आफू निर्घात कुटिइनुपछाडि शतप्रतिशत राजनीतिक कारण भएको उनको ठम्याइ छ । ‘कसैसँग मेरो व्यक्तिगत रिसराग छैन,’ उनले भने, ‘त्यो आक्रमण पूर्ण रूपमा राजनीतिक कारणकै उपज हो । मलाई त्यसरी कुट्नभन्दा पहिले पनि त्यो समूहले कैँयनपल्ट फोन गरेर धम्की दिएको थियो । जुन नम्बरबाट मैले धम्की पाएको थिएँ, त्यो नम्बर प्रहरीलाई देखाएँ । तर, प्रहरीले छानबिन गर्दा नम्बर कसको नाममा दर्ता छ भन्ने नै देखिएन ।’

अज्ञात समूहबाट मात्र होइन, अभियानका क्रममा उनले प्रहरीबाट पनि थुप्रैपटक धरपकड खेपेका छन् । कैँयनपटक पक्राउ परेका छन् । तर, उनले सत्य र न्यायको पक्षमा आवाज उठाउन छाडेनन् । 

कार्की आफ्नो राजनीतिक गुरु उज्ज्वल थापालाई मान्छन् । थापाको ‘स्कुलिङ’मा हुर्किन पाएकामा उनी गर्व गर्छन् । राजनीतिमा लाग्न थापाबाट प्रेरित मात्र भएनन्, थापाकै छत्रछायामा हुर्किए पनि । अहिले देशलाई अझ टड्कारो रूपमा थापा जस्तो त्यागी र दूरदर्शी नेता आवश्यक रहेको उनको भनाइ छ ।

तत्कालीन रवीन्द्र मिश्र नेतृत्वको साझा दलसँग दोस्रोपटकको एकीकरणमा कार्कीहरू सहभागी भएनन् । आफूहरूको वैचारिक धरातल र कार्यशैली फरक भएकाले उनीहरू थुप्रै सदस्यहरू एकता प्रक्रियामा सरिक भएनन् । बरु उनीहरूले छुट्टै दल खोले– नेपाल विवेकशील पार्टी । अहिले उनी यसै दलबाट निर्वाचन लड्दैछन् ।

दोस्रोपटकको प्रयासमा सांसद बन्ने सपना देखेका कार्कीलाई चुनाव जित्न भने सहज देखिँदैन । उनको प्रतिस्पर्धा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा, नेकपा एमालेका महेश बस्नेतलगायतका उम्मेदवारसँग हुनेछ । तर, उनी भक्तपुरवासीले विकल्प खोजिरहेकाले आफ्नो जित्ने सम्भावना अधिक रहेको विश्वास व्यक्त गर्छन् । भन्छन्, ‘भक्तपुरवासीले विकल्प खोजिरहनुभएको छ । राजनीतिमा युवापुस्ता र नयाँ अनुहार आउनुपर्छ भन्ने आवाज बलियो छ ।’

विवेकशील नेपालको केन्द्रीय समिति सदस्यसमेत रहेका कार्कीसँग इकागजसँग आउँदो निर्वाचनको सन्दर्भमा कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग इकागजकर्मी कमल विष्टले गरेको कुराकानीको सम्पादित अंश :

नागरिकहरूसँग दोस्रोपल्ट भोट माग्दै घरदैलो गरिरहनुभएको छ । प्रतिक्रिया कस्तो छ ?
हो, म २०७४ सालमा पनि सांसद बन्न यही क्षेत्रबाट उम्मेदवार बनेको थिएँ र त्यस बेलामा मतदाताहरूले धेरै माया दिनुभएको थियो । यसपालि पनि समग्रमा प्रतिक्रिया सकारात्मक छ । नागरिकहरूले विकल्प खोजिरहनुभएको छ । राजनीतिमा युवापुस्ता र नयाँ अनुहार आउनुपर्छ भन्ने आवाज बलियो छ । त्यसैले, नागरिकहरूले यसपटक परम्परागत शैली तोड्दै आलोचनात्मक चेतसहित मतदान गर्नुहुन्छ भन्ने लागेको छ । संसद्मा यसपटक हामीले नयाँ अनुहारसहितको युवा पुस्ता देख्न पाउँछौं भन्ने लागेको छ । त्यसैले, यो कोणबाट हेर्दा मेरो निर्वाचन क्षेत्रमा म निर्वाचित हुने सम्भावना पनि छ । 

नागरिकहरू विकल्प खोजिरहेका छन् भन्नुभयो । तर, नागरिकले निर्वाचनअघि परिवर्तनको आकांक्षा देखाए पनि अन्तिममा पुरानालाई नै रोज्ने गरेको देखिन्छ । यसपालि त्यो आकांक्षा मतपेटिकामा पनि खस्ला त ?
२०७४ सालकै निर्वाचनको कुरा गर्नुभयो भने पनि नागरिकहरूले नेकपाको गठबन्धनलाई धेरै मत दिए पनि उल्लेखनीय संख्याले त्यो बेला विवेकशील साझा पार्टी जस्तै अरु विकल्पहरूलाई पनि मत दिएका थिए । त्यसपछिको समयमा धेरै परिवर्तन आएको छ । मतदाताहरू सञ्चार माध्यममा थप जोडिएका छन् र उहाँहरूलाई आफ्ना कुरा राख्न उम्मेदवारहरूलाई सहज भएको छ । सामाजिक सञ्जालसहित सञ्चार माध्यममा राम्रो अभियान सञ्चालन गर्ने उम्मेदवारहरूले जनतामा पुग्न त्यति गाह्रो छैन । त्यसको संकेत गत स्थानीय निर्वाचनमा पनि देखियो । यसपालिको निर्वाचनमा पनि त्यो कायम रहला कि नरहला भन्ने विभिन्न अनुमानहरू भइरहेका छन् । हामीले गत दुई महिनाको अनुभवमा भन्नुपर्दा यसपालि स्थानीय निर्वाचनको रुझान कायम रहनेछ भन्ने हामीलाई लागेको छ । अझ गाउँ–गाउँसम्म पनि पुगेको देख्दा त्योभन्दा बृहत् हुने सम्भावना पनि छ जस्तो लागेको छ ।

यसपालि त नागरिकहरू तपाईंहरूबाट पनि दुःखी भएका छन् । देशलाई पुरानाबाट निकास दिन्छौँ भनेर तपाईंहरूले सुरु गरेको विवेकशील साझामै ठूलो विचलन आयो । दल छिन्नभिन्न भयो । आशा गरिएको दल पनि चोइटिँदा नागरिकमा निराशा छाएको छ नि ?
हो, हामी तत्कालीन विवेकशील साझा पार्टीमा थियौँ र अघिल्लो पटकको निर्वाचनमा म लगायत १ सय ५७ जना उम्मेदवारहरू प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा त्यही पार्टीबाट उठेका थियौँ । पार्टीमा विचार तथा कार्यशैली नमिल्ने हो भने एकै ठाउँमा बसेर काम गर्न गाह्रो हुने रहेछ भन्ने हामीले महसुस ग¥यौँ । त्यसैले अनन्तसम्म झगडा गरेर पार्टीलाई न हाँसको चाल न कुखुराको चालको स्थितिमा पार्नुभन्दा एउटा निश्चित विचार र कार्यशैली बोकेर अगाडि बढ्दा नै उपयुक्त हुन्छ भन्ने लाग्यो । २०७४ सालको निर्वाचनमा हामीलाई विश्वास गरेर करिब २ लाख १२ हजार मत दिने मतदाताहरू समक्ष हामीले क्षमा माग्नुपर्छ र आफ्नो भागको दोष हामी स्वीकार गर्छौँ । 

हाम्रो अगाडिको निर्णय कुन मानेमा पनि सही ठहरियो भने हामी छुट्टिएपछि विवेकशील साझा पार्टीको वैचारिक अडानहरू हामीले एकीकरण गर्दाको समयभन्दा फरक मार्गतिर जान थाले र पछि त प्रस्टसँग संविधानका मूल मर्म र भावनालाई नै कुल्चिने र देशलाई अर्को संक्रमणकालमा लाने खालका विचारहरू आए । हामीले त्यसलाई अस्वीकार गर्दै संविधानका व्यवस्थाहरूको कार्यान्वयन गर्न र संविधानलाई संस्थागत गर्न अगाडि बढेका छौँ । 
अब हामीले मतदाताहरूको विश्वास जित्नका लागि काम गरेरै देखाउने हो र त्यसका लागि हामी प्रयासरत छौँ । 

गत चुनावमा तपाईंले करिब १८ सय मत पाउनुभएको थियो । आशाका रूपमा उदाइरहेको शक्ति छिन्नभिन्न भएको अवस्थामा यसपालि कति मत पाउने आँकलन गर्नुभएको छ ? 
हाम्रो ध्यान आफ्ना तथा पार्टीका कुरा नागरिकहरूमाझ पु¥याउनेमा नै केन्द्रित रहेको छ । माथि नै भनिसकेँ, म निर्वाचित हुने सम्भावना पनि रहेको छ । 

नेपालमा आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने थुप्रै दलहरू छन् । तपाईंहरूका विचार र अजेन्डा पनि उस्तै–उस्तै सुनिन्छन् । गन्तव्य एउटै हो भने बाटो किन फरक–फरक ? 
गन्तव्य त सबै राजनीतिक दलहरूको एउटै हुन्छ, नागरिकहरूको जीवनस्तर माथि पुर्याउने । तर, हामीहरूले अपनाउने विचार, कार्यशैलीहरू फरक हुने भएकाले नै फरक–फरक राजनीतिक दलहरूको अस्तित्व रहन्छ । हाम्रो वैचारिक निकटता हुने दल तथा समूहहरूसँग मिलेर जाने हो र त्यसका लागि विभिन्न दल तथा समूहहरूसँग प्रारम्भिक कुराकानीहरू पनि भएका छन् । तर चुनावको मुखमै आएर हतारमा निर्णय लिन उपयुक्त नहुने भएकाले हामीले तत्कालै यो कुरालाई अगाडि बढाएका छैनौँ । फेरि नेतृत्व मात्रै मिलेर पनि पार्टी दिगो हुन्न । हाम्रा सदस्य तथा शुभचिन्तकहरूको भावनालाई पनि आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने भएकाले हामी यस विषयमा धीरताका साथ अगाडि बढ्छौँ । 

तपाईंहरू एकढिक्का भएर जाने सम्भावना कति छ ?
सम्भावना छ । तर, हामी यसपालि कसैसँग एकता गर्न हतार चाहिँ गर्दैनौँ । एकदमै मिहीन ढंगले हाम्रा विचार र कार्यशैलीमा कतिको समानता छ भनेर हेर्छौँ, केही समय एकता नगरीकनै सँगै काम गर्छैँ । आइडियोलोजी र कार्यशैलीमा समानता भेट्यौँ भने सँगै जान्छौँ, भेटेनौँ भने जान्नौँ । हामी बरु सानै भएर बस्छौँ, तर ठूलो हुने नाउँमा वैकल्पिक शक्तिको मूल मुद्दामा कम्प्रमाइज गर्दैनौँ । यो हामीले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग हतारोमा गरेको निर्णयबाट सिकेको पाठ हो ।

तपाईं अहिले घरदैलोमा हुनुहुन्छ । तपाईं आफैँ पनि २५ वर्षदेखि यस क्षेत्रको बासिन्दा हुनुहुन्छ । भक्तपुर–२ का मुख्य समस्या के हुन् ?
यहाँका समस्या मुलुकका अन्य ठाउँका भन्दा फरक छैनन् । भक्तपुर–२ मा पनि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी आदिको समस्या छ । रोजगारीको चरम समस्याका कारण कैँयन नागरिकका परिवारका सदस्यहरू विदेशिन विवश हुनुहुन्छ । आफ्नो परिवारबाट टाढा हुनुपर्ने बाध्यता यहाँ पनि छ । भक्तपुरवासीहरू आफ्ना पूर्वप्रतिनिधिहरूले काम नगरेकोमा एकदमै असन्तुष्ट छन् ।

तपाईं यसबीचमा कुनै पदमा त हुनुहुन्थ्यो । तर, पदमा नरहुँदा पनि एउटा उम्मेदवारले गर्न सक्ने धेरै कुरा हुन्छन् । पछिल्ला पाँच वर्षमा तपाईंले यस क्षेत्रका लागि के गर्नुभयो ?
हामीले मूलतः संविधानलाई संस्थागत गर्ने तथा पारदर्शी राजनीतिलाई अगाडि बढाउनमा बढी समय खर्चियौँ । केपी ओलीको दुईपटकको असंवैधानिक संसद् विघटनविरुद्ध सडकको मोर्चा सम्हाल्यौँ । सूचनाको हकको कार्यान्वयनका लागि पैरवी गर्ने तथा आफैँले कार्यान्वयन गर्ने पनि काम गर्‍यौँ । 

त्यसबाहेक डा. केसीको अगुवाइमा भएको चिकित्सा शिक्षाको अभियानमा हामी लामो समयदेखि काम गरिरहेका छौं । त्यसले धेरै सफलता हासिल गरी आगामी दिनका लागि सुधारको जग बसालेको छ । कोभिड महामारीमा सरकारलाई नागरिकप्रति थप जिम्मेवार बनाउन इनफ आज इनफ अभियानमा पनि सक्रिय रूपमा सहभागी भएका थियौँ ।

यो क्षेत्रमा बलियो पकड भएका एमाले, सत्ता गठबन्धन, नेमकिपालगायतका उम्मेदवारसँग तपाईंको प्रतिस्पर्धा हुने देखिन्छ । तपाईंको आफ्नो संगठन बलियो छैन । यस्तोमा तपाईंको जितको आधार के हो ?

मैले बढी देशको संविधान तथा लोकतन्त्रलाई संस्थागत गर्ने विभिन्न काम तथा अभियानहरू गरेँ । त्यही कामलाई यस क्षेत्रका मूल्यांकन गर्नुहुन्छ र आफ्नो मतदान गर्नुहुन्छ भन्ने लाग्छ ।

तपाईंका अजेन्डा के छन् ?
सांसदको मुख्य कामहरू भनेका संसदको पूर्ण बैठकमा विशेष गरी आफ्नो क्षेत्रका मतदाता लगायत आमनागरिकका चासोहरूलाई प्रतिविम्बित गर्ने, संसद्को पूर्ण बैठकमा पेस भएका प्रस्तावहरूमा विवेकपूर्ण तवरले मतदान गर्ने तथा संसदीय समितिमा रही काम गर्ने रहेका छन् । मैले मेरा लक्ष्यहरूलाई पनि ती विषयहरूमा नै केन्द्रित गरेको छु । मैले घोषणापत्रमा ‘मेरा सात प्रतिबद्धताहरू’ भनी यी विषयहरूलाई समावेश गरेको छु :

१) संवैधानिक सशक्तता– संवैधानिक आयोगहरूको काम कारबाहीलाई नजिकबाट अध्ययन गर्ने । 

२) कानुनी राज्य– न्यायालयहरूको काम कारबाहीहरूलाई सूक्ष्म निगरानी गर्ने । 

३) पारदर्शी सार्वजनिक निकायहरू– सार्वजनिक निकायहरू थप पारदर्शी बनाउन नीतिगत बहसहरू नागरिक स्तरमा सञ्चालन गर्ने । 

४) सबैको सरल पहुँचमा गुणस्तरीय स्वास्थ र शिक्षा– सबैले पाउन सक्ने गुणस्तरीय आधारभूत स्वास्थ र शिक्षामा आम नागरिकहरूको सहज र सर्वसुलभ पहुँचको सुनिश्चितताका लागि संसद्मा आवाज उठाउने र नागरिकहरूमाझ छलफल गर्ने । 

५) पर्यावरण जोगाउने– पर्यावरण संरक्षण र जलवायू परिवर्तनको नकारात्मक असर बारेमा राज्यले लिनुपर्ने नीतिका सम्बन्धमा संसद्मा आवाज उठाउने र उक्त विषयलाई नागरिकमाझ पर्‍याउने । 

६) विभेद विरुद्धको संघर्ष– लैंगिक, भौगोलिक समानतालाई व्यवहारमा उतार्न संविधानमा भएका अस्पष्ट व्यवस्थाहरूलाई संशोधन गर्न पहल गर्ने । 

७) सुसंस्कृत राजनीति– लुटतान्त्रिक राजनीतिक संस्कार विरुद्ध सुसंस्कृत वैकल्पिक संस्कारको निरन्तर प्रवर्द्धन गर्ने । 

८) नियमितता– संसद्मा अनुपस्थितिको समस्या मूल छ त्यसैले आम नागरिक र मुलुकप्रति प्रतिबद्ध रहँदै म संसदमा नियमित उपस्थित हुनेछु ।

यसका साथै मेरो मुख्य लक्ष्य भनेको लोकतान्त्रिक व्यवस्थाको पक्षमा वकालत गर्ने । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशितालाई प्रभावकारी र परिणाममुखी बनाउन संसद्बाट आवाज उठाउनुका साथै नागरिकमाझ छलफल गर्ने ।

चुनाव जितेर सांसद बन्नुभयो भने तपाईंले गर्ने सबैभन्दा पहिलो काम के हुन्छ ?
नागरिकहरूसँगको संवादलाई निरन्तर राख्न र संसद्को पूर्ण बैठक तथा संसदीय समितिका बैठकहरूमा मेरो उपस्थितिलाई मजबुत बनाउन म विषयगत विज्ञहरूको सल्लाहकार समिति सहितको मजबुद सचिवालय बनाउँछु ।

पराजित हुनुभयो भने अर्को चुनावमा उठ्नुहुन्छ कि थकाइ मार्नुहुन्छ ? 
गत निर्वाचन लडेपछि नै मैले अब अर्को निर्वाचन नलड्ने निधो गरेको थिएँ । तर, म यसपालि पनि निर्वाचन लड्न बाध्य भएँ । यस क्षेत्रमा मैले उम्मेदवारका रूपमा जस–जसलाई देखेँ, उहाँहरूबाट आश गर्न सकिने ठावै छैन । उहाँहरूसँग न भिजन छ, न इमान । मैले उम्मेदवारी दिइनँ भने फेरि भक्तपुर–२ ले अक्षम प्रतिनिधि पाउँछ भन्ने चिन्ता भयो । त्यसैले, बाध्य भएर उम्मेदवारी दिएँ । 

अर्को चुनावमा लड्ने वा नलड्ने अहिले नै सोचेको छैन । तर, कोही समक्ष व्यक्ति उठ्यो भने उसलाई सांसद बनाउन सहयोग गर्छु ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x