वार्ता

राधाकृष्ण मैनालीसँग निवार्ता

‘केपी भाइ चौकीदार जति पनि भएनन्, माधव असहिष्णु र स्वार्थी राजनीतिको जनक’

शुभाषचन्द्र पोख्रेल |
साउन १४, २०७८ बिहीबार ७:२० बजे

आजकाल राधाकृष्ण मैनालीका अन्तर्वार्ता र विचार-विमर्श मूलधारका सञ्चार माध्यममा कम-कम हुँदैछन् । विषयलाई ‘भाइरल’ बनाउन रुचाउने ‘युट्युबर’हरूको मञ्चमा बढी देखिने/सुनिने गर्छन्, उनी ।‘मैनालीले मुख खोले’, ‘मैनालीका खुलासा’ ‘ओली-विद्या सम्बन्धका रहस्य, मैनालीले गरे गम्भीर सूचनाको खुलासा ।’ यस्तै-यस्तै शीर्षकसहितका संवाद स्वयं मैनालीकै फेसबुक टाइम-लाइनमा प्रशस्त देखिन्छन् । यी र यस्तै कुराप्रति संकेत गर्दै मैले कुराकानीको सुरुवातमै मैनालीलाई सोधेँ, ‘यस्ता भाइरल संवादहरूका लागि तपाईं चाहिनेभन्दा ज्यादा हलुङ्गो बन्‍नुभयो कि ?’

मैनालीको प्रतिउत्तर बडो रोचक थियोे, ‘मलाई थाहा छ, मेरा कतिपय अन्तर्वार्तासँग म स्वयं सन्तुष्ट छैन । तर के गर्ने शक्तिशाली सञ्चार माध्यममा सञ्चालन हुने चर्चित कार्यक्रममा आमन्त्रित हुन विचारभन्दा महत्वपूर्ण ‘शक्ति’ चाहिन्छ । म शक्तिहीन छु । शक्तिशाली मान्छेलाई आफ्नो प्ल्याटफर्ममा बोलाउन ती ‘भुरा’ सञ्चार माध्यमको शक्ति पुग्दैन । त्यसैले मलाई बोलाउन खोज्ने कसैलाई पनि ‘नाइँ’ भन्‍न सक्दिनँ ।’


उनको यो स्पष्टोक्तिमा सत्ता र शक्तिको वरिपरि घुम्ने राजनीति र त्यही राजनीतिको वरिपरि घुम्ने ‘ठूला’ सञ्चार माध्यमप्रति व्यञ्जनाको अन्तर्य धेरै थियो । हो, सन्यास नलिइकन ‘राजनीतिक सन्यासी’ बन्‍न पुगेका कम्युनिस्ट नेता राधाकृष्ण मैनालीमै यो आलेख केन्द्रित हुनेछ ।

राजनीतिक आस्था र अडानकै कारण निकै लामो र कष्टकर जेल जीवन बिताउन बाध्य सीमित राजनीतिज्ञको सूची केलाउँदा मैनालीको नाम अग्रस्थानमै भेटिन्छ । २०४६ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन सकारात्मक निष्कर्षमा पुग्दै गर्दा अग्लो शारीरिक कदका अलावा अग्लो र आशालाग्दो राजनीतिक उचाइसाथ जनतामाझ उदाउने पात्र थिए, राधाकृष्ण मैनाली ।

उनै मैनाली, जसको नाम नेपालको वाम आन्दोलनको कुरा गर्दा छुटाउनै मिल्दैन । सशस्त्र झापा आन्दोलनको सूत्रधार हुँदै वाम राजनीतिमा होमिएका मैनालीको राजनीतिक यात्रा प्रजातन्त्र प्राप्तिपछिको खुला राजनीतिमा भने सरल रेखामा अंकित गर्न मिल्ने खालको रहेन । वाम आन्दोलनमा मैनालीका समकालीन (केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, सिपी मैनाली)हरू मूलधारको राजनीतिमा सक्रिय रहिरहँदा राधाकृष्ण मैनाली भने पछिल्लो समय सन्‍न्यासविना नै ‘राजनीतिक सन्‍न्यासी’ बनेका छन् । आखिर किन त राजनीतिको समान लयमा टिकिरहन सकेनन् ? नेपालको राजनीति, पात्र, प्रवृत्ति अनि मैनालीबारे चासो राख्नेहरूका लागि केही हदसम्मका जिज्ञासा स्वयं मैनालीद्वारा लिखित किताब ‘नलेखिएको इतिहास’ले गर्न सक्छ ।

अझ यसो भनौँ, मैनालीले आफ्नो पुस्तकमा नेकपा एमाले, राजनीतिक समकक्षी माधव नेपाल र केपी शर्मा ओलीको यति उछितो काढे कि उक्त किताब उनका लागि एमालेसँगको राजनीतिक साइनोमा पूर्णविराम लगाउने ‘अबिच्युअरी’ लेखनजस्तै भयो । झापा विद्रोह नेपालको राजनीतिक इतिहास र खासगरी नेपालको कम्युनिस्ट आन्दोलनको कुरा गर्दा छुटाउनै नमिल्ने घटना हो । झापा विद्रोहको वैशिष्ट्य र औचित्यबारे अनेक-अनेक तर्क हुन सक्लान्, तत्कालीन घटनालाई विश्लेषण गर्ने चस्मा ‘साम्यवादी र समाजवादी’ आँखाअनुसार फरक-फरक हुन सक्लान् । 

राजनीतिक जीवनमा माधव-मैनालीबीच मिठासपन कहिल्यै भएन । उनी भन्छन्, ‘अल्पमतमा पर्दा र पेलिनु पर्दा कति सकस हुँदो रहेछ, सायद माधवकुमार नेपालले महसुस गर्दै होलान् ।’

तर नजरअन्दाजको भरमा झापा विद्रोह ओझेल पर्ने घटना हुँदै होइन । त्यसअर्थमा झापा विद्रोहका सूत्रधारमध्येका एक हस्ती राधाकृष्ण मैनाली पनि त्यो समयको अभिन्‍न हिस्सा हुन् । राजनीतिक कोर्स र सामाजिक रूपान्तरणले निकै फराकिलो फेरो समातिसकेको वर्तमान अवस्थामा के मैनालीलाई विद्रोहको त्यो पुरानो ‘घाउ’ सकेसम्म कम सम्झन पाए हुन्थ्यो भन्‍ने लाग्छ ?

जवाफमा मैनाली ‘हो पनि’ भन्दैनन् र ‘होइन पनि’ भन्दैनन् । झापा विद्रोहको उठानदेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहको सरकारमा सामेल हुँदाको अवस्थासम्म मैनालीको राजनीतिक ‘ग्राफ’ निकै उतारचढावपूर्ण रह्यो । त्यसैले त उनको हकमा राजनीतिक आयामको औसत आकारभित्र पनि तीनवटा अलग-अलग घुम्ती बनेका छन् । झापा विद्रोह (विसं २०२८) देखि प्रजातन्त्रप्राप्ति २०४६/०४७ सम्मको अवधि मैनालीका लागि साँच्चै स्पाती थियो, कठोर थियो । चौध वर्षभन्दा बढी समय जेलमा बिताउनु परेको त्यो कठोर कालखण्डमा मैनालीले आफूलाई प्रखर वाम नेताका रूपमा चिनाउने मौका पाए  ।

झापा विद्रोहदेखि प्रजातन्त्र प्राप्तिसम्मको उन्‍नाइस वर्षे अवधिलाई राजनीतिक ‘क्रेज’का हिसाबले हेर्ने हो भने उनको त्यो स्वर्णिम समय थियो । मैनालीको राजनीतिक यात्रामा दोस्रो घुम्ती हो, २०५४ मा तत्कालीन नेकपा एमाले विभाजन । त्यसबेला एमाले फुटाउने कार्यमा वामदेव गौतम जत्तिकै आक्रोशित र उत्तेजित अर्को पात्रको नाम लिनुपर्दा राधाकृष्ण मैनालीकै आउँछ । एमाले फुटाएर नेकपा माले पार्टी बनाउन अरु धेरै नेता गणको सहयोग थियो, तर मैनाली र गौतमले पार्टी फुटाएर नयाँ पार्टीको नेता बन्‍ने कसम खाएकै कारण एमाले विभाजन भएको हो भन्‍ने आरोप लाग्ने गरेको छ ।

तर मैनाली भने यो आरोपसँग पटक्कै सहमत देखिएनन् । भन्छन्, ‘कमजोरी सबैबाट भए होलान् । सबैलाई मिलाउनुपर्ने नेतृत्वले उल्टै अल्पमतको गला निमोठ्न खोज्नु नै तत्कालीन पार्टी विभाजनको कारण थियो । त्यो फुटको मुख्य मतियार माधवकुमार नेपाल नै हुन् । महाकाली सन्धिका सन्दर्भमा म लगायतका साथीहरूको विरोध र फरक मतलाई जसरी कुल्चने काम भयो त्यो कुरा केपी ओलीले देखाएको बहुमतको दम्भ भन्दा झन् कठोर थियोे । त्यो कठोरता, असहिष्णुता र स्वार्थकेन्द्रित राजनीतिको नेतृत्व त माधवकुमार नेपालले गरेका थिए । माधव असहिष्णु र स्वार्थी राजनीतिका जनक नै हुन् ।’

माधवकुमार-झलनाथमाथि दोष-दोष
त्यसो त, राजनीतिक जीवनमा माधव-मैनालीबीच मिठासपन कहिल्यै भएन । उनी भन्छन्, ‘अल्पमतमा पर्दा र पेलिनु पर्दा कति सकस हुुँदो रहेछ, सायद माधवकुमार नेपालले महसुस गर्दै होलान् ।’ २०३९ सालमा चन्द्रप्रकाश मैनालीलाई मालेको महासचिवबाट हटाउनुका अतिरिक्त उनलाई केन्द्रीय सदस्यमा समेत स्थान दिइएन । उनका अनुसार, सीपी मैनालीलाई नेतृत्वबाट ‘च्युत’ गर्ने योजनाको सूत्रधार माधवकुमार नेपाल र झलनाथ खनाल थिए । सीपी मैनालीलाई च्युत गरेपछि माधव-झलनाथको हातमा आएको महासचिव पद झलनाथले पाए । महासचिवमा झलनाथ भए पनि पार्टीभित्र मिलाउने/भत्काउने, उठाउने/थेचार्ने चक्करमा सबैभन्दा सक्रिय माधव नेपाल नै थिए ।

सीपी एमालेमा नफर्किकनै ओझेल पर्दै गए म एमालेमा फर्किएर पनि ‘सौतेलो’ बन्दै गए ।

२०४६ भदौमा तत्कालीन मालेको सिराहामा भएको चौथो महाधिवेशनमा राधाकृष्ण मैनालीलाई केन्द्रीय सदस्यबाट वैकल्पिक स्थायी समिति सदस्य बनाउने पार्टी सल्लाह थियो । तर माधवकुमार नेपाल नै मैनालीका लागि ‘भिलेन’ भइदिए । जनआन्दोलन ०४६ को उठान, उत्कर्ष र यसको सफल अवतरणका बेला दरबारसँग वार्ता टोलीमा वाम घटकको तर्फबाट मैनाली सामेल थिए, तर चैत २७ गतेको विजय सभामा मैनाली नै मञ्चबाट  ‘लखेटिनु’ पर्‍यो । बहुदल प्राप्तिपछिको अन्तरिम सरकारमा जाने र संविधान मस्यौदा कमिटीमा बस्ने रोजाइमा पनि माधव/झलनाथको गठजोड हाबी भयो, मदन भण्डारीले त्यो कुरा पछि मात्र बुझे ।

२०५० जेठ ३ मा दासढुङ्गामा भएको जीप दुर्घटनामा मदन भण्डारीको अस्वाभाविक र अकल्पनीय निधन भएपछि त झन् माधवकुमार नेपाललाई शोक, संकट र सहानुभूतिसहित नेकपा एमालेको महासचिव पद ‘चिट्ठा’ पर्‍यो ।
२०५१ को मध्यावधि चुनावमार्फत बहुमत ल्याउन नसके पनि एमाले ठूलो दल बन्यो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको सरकारले एमालेलाई स्थापित र लोकप्रिय बनायो । ‘लोकप्रिय नौ महिने सरकार’ सञ्चालनबाट ओर्लिनासाथ एमालेका दुर्दिन सुरु भए । २०५४ को फागुनमा भएको पार्टी विभाजन विग्रहको उत्कर्ष बन्यो ।

त्यतिबेला एमाले विभाजन हुँदा वामदेव गौतम, आरके/सीपी मैनाली, साहना प्रधान लगायत अरु थुप्रै स्थापित र युवा नेताहरू मिलेर नेकपा माले पार्टी बनाए । विभाजनले स्वयं एमालेलाई त कमजोर बनायो नै । खुबै उत्साहसाथ ‘माले’ बनेका नेताहरू पनि २०५६ को निर्वाचनमा नराम्रोसँग पत्तासाफ भए । नेकपा मालेले देशैभर एक सिट पनि जित्न सकेन । उक्त विभाजनको बाछिटाले नेपालको समग्र राजनीति र संसदीय प्रणालीमै पर्‍यो ।

त्यसबखतको राजनीतिक बेमेलबारे मैनालीको निचोड पनि महाकाली सन्धिका कारणले पार्टी विभाजन भएको र त्यसले एमाले, माले दुवै पार्टीलाई भन्दा राष्ट्रिय राजनीतिलाई ज्यादा अहित गर्यो भन्‍ने नै छ ।‘नेकपा माले’मै बसिरहँदा पार नलाग्ने देखेपछि २०५८ मा एमाले/माले फेरि एक भए । तर सीपी मैनालीले माले छोडेनन् ।

सीपी किन एमालेमा फर्किएनन् त ?
आफ्ना अनुज सीपीबारे राधाकृष्ण मैनालीको बुझाइमा, ‘प्रथमतः, मेरो ‘क्रेज’ पञ्चायतकालमा झैँ छ । मालेलाई पञ्चायतको अवस्थामा जस्तै तेजिलो बनाउँछु भन्‍ने भ्रम पर्न गयो । दोस्रो के भने एक पटक माधव/झलनाथ खनालबाट ‘धोखा’ खाइसकेको मान्छे पुनः माधव नेपालको नेतृत्वमा फर्कन उनको ‘इगो’ले दिएन । सीपी एमालेमा नफर्किकनै ओझेल पर्दै गए म एमालेमा फर्किएर पनि ‘सौतेलो’ बन्दै गए । सातौँ महाधिवेशनमा मेरा समकक्षी सबै तेह्र जना स्थायी कमिटीमा अटाए । म अटिनँ । यो सबै माधव नेपालको डिजाइन थियोे । त्यो डिजाइनलाई केपी र वामदेव मौन समर्थन गरिदिए ।’

गुटमा नबस्नु, गुट नबनाउनु वा सिंगो पार्टीमै अट्न नसक्नु, राधाकृष्ण मैनाली कस्तो फरक ‘प्रजातिको’ राजनीतिज्ञ हो ? मैनालीको कमजोरी के हो ? यो जिज्ञासाबारे उनी भन्छन्, ‘पहिलो कुरा मैले बारम्बार भनेको छु र भनिरहन्छु पनि राजनीतिमा मैले सबैभन्दा बढी धोका माधव नेपालबाट पाएको छु । त्यसैले एकै शब्दमा माधव नेपालको कमजोरीबारे भन्छु, उनी निकै सानो चित्त भएका नेता हुन् । दोस्रो व्यक्ति अगाडि बढेर मलाई ‘टप्छ’ कि भन्‍ने ‘इन्फियरिटी कम्प्लेक्स’बाट सधैँ चलिरहे । ओलीसँगको ‘अपमान’विरुद्धको लडाइँ पनि उनको त्यही कम्प्लेक्सको परिणाम हो ।’

आफ्‍नै कमजोरी
अब कुरा उनका कमजोरीबारे । उनकै शब्दमा, ‘मैले मेरो राजनीतिक जीवनमा गुटमा सामेल भइनँ, गुटमा बसिनँ वा म शतप्रतिशत सही थिएँ भनी बताउँदै हिँडेँ भने त्यो मैमाथिको ठट्टा हुनेछ । राजनीतिक जीवनमा कतिपय स्वभावजन्य कमजोरी भए होलान् । म, केपी, मोहनचन्द्र अधिकारी लगायतका नेताहरू लामो जेल जीवन र गोलघरको ‘कालकोठरी’ भोगेकामध्ये परियो । झलनाथ जेल परे पनि झापाबाटै रिहा भए । माधव चाहिँ जेल बस्नु परेन । पञ्चायतको बेला भूमिगत नै संगठनमा भित्र-भित्र घुस्न पाए । त्यसैले होला माधव बाठो र फाइदा आँकलन गर्न सक्ने संगठक भएर निस्किए । हामी, (हामी नभनौँ म) अलि ‘स्ट्रेट फर्वाड’ खाले । सिंगो पार्टीभित्र होस् वा गुटमा आफ्नो स्वार्थ रक्षाका लागि तिकडम गर्न नसक्ने वा नजान्‍ने । मेरो कमजोरी यही हो ।’

माधव नेपालले पहिला माले र पछि एमालेको राजनीतिमा निकै नै ‘खुरापाती’ खेल खेलेका छन् । म भुक्तभोगी र साक्षी दुवै हुँ । त्यसैले म निर्धक्कसँग भन्छु, माधव नेपाल मेरा लागि ‘धोखेबाज’का सरदार हुन् ।’

उनका अनुसार, विभाजित एमाले-माले एकीकरणका दौरानमा सम्मानजनक भूमिका दिनेबारे एमाले नेतृत्वमा बसेका माधवले सबै मालेका साथीहरू र मलाई व्यक्तिगत रूपमा पनि मीठो आश्वासन दिए । तर मेरो हकमा माधवका वचन झूठा साबित भए । आफ्नो स्थान जोगाउन नेतृत्वसँग मुलाहिजा गर्नुको सट्टा मैले आफ्ना असन्तुष्टिहरू भन्‍न थालेँ, लेख्न थालेँ । त्यति मात्र नभएर उः बेलाको माओवादी सशस्त्र द्वन्द्वलाई समाधान गर्ने सन्दर्भमा पनि मेरो सोच फरक थियो । दरबार र माओवादीलाई विश्वासमा लिएर एमालेले बीचको बाटो निर्धारण गर्नुपर्छ भन्‍ने मेरो धारणा थियो । तर मेरा यिनै धारणा मलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गराउने अस्त्र बन्यो । ममाथि अनुशासनको डण्डा चलाइयो । थोरै मेरा कमजोरी र धेरै माधव नेपालको पूर्वाग्रहका कारण म पार्टीविहीन बनेँ । मनमोहनलाई समेत अक्करमा पार्न बाँकी नछाड्ने माधव नेपालका लागि म मैनाली झन् आमापट्टिको न, मामापट्टिको ।’

अनि माधव नेपालमाथि मैनालीले लगाएका आरोप पत्याउनैपर्ने आधार के त ?
‘२०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारको कुरा गरौँ, प्रधानमन्त्री मनमोहन भए पनि छायाँ प्रधानमन्त्री माधव नै हुन् भन्दा हुन्छ । प्रधानमन्त्री बन्‍न प्रतिनिधि सभा सदस्य हुनैपर्ने संवैधानिक व्यवस्थाको बन्धनले बाँधिएका कारण मात्र माधव उप-प्रधानमन्त्रीमा बस्न बाध्य भए । अन्यथा, मनमोहनलाई प्रधानमन्त्री बन्‍न माधवले कुनै हालतमा दिने थिएनन् । त्यस बेलाको परम्पराअनुसार रक्षा मन्त्रालय प्रधानमन्त्री मातहत रहने प्रावधान थियो । तर उक्त परम्परा लत्याउँदै रक्षा मन्त्रालयसमेत आफूले लिएर मनमोहन अधिकारीलाई मन्त्रालयविहीन र ‘डमी’ प्रधानमन्त्री बनाउने माधव नै हुन् ।’

मैनालीले यसो भनिरहँदा केही समयअघि इकागजमा प्रकाशित ‘सात जना प्रधानमन्त्रीहरूसँंग काम गर्दा’ शीर्षकको संस्मरण आलेखमा पूर्वसचिव शारदाप्रसाद त्रितालले पनि मनमोहनको प्रधानमन्त्री भूमिकाबारे ठ्याक्कै यस्तै अनुभव सार्वजनिक गरेका थिए । त्यस हिसाबले पनि मैनालीले माधवकुमार नेपाललाई लगाएको आरोपको ‘हिसाब’ मिल्न आउँछ ।

ज्ञानेन्द्रसँग घाँटी जोड्नु चाहिँ
‘कम्युनिस्ट आन्दोलनको गठिलो पृष्ठभूमिलाई तीलाञ्जलि दिएर ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्‍न जानुमा पनि त माधवकै हात हो त ?’ प्रश्न गरिरहँदा जवाफमा मैनालीले भनेका दुई कुरा मात्र जोड्छु यहाँ ।

पहिलो : माधव नेपालले पहिला माले र पछि एमालेको राजनीतिमा निकै नै ‘खुरापाती’ खेल खेलेका छन् । म भुक्तभोगी र साक्षी दुवै हुँ । त्यसैले म निर्धक्कसँग भन्छु, माधव नेपाल मेरा लागि ‘धोखेबाज’का सरदार हुन् ।’

दुई : पार्टीभित्र निरन्तरको पेलाइले गर्दा म एक्लिँदै गएको थिएँ । सायद, मेरो सोचले पनि केही विकल्प खोजिरहेको थिए, यत्तिकैमा ज्ञानेन्द्रले शासन प्रत्यक्ष आफ्नो हातमा लिए ।

दरबार (राजावादी), दलहरू (संसद्वादी) र माओवादीको त्रिपक्षीय चेपुवामा परेको देशमा ज्ञानेन्द्रको कदमले द्वन्द्व व्यवस्थापनको केही मध्यमार्गी बाटो निकाल्छ कि भन्‍ने ‘शंकाको लाभ’ मेरो दिमागमा खेल्यो । कदाचित् माओवादी द्वन्द्व र राजनीतिक अस्थिरता अन्त्य भयो भने त त्यही ‘जस’कै आधारमा राजनीतिक पेन्सन खाएर बसौँला भन्‍ने मलाई लाग्यो । तर मेरो त्यो भ्रम टुट्न ज्ञानेन्द्र अध्यक्ष रहेको मन्त्रिपरिषद्का धेरै बैठक कुर्नु परेन । ज्ञानेन्द्रको योजनामा म नराम्रो गरी झुक्किएँ, शाही सरकारमा जानु मेरा लागि ‘राजनीतिक डोपिङ’ भयो । 

‘डोपिङ’ काण्डमा परेका खेलाडीले पाएका पदक पनि खोसिएझैँ आन्दोलनबाट प्राप्त मैनालीका उपलब्धि पनि अपनत्वबाट खोसुवामा पर्दै-पर्दै गए । मैनालीका लागि राजनीतिको यो तेस्रो घुम्ती आफ्नै इतिहासको कलमी गर्ने हतियार बन्यो ।

दोस्रो जनआन्दोलनपछि मैनाली
प्रचण्डसँग सहकार्य गर्न माओवादी पनि बने । तर जिम्मेवारी पाएनन् । जिम्मेवारी त परको कुरा माओवादीको हेटौँडा सम्मेलनमा ‘निम्तो’समेत आएन । फेरि एमालेकै शुभचिन्तक बनेर फर्किए । एमालेको नेतृत्वमा केपी ओली आएपछि राजनीतिमा पुनरागमनको ढोका खुल्छ कि भन्‍ने लागेको रहेछ । ओलीले पनि भनेका थिए, ‘म तपाईंका लागि स्थान बनाउँछु ।’ तर त्यो आश्वासनबाहेक केही भएन ।

ओलीको पछिल्लो कार्यकालमा मैनाली खुबै आलोचक बनेर निस्किए । आलोचनाको अन्तर्य गुण-दोषका आधारमा थियो वा ओलीले स्थान नदिएकामा पूर्वाग्रही आक्रोश र त्यसैको ‘साइडइफेक्ट’ ? त्यसमा बन्दी जीवनका सन्‍निकट मित्र ओलीमाथि आक्रोशबारे सफाइका सट्टा उनले एउटा किस्सा सुनाए, ‘म, ओली, मोहनचन्द्र लगायतका राजनीतिक बन्दीहरू केन्द्रीय कारागारमा थियौँ । जेलको चौकीदार करवीर थापा र भाइ चौकीदारमा सुमन्त पोखरेल नामक दुई पात्र थिए । कारागारभित्रको आन्तरिक व्यवस्थापनमा चौकीदारको दबदबा चल्थ्यो । चौकीदारको आदेशमा भाइ चौकीदारले कुट्ने, पिट्ने, थर्काउने सबैथोक गर्थ्यो । २०३६/२०३७ सालतिर कैद सकिएर करवीर थापा रिहा भएपछि सुमन्त भाइ चौकीदारबाट चौकीदारमा बढुवा भयो । हिजो भाइ चौकीदार हुँदा त्यति विघ्‍न कुटपिट गर्ने सुमन्त अब चौकीदार नै भएपछि के-के गर्ने हो ? कैदीहरू सशंकित भए । तर सुमन्तमा नाटकीय परिवर्तन आयो । हिजो मैले गरेका दादागिरी, अत्याचार सबै नाइके करवीरको अरनखटनमा बस्नुपर्दा उसकै आदेशमा गरेको हुँ । अब म नाइके भएपछि त्यो काम मबाट हुँदैन है, भन्दै कैदीहरूसँग नम्र रूपमा प्रस्तुत हुन थाले । त्यसपछि सुमन्त त कारागारमा हिरो भए ।’

उनले भने, ‘ओलीलाई पनि पार्टीको ‘भाइ चौकीदार’ हुँदा ‘चौकीदार’ (माधव नेपाल)ले गरेका/गर्न लगाएका अनेकन् गल्तीहरूलाई चौकीदार (पार्टी अध्यक्ष र प्रधानमन्त्री) बनेपछि सुमन्तको शैलीमा सच्याउने अवसर थियो । तर ओलीले आफैँले देखेको/भोगेको सामान्य पात्र ‘चौकीदार सुमन्त’ले जति पनि विवेक पुर्‍याउन सकेनन् ।’

मैनाली थप्छन्, ‘ओलीमा देखिएको गुट र दाउपेचका राजनीतिक संस्कारका गुरु माधव नेपाल नै हुन् । ओलीविरुद्ध माधव नेपालको छटपटाहट विगतमा माधवकै स्वभावहरूको बुमर्याङ हो ।’ एमालेमा अब ओली, नेपाल, खनाल, गौतमले एकैपटक अवकाश लिनुपर्ने बहस चलिरहँदा उमेरले ७५ वर्ष पुगेका मैनालीलाई अब सक्रिय राजनीतिमा पुनरागमनको सम्भावना छ कि छैन भनी सोध्नु नै आफैँमा ‘प्रहसन’ र विरोधाभाष हो । त्यसैले यो प्रश्न नसोधीकनै मैले आफ्नै मनबाट खारेज गरिदिएँ ।

‘लुटिएका दुई थुँगा फूल’, ‘बन्दी रहर’, ‘मेरो अतीत मेरो सपना’ र ‘नलेखिएको इतिहास’ लगायतका पुस्तकहरूका लेखक मैनाली अखबारी आलेखमा पनि देखिन्थे । तर आजकल उनको लेखनमा ‘पूर्णविराम’  लागेको छ, किन होला ?

भन्छन् ‘हाम्रो पुस्ताका राजनीतिक सहकर्मीमध्ये कम्प्युटर टाइपमा अभ्यस्त प्रदीप नेपाल मात्र हुन् । म आफँै टाइप गर्न सक्दिनँ । सचिवालय खडा गर्ने, सहयोगी राखेर लेखाउने/छपाउने गर्न खर्च धान्‍न सक्दैन ।’

पैसाको कुरा आएपछि मैनाली एकैछिन आफ्नै दुखेसोमा घुम्छन् । उनी भन्छन्, ‘राधाकृष्ण मैनालीलाई झापाको हैसियतमा चिन्‍ने तप्का त सीमित छ । सीतापाइलास्थित दुई रोपनी जग्गा, फूलबारीसहितको शान्त घरमा बसेको देख्दा अरु राजनीतिक पात्रलाई झैँ मलाई पनि भन्दा हुन्, पटक-पटक मन्त्री भएको मान्छेको त्यति पनि नहोस् त । तर यथार्थ निकै फरक छ ।’

उनी थप्छन्, ‘पिता धनपति मैनालीले झापामा जोडिदिएको सत्तरी बिगाहभन्दा धेरै जमिनको उत्तराधिकारीमध्येको एक । आज मसँग झापामा अब एक बिगाह मात्र जमिन छ । दैनिक खर्चका लागि ‘अमेरिकी एनआरएन’ छोरा दिनेशले धानेको छ । प्रत्येक एक दुई वर्षको अन्तरमा झापामा बचेको जग्गा एक/एक कठ्ठा बेच्दै आफ्नो सामाजिक खर्च व्यवस्थापन गर्छु ।’

ज्ञानेन्द्रको योजनामा म नराम्रो गरी झुक्किएँ, शाही सरकारमा जानु मेरा लागि ‘राजनीतिक डोपिङ’ भयो । 

कुरा जति गरे पनि सकिँदैनन् । अब कम्युनिस्ट राजनीतिको ‘मियो’तर्फ फर्कौं ।

नेकपा एमालेको जारी किचलोलाई लिएर केही दिनअघि विश्लेषक मुमाराम खनालले ट्विटमा लेखेका थिए, ‘ओली पक्षले भने जस्तै माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई समाप्त पारे वा नेपाल पक्षले भनेजस्तै ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पारे । थाहा छैन । तर म दुवै पक्षलाई विशेष धन्यवाद दिन चाहन्छु । किनकि दुवैले गरेको यही हर्कत नै कम्युनिस्ट आन्दोलन हो भने यो समाप्त पार्नलायक छ ।’

खनालको यो टिप्पणीलाई ‘कम्युनिस्ट आन्दोलनका’ नाममा एमालेभित्रको किचलोलाई उधिन्‍ने सबैभन्दा कठोर विम्ब मान्दा हुन्छ ।

नेपालमा कम्युनिस्ट अभियन्ताहरूले पार्टी निर्माण गर्न निकै मेहनत गरे । देशमा शासकीय व्यवस्था परिवर्तन गर्न कठोर संघर्ष गरे । जनमतका आधारमा पटक-पटक देशको ठूलो पार्टी बन्‍ने अवसर पनि पनि प्राप्त गरे । तर जब जनमतबाट राज्य-सत्ता सञ्चालनको जिम्मा आइपुग्छ तब आफ्नै पार्टीको आन्तरिक किचलोका कारण बेमेलको उत्कर्षले छोइहाल्छ । 

जनतालाई ‘डेलिभरि’ दिने बेलामा झगडा गरिरहनुपर्ने ? के त्यस्तो रोग छ कम्युनिस्टभित्र ? समस्याको चुरो सिद्धान्त हो या नेतृत्वमा पुगेका व्यक्तिको स्वभाव ? तर्कका शब्दजालमार्फत बेमेललाई सैद्धान्तिक जामा पहिर्‍याए पनि झगडाको अन्तर्य व्यक्तिगत लाभ-हानि र इगो नै हो । यो कुरा सबैलाइ थाहा छ ।

‘कम्युनिस्टहरू’ किन संघर्षको ‘लिगेसी’ बमोजिम टिकिरहन सक्दैन ? किन कम्युनिस्टलाई सफलताको उचाइ फाप्दैन ? नेतृत्वमा पुग्नासाथ किन असहिष्णु बनिहाल्छन् ? किन अन्तर-संघर्षको बाहनामै कम्युनिस्ट शक्तिको ‘मलिक्युल्स’ सकिन्छ त ?

राजनीतिमा थोरै मात्र चासो राख्नेका लागि यो जिज्ञासा स्वाभाविक हो । र, कम्युनिस्ट राजनीतिको गुण-दोष र स्खलनको अलिकति हिस्सेदार बन्‍नबाट राधाकृष्ण मैनाली पनि उम्कन पाउँदैनन् ।

(लेखक स्वतन्त्र पत्रकार हुन् ।)


Author

शुभाषचन्द्र पोख्रेल

पोख्रेल स्वतन्त्र पत्रकार हुन् ।


थप समाचार
x