वार्ता

इकागज संवाद

फिल्म पैसाका लागि हैन, अभिव्यक्तिका लागि बनाउँछु

सामीप्यराज तिमल्सेना |
मंसिर ११, २०७८ ८:३३ बजे

सौरभ राई भारतमा बसेर नेपाली फिल्म बनाउने निर्माता तथा निर्देशक हुन् । भारतको कालिम्पोङमा जन्मिएर ललितपुरको लगनखेलमा हुर्किएका सौरभले ‘बर्खे झरी’, ‘गुँड’, ‘निम्तो’ आदि फिल्म निर्देशन गरेका छन् । भारतको राष्ट्रिय अवार्ड विजेता गीताञ्जली थापा र नेपाली अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म ‘जार’का क्रियटिभ प्रड्युसर पनि हुन् । कलकत्ताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट पटकथा र निर्देशनमा ग्रयाजुएट सौरभ राईले चाँडै ‘गुराँस’नामको फिल्म निर्देशन गर्दैछन् । यो फिल्मले केही समयअघि मात्र लेखनका लागि नेदरल्यान्डको हुबर्ट बल्स फन्डबाट १० हजार युरो जितेको थियो । यिनै सौरभ राई केही दिनका लागि काठमाडौँ आएका थिए । काठमाडौँ आएको मौका छोपी इकागजका सामीप्यराज तिमल्सेनाले भारतमा नेपाली फिल्मको गतिविधि र सौरभको नयाँ नेपाली फिल्म ‘गुराँस’का सम्बन्धमा गरेको छोटो कुराकानी :

के-कति कामले काठमाडौँ आउनुभयो ?
फिल्मकै सिलसिलामा भनूँ । अब मैले बनाउने फिल्म ‘गुराँस’को प्रिप्रडक्सन चलिरहेको छ । चाँडै सुटिङ गर्ने कि भन्‍ने सोचिराको छु । अब यसमा राम दाइ (रामकृष्ण पोखरेल, आइसफल प्रडक्सन) र म मिलेर काम गरिरहेका छौँ । दाइसँग सल्लाह गरौँ भनेर आएको ।


कास्टिङका लागि पनि त होला नि ? 
हजुर । कथामा यताको कलाकार पनि अटाउने ठाउँ छ, कुरा मिल्यो भने उहाँसँग पनि काम गरौँ भन्‍ने अभिप्राय पनि हो । 

कसैसँग कुरा मिल्यो ? 
हैन, अहिले त एकदमै प्रारम्भिक कुरा भइरहेको छ । मैले रामदाइलाई कथाले यस्तो यस्तो कलाकार माग्छ भनेर भनेको छु । उहाँले भेटाउने चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ । अहिले नै त कसैसँग पनि कुरा मिलिहालेको छैन । आशा छ, एक दुई जनासँग त पनि मिलिहाल्ला । 

मैले जेनरलाइज गरेको हैन तर दार्जिलिङ कालिम्पोङको मान्छेको रुचि ज्यादाजसो संगीतमा देखिन्छ । तपाईं कसरी सिनेमातिर आकर्षित हुनुभयो ? 
म सानोमा नेपालको लगनखेलमा हुर्किएको हुँ । मेरो बाजे ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो र म १४ वर्षको हुँदासम्म लगनखेलमा बसेको हुँ । यो समयमा मैले थुप्रै हिन्दी फिल्म हेरेँ । केही नेपाली पनि हेरेको सम्झना छ, खासगरी श्रीकृष्ण श्रेष्ठको । बाजेको पेन्सन भएपछि हामी कालिम्पोङ फर्कियौँ । कालिम्पोङमा स्कुल सकाएपछि मैले दार्जिलिङमा मास कम्युनिकेसन लिएर पढेँ । यो बेलामा यतिकै खेलाँची गरी बनाएको भिडियोले पुरस्कार जितेपछि ए गाँठे फिल्ममेकर बन्‍नुपर्छ कि जस्तो लाग्यो । यसपछि म पुना पुगेँ । पुनाको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट चैं होइन । छेउछाउको इन्स्टिच्युटमा एक वर्ष बिताएँ । यही बेला कलाकत्ताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटमा नयाँ सेसनका लागि एडमिसन खुलेको थाहा पाएपछि त्यहाँ इन्ट्रास दिएँ र मैले छात्रवृत्तिमा ३ वर्षको कोर्स गर्ने मौका पाएँ । यही रहँदा ख्यालख्यालमा बनाएको सर्ट फिल्म विदेशको प्रतिष्ठित फेस्टिभलमा छानिएपछि हौसियर फिल्ममेकिङतिर लागियो जुन अब चलिरहेको छ ।

के यो ‘बर्खेझरी’को कुरा हो ?
हजुर । यो यस्तो भयो कि पढिरहँदा जोसमा मैले ‘बर्खेझरी’ बनाएको थिएँ । कोलकात्तामा खिच्नु थियो तर मेरो कलाकार थियो, कालिम्पोङको । अनुभवका लागि भनेर जसोतसो बनाएका थियौँ तर यो फिल्म त जर्मनीको म्युनिख फिल्म फेस्टिभलमा छानियो । ग्रयाजुएसन प्रोजेक्टका रूपमा बनेको ‘गुँड’ कान्समा छानियो । यसपछि त खतरा फिल्म बनाउँछु भनेर लागेको त्यो फिल्म चैं अहिलेसम्म बनाउन सकिनँ । 

कुन फिल्म थियो यो ?
यो थियो ‘अनन्त’ शीर्षकको । ख्याल ख्यालमै बनाएका दुइटा फिल्म विश्वको ठूलठूलो फेस्टिभलमा छानिएपछि राम्रै फिचर फिल्म बनाउँछु भनेर एकदमै मेहनत गरेर यसको स्क्रिप्ट लेखेँ । तर कसैगरी पनि यसका लागि लगानी जुटाउन सकिनँ । मैले चारपाँच वर्ष यो फिल्ममा बर्बाद गरेँ । धेरै सोचेर हुँदैन पो रैछ भन्‍ने लागेपछि ‘निम्तो’ बनाको त्यो फेरि संसार घुम्यो । 

केही न केही त थियो होला नि फिल्ममा । यत्तिकै त मन पराएन होला नि ?
कस्सम, तपाईँ पत्याउनुहुन्‍न, यो फिल्म त मैले पटकथा पनि नलेखी बनाको । कलाकार जम्मा गरेँ, कथा यस्तो यस्तो छ भनेर सुनाएँ । छायाँकारलाई पनि त्यही भनेँ । लोकेसनमा गयो, सल्लाह गरेर जेजे ठीक लाग्छ गर्यो । यसरी बनाएको फिल्मले भारतको मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनराइटिङमा जुरी अवार्ड जित्यो । एनएफडीसी फिल्म बजारमा पनि एप्रिसिएसन अवार्ड जित्यो । त्यसअघि फिल्म रोट्रेड्याम ल्याबमा पनि छानिएको थियो ।  अब अहिले चाहिँ ‘गुराँस’ बनाउने तरखर गर्दैछु । 

यो पनि विनास्क्रिप्ट नै खिच्‍ने त होइन नि ? 
हैन यसमा त स्क्रिप्ट छ । स्क्रिप्ट थियो र त हुबर्ट बल्स फन्ड जित्यो नि । मैले ‘निम्तो’को कुरा किन गरेको भने यो फिल्ममेकिङ भनेको अनिश्चितताको कला हो । के काम गर्छ के गर्दैन, थाहै हुन्‍न । 

दार्जिलिङ, कालिम्पोङ, सिक्किमबाट थुप्रै नयाँ फिल्ममेकर आइरहनु भएको छ जसले नेपाली भाषामा फिल्म बनाइरहनु भएको छ । तर हामीले हेर्दा भारतमै नेपाली फिल्मको व्यावसायिक बजार छैन । लामो समय जाने के उपाय छन् त्यहाँ  ? 
व्यक्तिगत रूपमा मलाई भन्‍नुहुन्छ भने म त पैसाका लागि फिल्म बनाउँदिनँ । त्यसैले म फिल्मले भोलि कहाँबाट पैसा कमाउला भन्‍ने पिर पनि गर्दिनँ । यसमा हाम्रो अति आदरणीय साहित्यकार इन्द्रबहादुर राईले भनेको कुरा सम्झन्छु । साहित्यका पाठक कम हुँदै गए नि भन्‍ने कसैको प्रश्नमा उहाँको उत्तर थियो, ‘चाँपलाई गुराँसले फुल्न सिकाउनु पर्दैन न त चाँपले गुराँसलाई नै सिकाउनु पर्छ । चाँप आफैँ फुल्छ, गुराँस आफैँ फुल्छ ।’ म त अभिव्यक्तिका लागि फिल्म बनाउँछु । बाँकी देखाजाएगा । 

तपाईँ त मुम्बई बसेर नै फिल्मकर्मलाई अगाडि बढाइरहनु भएको छ । तर मुम्बइया फिल्ममा नेपाली भाषीको प्रतिनिधित्व सही नभएको दृष्टान्त प्रशस्त छन् । जस्तो ‘पाताल लोक’ सिरिज त यही कारणले विवादमा नै आएको थियो । तपाईंको व्यक्तिगत अनुभव के छ ?
मैले व्यक्तिगत रूपमा नै यस्तो विभेद खप्नुपरेको छैन तर अरुले पनि खपिरहेको छैन भन्‍ने म मान्दिनँ । मेरो फेलो फिल्मकर्मीले खप्नुभएको पनि हुनसक्छ । यसमा मेरो भनाइ छ, हामी फिल्मकर्मी कुनै पनि समुदायको स्टेरियोटाइप सोचबाट बाहिर निस्कन पर्छ । 

अब थोरै ‘जार’को कुरा गरौँ, तपाईं यो फिल्मको क्रिएटिभ प्रोड्युसर हुनुहुन्छ । नेपालका र भारतकै पनि उत्कृष्ट कलाकारले अभिनय गर्नुभएको छ । नेपालमा यो फिल्म कहिले रिलिज हुन्छ ? 
मैले यो फिल्मको क्रिएटिभ पार्ट मात्र हेरेको हो । हेरेको पनि के भन्‍नुँ, दाइहरूसँग सहकार्य गरेको हो । यसको रिलिजको कुरा सबै निर्देशक फुर्वा दाइ (निर्देशक फुर्वा छिरिङ लामा)ले नै हेर्नुहुन्छ । दाइ केही केही दिनमै काठमाडौँ आउँदै हुनुहुन्छ । 

अब ‘गुराँस’ चाहिँ कहिले सुटिङमा जान्छ र कहिलेसम्म हेर्न पाइन्छ ?
सबै कुरा मिल्यो भने फ्रेब्रुअरीमा सुटिङमा जाने सोच छ । अब कहिले तयार भएर हलमा रिलिज गर्न सकिन्छ त्यो भन्‍नलाई त समय छ ।
 



Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार