वार्ता

म देउवाको राजीनामाको पक्षमा हैन, नैतिकताको कुरा हो : अर्जुन नरसिंह (अन्तर्वार्ता)

उपेन्द्र अर्याल |
पुस १६, २०७९ शनिबार १६:३८ बजे

नेपाली कांग्रेसभित्र प्रभावशाली नेता मानिने अर्जुन नरसिंह केसी नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । कांग्रेस राजनीतिमा उनी देउवाइतर समूहमा देखिन्छन् ।  केसी गत निर्वाचनमा सबैभन्दा धेरै सिट ल्याएको कांग्रेसले सरकार गठन गर्न नसक्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कमजोरी रहेको बताउँछन् । एउटा सानो समूह र शक्तिको लोभमा परेर केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माण गर्ने अवसर गुमाएको उनको धारणा छ । नेता केसीसँग इकागजका उपेन्द्र अर्यालले कांग्रेस पार्टीमा देखिएका समस्या र समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : 

गत निर्वाचनमा सबैभन्दा ठूलो दल कांग्रेस बनेको थियो । त्यो हिसाबले सरकार बनाउने जिम्मेवारी तपाईंहरूकै थियो । तर, कांग्रेसले सरकार र  गठबन्धनको नेतृत्व गर्न सकेन । यस्तो कसरी हुन गयो ? 


सरकार निर्माण गर्न केन्द्रीय कार्यसम्पादन समितिले पहल गर्ने र त्यसको संयोजन गर्ने जिम्मा पार्टी सभापतिलाई दिइएको थियो ।  पार्टी सभापतिले निर्णय लिँदा सबै पक्षको गम्भीर विश्लेषण गरेर निर्णय लिनुपर्ने थियो । अर्को कुरा गठबन्धन गर्ने बेलामा पनि हामीले कांग्रेस कुनै गठबन्धनको वैशाखी नटेकिकन निर्वाचनमा जानुपर्छ भन्ने कुरा हामीले राखेका थियौँ । तर, केन्द्रीय कार्यसमितिको निर्णयपछि हामीले जे निर्णय हो, त्यसलाई स्वीकार गर्यौँ । गठबन्धनका कारण धेरै हाम्रा होनाहार साथीहरूले निर्वाचनमा भाग लिन पाएनन् । त्यो एउटा पक्ष थियो ।

तर, गठबन्धन भइसकेपछि यसबाट प्राप्त परिणामलाई कांग्रेसले नेतृत्व गरोस् भन्ने हामी सबैको चाहाना थियो । तर नेतृत्वले यो काम पनि गर्न सकेन ।  सरकार निर्माणका लागि गठबन्धनमा देखिएका समस्याबारे केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्न सकिन्थ्यो । पदाधिकारीको बैठक मात्रै पनि राख्न सकिन्थ्यो ।
सरकार निर्माण गर्नुपर्ने त्यो अन्तिम घडिमा छलफलका लागि पार्टीका पदाधिकारीहरू र दुई महामन्त्रीलाई खबरै गरिएन । एक उपसभापति र सहमहामन्त्रीहरू पनि थिएनन् ।

एउटा सानो समूह र शक्तिको लोभमा प्रतिपक्ष र आफ्नै गठबन्धनभित्र कहाँ के भइरहेको छ भन्ने नबुझेर यो किसिमको परिणाम आयो । त्यो नेतृत्वको अक्षमता हो । 
यो परिणामको सबै जिम्मेवारी नेतृत्वकर्ता सभापतिले लिनुपर्छ । सभापति देउवासँगै उनी वरपर बस्नेले पनि कांग्रेस कार्यकर्तालाई जवाफ दिनुपर्छ ।  

निर्वाचनअगाडि हाम्रो गठबन्धन ५० वर्षसम्म जान्छ भनियो । अनि निर्वाचन सकिएलगत्तै गठबन्धन फुट्यो । यसमा देउवा मात्रै दोषी हुन् कि अन्य नेतृत्व  पनि जिम्मेवार छ ?

गठबन्धनका पाँचै वटा दलले हामी मिलेर अगाडि बढ्छौँ भनेर जनतासँग मत मागेका हुन् । त्यसैले पाँचै वटा दलले जनताप्रति उपेक्षा गरेका हुन् । त्यसैले उनीहरू सबै दोषी छन् । 

सरकार बनाउन नसकेको भन्दै देउवाको पार्टीभित्रै पनि आलोचना भइरहेको छ । उनले राजीनामा दिनुपर्ने कुरा पनि उठिरहेको छ । राजीनामाले अब कांग्रेसको सबै समस्या समाधान हुन्छ ?

हाम्रा साथीहरूमध्ये कतिपयले सभापतिले राजीनामा दिनुपर्छ भन्नुभएको छ । तर, म राजीनामा दिनुपर्छ भन्दिनँ । राजीनामा भनेको स्वेच्छाले दिने हो । बलजफ्ती कसैले कसैलाई राजीनामा गराउनु हुँदैन । राजीनामा र नैतिकता निजात्मक कुरा हुन् । निजी विवेकको विषय भएकाले म राजीनामा माग्ने पक्षमा छैन । राजीनामाभन्दा पनि अहिले भएका राजनीतिक विषयमा गम्भीरतापूर्वक सोच्न जरुरी छ । लोकतन्त्र भनेको पद्धति मात्रै होइन, प्रक्रिया पनि हो । निर्वाचित भएर आएको सभापतिले आफैं राजीनामा दिनुभयो भने त त्यसको विकल्प पार्टीले खोज्ला । त्यो उपयुक्त र राम्रो पनि हो । तर, हामीले राजीनामा दिन लगाउनु उचित होइन । पार्टीभित्र प्रक्रियागत रूपले कसरी नियन्त्रण र परिमार्जन गर्न सकिन्छ, त्यो विधानले नै व्याख्या गरेको छ । हामी त्यता लाग्नुपर्छ ।

केही साथीहरूको विशेष महाधिवेशन गरौँ भन्ने कुरा पनि छ । तर, पार्टीभित्र सबैले प्रतिबद्धता गरेको नीति महाधिवेशन गर्नु पर्छ । १४ औँ महाधिवेशनमा हामी नीतिगत क्षेत्रमा प्रवेश नै गरेनौँ । नेतृत्व चयनमा मात्रै ध्यान दियौँ । त्यसको ६ महिनाभित्र नीतिगत महाधिवेशन गर्ने भनेको थियौँ । अब तत्कालै नीतिगत महाधिवेशन बोलाउने र त्यही महाधिवेशनमा यो विषयमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्छ । 

पार्टीमा महामन्त्री वा पदाधिकारीको चाहिँ कुनै हैसियत हुँदैन ? सरकार निर्माणको सम्बन्धमा दुवै महामन्त्रीलाई थाहै दिइएन भन्ने कुरा छ । अन्य पदाधिकारीले पनि थाहा छैन भनिरहेका छन् । आफ्नै पार्टीलाई विधिमा चलाउन नसक्नेले देश कसरी चलाउँछन् भन्ने प्रश्न उठ्दो हो नि ?

निर्वाचित दुई महामन्त्रीलाई बाहिर राखेर पार्टीको निर्णय गर्नु सबैभन्दा दुःखद् कुरा हो । निर्वाचित उपसभापतिलाई पनि बोलाइएन । पार्टीको निर्णयमा सबै बाहिरका मानिसले हालिमुहाली गरेका छन् । निर्वाचित पदाधिकारीभन्दा अनिर्वाचितहरूले घेरेका छन् । पार्टीभित्र छलफल गरिएको भए अहिलेको अवस्था आउने थिएन । मलाई नै मात्रै केही जिम्मेवारी दिएको भएपनि, म गर्न सक्थेँ । एउटा तार्किक निष्कर्षमा पु¥याउने क्षमता म राख्छु भनेको थिएँ । मैले गठबन्धनका अन्य नेतासँग पनि कुरा गरेको थिएँ । तर, हामीलाई पार्टीले गर्ने निर्णयबारे केही थाहै दिइएन । तर, निर्वाचितभन्दा अनिर्वाचित रोजेर आफ्ना नजिकका मान्छेमा मात्रै भरपर्दा यो स्थिति आएको हो । 

सभापतिलाई यसरी छलफल गर्न नदिने, एकलौटी निर्णय गराउन प्रेरित गर्ने समूहले यसको जिम्मेवारी लिन्छन् त ?

मुख्य कुरा जसले नेतृत्व गर्छ, उसैको जिम्मेवारी हो । तर, त्यति हुँदाहुँदै पनि उहाँसँग निकटतम पक्षधर साथीहरूले कम्तिमा यसलाई अन्य पदाधिकारीलाई पनि राखेर एकपटक छलफल गरौँ भन्ने सल्लाह दिन सकिन्थ्यो ।  सभापतिमा ‘म नै हुँ, मबाहेक अर्को कोही छैन’ भन्ने अहंम् देखियो । यो अहंम् र दम्भबाट सामाजिक उत्तरदायित्व बहन गर्न गाह्रो हुन्छ । त्यो स्थिति बन्नमा उहाँका नजिकका साथीहरूमा पनि त्यही किसिमको दम्भ देखियो । 

यही स्थिति रहे आगामी महाधिवेशनसम्म पार्टी त ध्वस्तै होला नि ?

पार्टी भनेको उहाँको मात्रै होइन, हाम्रो पनि हो । अहिले देखिएका कमिकमजोरी उहाँले पनि महसुस गर्ने हो भने पार्टीलाई सही बाटोमा लैजान सकिन्छ । अहिले हामी  सत्ताबाहिर मात्रै भएका हौँ । तर, जनशक्तिको बल हामीसँग छ । त्यसलाई कसरी परिचालित गर्ने र कसरी संसद्मा एउटा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्नेतिर हामी लाग्नुपर्छ । गरेका गल्तिहरू महसुस गरेर सबैको सल्लाहमा अगाडि नबढ्ने हो भने यो समस्या अझै बढ्छ । त्यो पार्टीको निम्ति दुर्भाग्य हुन्छ । सत्ता मोह र लिप्साका कारण नेतृत्वको वरपर बस्नेले ‘फलानो यस्तो भयो, भने म यस्तो हुन्छु’ भन्ने मात्रै सोचेर अगाडि बढेको देखिन्छ । तर, समग्र पार्टीको भविष्यतिर ध्यान गएको छैन । 

यसलाई सच्याउने हो भने नेतृत्व तहबाटै सच्याउनु पर्छ । सच्चिने÷सच्याउने प्रक्रिया भएन भने हामी लडाइँ मात्रै गरेर सक्किने अवस्थामा पुग्छौँ । तैपनि, सकिनेभन्दा सच्चिनेतिर लाग्नुपर्छ भन्ने मेरो धारणा हो । 

अब पार्टीलाई सही ठाउँमा ल्याउन के गर्नुपर्छ त ?

हामी पार्टीलाई सही ठाउँमा ल्याउन के–के गर्नुपर्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ । साथीहरूसँग छलफल गरेर हाम्रा असहमतिहरू पार्टी समक्ष राख्छौँ । उठाएका विषयमा सहमति कायम हुन नसके पार्टीको बैठकमा हामी विमतिहरू लिपिबद्ध गरेर राख्छौँ ।

तपाईंहरूले पार्टीभित्र उठाउन खोज्नुभएको मुख्य विषयहरू के–के हुन् त ?

विषयहरू विभिन्न कोणबाट उठिरहेका छन् । गलत कुरालाई गलत भनेर आगामी बाटो हामीले देखाउने छौँ । पार्टीलाई उपेक्षा गरेर सबै निर्णयहरू सानो समूहमा गरियो, यी सबै विषय पार्टीमा उठाउँछौँ । अहिले देउवाको निर्णयबाट जुन किसिमको परिणाम आयो, त्यसको भागिदार उहाँहरू (देउवा नजिकका नेता) नै हो । हामीलाई त यस्तो हुँदै छ भनेर सम्पर्कसमेत गरिएन । देशको राज्य संचालन गरेर बसेको नेतृत्वलाई पार्टीबाहिर कुन खेल भइरहेको छ भन्नेसमेत थाहा भएन । सीमित समूहको स्वार्थमा लागेर निर्णय गर्दाको परिणामको जिम्मेवार को हो ? भन्ने प्रश्नमा हामी केन्द्रित हुन्छौँ । सरकार गठन सम्बन्धमा पदाधिकारीको बैठकसमेत बसेन । महामन्त्री र उपसभापतिसँग समेत छलफल नभएको विषय पनि हामी उठाउँछौँ ।

कांग्रेस त लोकतान्त्रिक पार्टी भनिन्छ, तर सभापति त पार्टी छलफल, विमर्श नगर्ने अलोकतान्त्रिक हुनुभयो । गठबन्धनको संगतले यस्तो बनाएको हो कि ?

गठबन्धन भएपछि पुगिहाल्यो । ‘पार्टीभित्र एक-दुई जनाले  विरोध गरेर केही हुँदैन’ भन्ने अहंकार सभापतिमा देखियो । आफ्नै पार्टी बलियो बनाएपछि मात्रै गठबन्धनमा पनि बलियो भइन्छ भन्ने सोच उहाँको देखिएन । उहाँमा एक किसिमको हठ देखियो । कतिसम्म अव्यावहारिक भने सम्झौता गरेर प्रधानमन्त्री अरुलाई दिनुपर्‍यो भने पनि राष्ट्रपति र सभामुख त आफ्नो हुन्थ्यो नि । दुई वर्षपछि प्रधानमन्त्री पनि आफ्नो हुन्थ्यो । कांग्रेसको निम्ति एउटा राम्रो काम गर्ने अवसर थियो ।

सबै नाश हुनुभन्दा केही त्यागेर पनि सहमति गरेर आफ्नो साख बचाउने र दूरदर्शी बन्ने नेतृत्वमा क्षमता देखिएन । उहाँले आफू खेल्न खोज्दा खोज्दै अर्काले खेलाएको बुझ्नै सक्नुभएन । कहाँ के भइरहेको छ, गठबन्धनका अन्य पक्षले के गरिरहेका छन् ? उहाँले बुझ्नुभएन । यो बीचमा गठबन्धनबाहिरका नेताहरूले पनि भेट्न खोजेका थिए रे ! तत्काल भेट्ने कुरामा पनि उहाँले सक्रियता देखाउनु भएन । सरकार बनाउने विकल्प अन्य पार्टीसँग पनि सँगै लैजानुपर्थ्याे ।

त्यो उहाँले नसकेको भए पार्टीका हामीजस्ता मान्छेलाई लगाउनु भएको भए पनि सम्भव थियो । तर, उहाँ जोसँग भर पर्नु भयो उहाँहरू प्रधानमन्त्री भएपछि आफू के बन्ने भन्ने ध्याउन्नमा लाग्दा केन्द्रदेखि प्रदेशसम्मकै सरकार निर्माणको मौका गुमाउनु पर्‍यो । 

अहिलेसम्म पनि पार्टीका भ्रातृसंगठनहरूले पूर्णता पाएका छैनन् । विभागहरू गठन हुन सकिरहेका छैनन् । यो पटक पार्टी प्रतिपक्षमा बस्नु प¥यो । आगामी निर्वाचनसम्म पनि पार्टीको यही गति हुँदा त कांग्रेस त सदाको प्रतिपक्षी हुने आँकलन छ , तपाईँलाई के लाग्छ ?

हाम्रा विभिन्न अजेन्डामध्ये एक, वैधानिक रूपले भ्रातृसंगठनहरूको लोकतान्त्रिक ढंगको निर्वाचन गर्नु हो । आगामी बैठकमा यी कुरा उठ्छन् । तर, पहिले राजनीतिक विषय उठाउँछौँ । हामीले अब संसद्मा राम्रो भूमिका निभाउने हो । सरकार टिक्छ÷टिक्दैन भन्नेतिर अब लाग्नु हुँदैन । सरकारले गरेका राम्रा काममा सहयोग गर्दै एउटा सशक्त प्रतिपक्षीको भूमिका निभाउनुपर्छ । त्यसो हुँदा आगामी निर्वाचनसम्म कांग्रेस ठूलो शक्तिको रूपमा फेरि उदाउँछ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x