वार्ता

इकागज संवादमा हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा

'हेलम्बू र मेलम्चीमा ठूलो पहिरो आउनै बाँकी छ'

‘क्षति रोक्न तत्कालै खोलाको बस्ती सार्ने र तारजाली आवश्यक छ’

इकागज |
साउन १९, २०७८ मंगलबार १७:१७ बजे

काठमाडौँ : भेम्राथाङमा गएको पहिरोले गर्दा मेलम्ची र हेलम्बूमा बाढी आएको पुष्टि भएको छ । हेलिकोप्टर चार्टर्ड गरेर हेलम्बू गाउँपालिकाका अध्यक्ष निमा ग्लाल्जेन शेर्पा पहिरोको मुहान ‘भेम्राथाङ’मा पुगेर यसको तथ्य बाहिर ल्याएका हुन् । शनिबार राति आएको पहिरोले मेलम्ची र हेलम्बूका थप डेढ दर्जन घर बगाएपछि आइतबार बिहानै शेर्पा हेलिकप्टर चार्टर गरेर भेम्राथाङमा पुगेका हुन् । भेम्राथाङ त्यही ठाउँ हो, जहाँ असार १ गते पहिरो जाँदा हेलम्बू, चनौटे, किउलसँगै मेलम्ची बजार बगरमा परिणत भएको थियो । त्यतिबेला पहिरोमा हराएका २१ जनामध्ये धेरैजसो अहिले पनि बेपत्ता छन् । त्यतिबेलादेखि नै रहस्यमा रहेको भेम्राथाङ पहिरो, त्यसले गरिरहेको क्षति र आगामी जोखिमका विषयमा हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग इकागजले गरेको कुराकानी  : 

हेलिकप्टरमा भेम्राथाङ पुगेर फर्किनुभयो, पहिरोले थप क्षति गर्ने सम्भावना कति छ ?


अहिले आएको पहिरो २० देखि २५ प्रतिशत मात्रै हो । दोस्रोपटक पहिरो गएपछि हामीले हेलिकप्टर लिएर भेम्राथाङ पुग्दा पहिरो खसिरहेको थियो । यो रोकिनै कुनै सम्भावना छैन । यदि भेम्राथाङ माथिको डाडा पहिरोले खस्यो भने यो भन्दा ठूलो क्षति हुन्छ । गएको असार १ गते आएको पहिरोले गरेको क्षति झन् बढ्ने अवस्था आएपछि हामी हेलिकप्टर चार्टर्ड गरेर गएका हौँ । वास्तविकता बुझेर आएपछि अब त्यही अनुसार काम गर्छौ ।

कस्तो काम गर्नुहुन्छ ? पहिरोबाट जोखिमयुक्त बस्तीलाई कसरी जोगाउने ?

पहिरो आउनै बाँकी छ । यो त अहिले खसिहालेको पहिरो हो । ठूलो पहिरो आउनै बाँकी रहेकाले तत्कालका लागि खोला तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुबाहेक अर्को विकल्प छैन । पहिरो कहिले, कसरी र कुनबेला खस्ने हो, केही टुंगो छैन । त्यसलाई रोक्ने र नियन्त्रण गर्ने क्षमता हामीसँग छैन । प्राकृतिक विपद्को पूर्वतयारी र सामना गर्नुको विकल्प नभएकाले अब हामीले खोला छेउका बस्तीलाई सुरक्षित स्थानतर्फ सार्नतिर लाग्छौ । कम्तीमा मानवीय क्षति नहोस् भन्ने हाम्रो चाहना छ ।

यसरी पहिरो खस्‍नुको मुख्य कारण के हो ?

पहिरो खस्‍नुको मुख्य कारण भेम्राथाङ बालुवा भएको ठाउँ हो । भेम्रा भनेको बालुवा र थाङ भनेको चौर भन्ने हाम्रो बुझाइ छ । यसअघि विज्ञहरुले पनि त्यो ठाउँको माटो अथवा बालुवा पहिरो जाने खालको ‘कालो माटो’ भन्छन् । जहाँ पहिरो जाने खालको हुन्छ । यो पनि त्यसैको उपज हो । हामीले केही समय त्यहाँ बस्दा पहिरो खसिरहेको थियो । त्यो रोकिने खालको छैन । भूकम्पले गर्दा, वर्षाले गर्दा, अझै पानी पर्न बाँकी छ । यस्तै यस्तै कारणले पहिरो गइरहेको देखिन्छ । यो रोकिने खालको पहिरो होइन, अझै ठूलो जनधनको क्षति हुने जोखिम छ । त्यसैले सतर्क हुनुको विकल्प छैन ।

जोखिमयुक्त बस्तीलाई  सुरक्षित स्थानमा कसरी सार्ने तयारी छ ?

अहिलेसम्म हामी पहिरो कसरी गयो भन्ने कारण खोज्नमै रुमल्लियौँ । तर वास्तविकता बुझेपछि अब क्षति कम गर्ने प्रयास गर्नतिर लाग्छौँ । यसका लागि गृहमन्त्री, गृहसचिव लगायत सबै सरोकारवालालाई भेटेर जानकारी गराएको छु । उहाँहरुबाट आवश्यक सहयोगको प्रतीक्षा पनि छ । तत्काललाई खोलातिरको बस्तीमाथि सुरक्षित स्थानतिर सार्नुपर्छ । र हिउँद लागेपछि खोलामा तारजाली हालेर खोला तथा नदीको कटान रोक्नुपर्छ । योभन्दा अर्को उपाय तत्कालका लागि देखिदैन । 

अहिले बाढी र पहिरोले गर्दा सडक सम्पर्क टुटेको छ । यसका लागि चिसापानी भएर वैकल्पिक बाटो खोलेका छौँ । भूगर्भविद्को टोली पहिरोको मुहानसम्म पुग्न सकेको छैन । त्यो टोलीलाई त्यहाँ पुर्याउने प्रयास गर्नेछौँ । त्यसपछि जति सक्दो छिटो खोला क्षेत्रको मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारेर क्षति घटाउने, विपद्को पूर्वतयारी गर्ने र पहिरोबाट सुरक्षित रहने कोसिस गर्छौ । त्यसका लागि सबैको सहयोग जुटाउने प्रयासमा छौँ ।
 


Author

थप समाचार
x