वार्ता

खै ! मन्त्री ज्ञवालीले आफैँले समय मिलाएर प्रधानमन्त्री मोदीसँग भेट्‍नु भएको भए जानकारी भएन

चन्द्रशेखर अधिकारी |
माघ ३, २०७७ शनिबार १५:३३ बजे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण सम्पन्‍न गरेर अबको केहीबेरमा काठमाडौँ ओर्लदैछन् । उनको भ्रमण सम्पन्‍न गराएर दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्न जाँदै गर्दा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले इकागजका चन्द्रशेखर अधिकारीसँग भने, ‘नेपाल र भारतबीच देखिएको उतारचढावलाई एउटा सरल रेखामा लैजाने काममा यो भ्रमण सफल प्रायः छ ।’ भ्रमणले नेपाललाई आवश्यक पर्ने भ्याक्सिन (खोप) समेत उपलव्ध गराउने र स्पष्ट नभएका विषय प्रष्ट पार्ने काम गरेको धारणा प्रशन्‍न मुद्रामा बताउँदै भने, ‘मन्त्री जी केहीबेरमा काठमाडौँ पुग्‍नुहुन्छ कतिपय कुरा उहाँ स्वयंले राख्नु होला ।’ संक्षिप्त टेलिफोन संवादको सार :
 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण सम्पन्‍न भएको छ । यहाँले यो भ्रमणको समीक्षा कसरी गर्नुहुन्छ ? 
नेपाल र भारतबीचको सम्बन्धमा लामो उतारचढावपछि पछिल्लो एक वर्षयताको यो सबैभन्दा माथिल्लो स्तरको भ्रमण हो । हुन त यसअघि भारतबाट नेपालतर्फ भ्रमण भए । तर, नेपालबाट भारततर्फ राजनीतिक तहमा भ्रमण भएको थिएन, पछिल्लो एक वर्षयता । यो भ्रमणले दुई मुलुकबीच निकटता बढाउने र सहकार्यमा थप अग्रसरता दिने विषयमा ऊर्जा मिलेको छ । भ्रमणले नेपाल र भारतबीचको दुईपक्षीय संयन्त्रहरूको बैठकलाई समीक्षा गर्दै त्यस्ता बैठक नियमित गराउने विषयलाई अघि बढाएको छ । कोभिड-१९ विरुध्दको सहकार्य अन्तर्गत भारतसँग हामीले भ्याक्सिन (खोप) पाउने भएका छौं । नेपालको आग्रहलाई भारतले स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको छ । यो हाम्रो लागि निकै सुखद समाचार हो । हुनत, खुला सीमा भएकाले भारतबाट त्यो प्रकारको सहयोग आउन आवश्यक पनि थियो । धेरै विषयमा दुई पक्षीय समझदारी बढाउने काम भ्रमणले गरेको छ । समग्रमा, यो भ्रमणलाई म सफल भ्रमणकै रूपमा हेर्छु ।

भ्रमणमा सीमा विवादको विषय उठेन भनेर आइरहेको छ नि ? 
त्यस्तो होइन । सीमाको विषयमा छलफल भएको छ । त्यसलाई कसरी राख्‍ने के गर्ने भन्‍ने विषय हो । हामीले वक्तव्यमा पनि लेखेका छौँ । यो विषय निकै जटिल भएकाले पनि नेपाल र भारतले परराष्ट्र सचिव स्तरीय बैठकमार्फत् प्राविधिक सुझाव समेत लिएर निधोमा पुग्‍ने विषयलाई अहिले जोड गरिएको छ । यो विषय सन् २०१४ मा पनि तय भएको थियो । त्यसैलाई अघि बढाउने काम  भएको छ । संयुक्त आयोगको बैठकमा कुनै सम्झौता हुँदैन । तर सम्झौता गर्ने तहमा लैजाने काम यो बैठकले गर्छ । त्यही कार्य बैठकमा भएको छ । छलफलले नेपाल र भारतबीच लामो समयदेखि रोकिएका कैयन विषयहरू अघि बढ्ने संकेत मिलेको छ । सीमाको विषय एउटा बैठकले सहजै पार लाग्‍ने विषय होइन । यसमा छलफल हुन्छ । प्राविधिक तहमा पनि छलफल हुनेछ अनि समाधान उन्मुख रहनेछ । यसमा भारत सहमत देखिएको छ ।
 
अनि, किन यहाँहरूले तय गरेको ईपीजी प्रतिवेदन बुझ्‍न आनकानी भएको त ? 
यो विषयमा छलफल भएको छ । सबै कामको अनुकुल समय आउँछ । यसको अनुकुल समय आउने नै छ । आशा गरौँ त्यो प्रतिवेदन बुझ्‍ने काम छिट्टै हुनेछ । यो विषयमा परराष्ट्रमन्त्रीले धारणा राखिसक्नु भएको छ । 


नेपाल र भारतबीचका कैयन दुईपक्षीय मामिला सुदृढ भएर नतिजा देखिइसकेको छ । जस्तै पेट्रोलियम पाइपलाइन, नाकाको सुधार, एकीकृत भन्सार व्यवस्थापन, कोभिड-१९ को सहकार्य, रेलमार्ग निर्माण देखि दर्जनौं विषय अघि बढेका छन् । 

उच्चस्तरीय भ्रमण हुँदा नेपाल र भारतबीचका समस्याहरू समाधान उन्मुख झै लाग्छ तर भ्रमणपछि पनि उस्तै रहन्छन् नि ? 
धेरै कुरा अघि बढ्ला भन्‍ने आशा हुँदा त्यस्तो लाग्‍नु स्वभाविक हो । तर, धेरै कामहरू अघि बढेका छन् । यसरी काम अघि बढ्दा नेपाल र भारतबीचका कैयन दुईपक्षीय मामिला सुदृढ भएर नतिजा देखिइसकेको छ । जस्तै पेट्रोलियम पाइपलाइन, नाकाको सुधार, एकीकृत भन्सार व्यवस्थापन, कोभिड-१९ को सहकार्य, रेलमार्ग निर्माण देखि दर्जनौं विषय अघि बढेका छन् । 

भ्रमणमा राजनीतिक विषयमा छलफल भयो कि ? 
संयुक्त आयोगको बैठक भनेकै राजनीतिक प्रकृतिको बैठक हो । यसमा स्वभाविक रूपमा राजनीतिक मामिलामा छलफल भयो । तर त्यो राजनीतिक मामिलामा आन्तरिक राजनीतिको विषय उल्लेख हुँदैन । अन्तर्राष्ट्रिय राजनीतिमा सहकार्य गर्ने विषयहरूमात्र पर्छन् । त्यस्ता विषयमा छलफल भए । कतिपय क्षेत्रीय विषयहरू थिए होलान कतिपय विश्‍वस्तरका विषय पनि परे । त्यस्ता विषयमा सामान्यतया छलफल हुन्छ नै । 

भ्रमणमा नेपालको आन्तरिक राजनीतिमा छलफल भएन त ? 
भएन, कतै पनि छलफल भएको पाइँन । किनकी सबैजसो छलफलमा म सँगै छु । त्यहाँ त्यस्तो कुरा उठेको पाइँन । अहिले पनि म मन्त्री ज्ञवालीलाई भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाट सकेर एअरपोर्ट पुर्‍याउन जाँदैछु । यो समयसम्म त्यस्तो राजनीतिक विषयमा छलफल भएको छैन । नेपालको आन्तरिक मामिला उहाँहरूले सोध्‍ने विषय पनि होइन र हामीले भन्‍न पनि आवश्यक ठानेनौँ । यसैले यस्ता विषय नियमित बैठकमा उठ्दैन । 

नेपालको आन्तरिक मामिला उहाँहरूले सोध्‍ने विषय पनि होइन र हामीले भन्‍न पनि आवश्यक ठानेनौँ ।

तर, परराष्ट्रमन्त्री प्रधानमन्त्रीको दूतको रुपमा समेत आउनु भएकाले राजनीतिक छलफल पनि भयो कि भनेको नि ? 
त्यस्तो छलफल भएन । उहाँ राजनीतिक दल विषेशको दूतको रुपमा नभै परराष्ट्रमन्त्रीको हैसियतमा संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन आउनु भएको हो । यो औपचारिक भ्रमण हो । यस्ता भ्रमणको आफ्नो खालको ‘डेकोरम’ हुन्छन् ।
 
परराष्ट्रमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिष्टाचार भेट गर्ने भन्‍ने जानकारी यहाँकै दूतावास अधिकारीहरूले बाहिर ल्याएका थिए नि ? 
खै ! मन्त्री ज्ञवालीले आफैँले मिलाएर भेट्नु भएको भए जानकारी भएन । मेरो तहबाट त्यो प्रकारको वार्ता भएको जानकारी छैन । मैले भएको भेटबारे यहाँलाई प्रष्ट पारिसकें । उहाँले मसहित भएर रक्षामन्त्री राजनाथ सिंहसँग र विदेशमन्त्री एस जयशंकरसँग दुईपक्षीय छलफल गर्नु भएको हो । त्यो बाहेकको अन्य भेटमा म अनविज्ञ नै छु ।
 
उहाँले राजनाथ सिंहसँगको भेटमा त पक्कै सुरक्षा र सीमाका विषय उठाउनु भयो होला नि ? 
संयुक्त आयोगको बैठकमा भएको छलफल र नेपालको चासो बारे स्पष्ट पार्ने काम भयो । दुईपक्षीय मित्रतालाई अझ घनीभूत बनाउने विषयमा छलफल भयो । त्यहाँ भारतीय रक्षामन्त्री सिंहले नेपालसँग सहकार्य गर्नेमा भारत अलमल नरहेको स्पष्ट पार्दै सानातिना समस्या चिरेर अघि बढ्ने विषय नै कुराकानी केन्द्रित भयो । दुईपक्षीय मामिलामा खुल्ला छलफल पनि भयो । यही छलफलबाट नेपाल र भारतसम्बन्ध थप उचाईमा पुगेको छ । 

भारतीय रक्षामन्त्री सिंहले नेपालसँग सहकार्य गर्नेमा भारत अलमल नरहेको स्पष्ट पार्दै सानातिना समस्या चिरेर अघि बढ्ने विषय नै कुराकानी केन्द्रित भयो ।

राजनाथ सिंहले सीमा सुरक्षाको विषय पनि उठाए कि ? 
त्यस्तो एक-एक भन्दा पनि समग्रमा छलफल भएको छ । दुईपक्षीय सम्बन्धलाई अघि बढाउन भारतले उत्तिकै चासो राखेको देखिन्छ । भारतीय रक्षामन्त्रीले नेपाल हाम्रो पुरानो मित्रराष्ट्र रहेकाले नेपालमा समस्या पर्दा भारतसँग र भारतलाई समस्या पर्दा नेपालसँग सधैं सहकार्य भएको जानकारी दिँदै तितामिठा पोखेर तर सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाललाई भारतले नजिकबाट नियालेको र नेपालको स्थायित्वमा भारत सधैं सहयोग गर्न तयार रहेको विषय पनि राख्नु भएको थियो । सिंहले नेपाल र भारतको सम्बन्ध राम्रो रहेको र यसलाई थप उचाईमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x