इकागज संवाद
‘ट्याक्सी जलाउने, तोडफोड गर्ने काम हाम्रो होइन, सरकारी घूसपैठ हो’
क्षणिक सास्तीले दिगो शान्ति हुन्छ र मुलक विकासको पथमा जान्छ भने आमनागरिक हड्तालतिर उन्मुख हुनैपर्छ
आमनागरिक अब कहिल्यै बन्द र आमहड्ताल भोग्नुनपर्ने आशामा थिए । नागरिकको दैनिक जीवनमा असर पार्ने यस्ता कार्य कसैले पनि नगरोस् भन्ने थियो । नेकपाको दाहाल–नेपाल पक्षले बिहीबारका निम्ति आह्वान भएको आमहड्तालको चौतर्फी आलोचना भइरहेको छ । दाहाल–नेपाल समूहले भने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगामी’ कदमका कारण आमहड्ताल आह्वान गर्नुपरेको दलिल पेस गर्दैछन् । ‘नागरिकलाई सास्ती दिन किन यस्तो हर्कतमा उद्यत भएको हो ?’ यिनै प्रश्नको सेरोफेरोमा नेकपा दाहाल–नेपाल खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग चन्द्रशेखर अधिकारीले गरेको संवाद :
तपाईंहरूले किन दैनिक जीवनमा सास्ती हुने काम गर्नुभयो ?
ओली सरकारले आमनामगरिकलाई असर गर्ने कार्य गरिरहेका कारण हामी बाध्य भएर यस्तो आम हड्ताल जस्तो अप्रिय काममा लाग्यौँ । सरकारले नै यो बाध्यात्मक अवस्था सिर्जना गरेको हो । हामीले जनताका साथ गर्न खोजेका हौँ । दुःख दिन आन्दोलन गरेका होइनौँ । हाम्रो सूचीमा समेत बन्द–हड्ताल थिएन ।
क्षणिक सास्तीले दिगो शान्ति हुन्छ र मुलक विकासको पथमा जान्छ भने आमनागरिक हड्तालतिर उन्मुख हुनैपर्छ ।
तर, सरकारले प्रतिगामी कार्यसँगै संवैधानिक परिषद्बाट गैरसंवैधानिक शैलीमा निर्णय गराई संसदीय सुनुवाइबिना बलजफ्ती रूपमा संवैधानिक अंगका पदाधिकारी र सदस्यहरूको शपथ–ग्रहणसमेत गराएपछि अब आन्दोलनका रूपमा अघि बढ्न सरकारको कदमको विरोधका लागि आमहड्ताल गरिएको हो ।
सत्तामा पुग्ने, रजगज गर्ने यहाँहरू अनि दुःख पाउने आम जनताले ?
प्रतिगमन, असंवैधानिक नियुक्ति र कामचलाउ सरकारको ‘फासिस्ट गुण्डाराज’विरुद्ध देशव्यापी आमहड्तालमा होमिएका हौँ । प्रतिनिधिसभा सुचारु गर्न, प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आमहड्तालको पाटोबाट सांकेतिक रूपमा बन्द गरेका हौँ ।
यसप्रकारको बन्दले नागरिकलाई कष्ट हुन्छ, तर दिगो रूपमा नागरिकको हितका लागि गरिएको कदम हो, यो । सत्तामोह वा त्यहाँ गएर रजगज भन्दा पनि हामी नागरिकका लागि काम गर्न र सहजीकरणका लागि यो प्रकारको कार्य गरिरहेका छौँ ।
दैनिक जीवन–यापनका लागि मजदुरी गर्ने व्यक्तिका ट्याक्सी जलेका छन् नि त ?
ट्याक्सी जलाउने, तोडफोड गर्ने काम हाम्रो होइन । यसमा राज्यसंयन्त्रकै घूसपैठ छ भन्नेलाग्दै छ । हामीले आमजनतालाई हामी तपाईंहरूसँग छौँ । सरकारको प्रतिगामी सोचविरुद्ध लड्दा साथ मागेका हौँ । दुःख दिने ध्वंसात्मक कार्यमा संलग्न हुने काम हामीबाट भएको छैन । हुँदैन पनि । हामीले हाम्रा क्याडर र साथीहरूलाई जबर्जस्ती नगर्न निर्देशन दिएका छौँ । क्षति हुने काम रोक्न भनेका छौँ ।
ओली सरकारको गैरसंवैधानिक, गैरकानुनी एवं स्वेच्छाचारी निर्णय अन्त्य गर्न बन्द आह्वान गरिएको हो ।
तोडफोड गर्ने, गाडी जलाउने कार्य कसले गर्याे त ?
आमहड्तालमा रहेका हामी र हाम्रा साथीहरूबाट यस्तो कार्य भएको छैन । तर सत्तापक्षले यसतर्फ जान बाध्य पारिरहेको भए पनि संयम अपनाएका छौँ । हाम्रा सयौँ नेता–कार्यकर्तालाई पक्राउ गरेर सरकारले भीडन्ततर्फ लगेको छ । हामीले परीक्षा दिन जाने, अन्य आकस्मिक र अत्यावश्यक सेवा, प्रेस लगायतलाई ध्यान दिन निर्देशन गरेका छौँ । सडकमा गाडी देख्नेबित्तिकै जलाउने, टाढैबाट ढुंगा हान्ने यस्ता कार्य हामीबाट भएका छैनन् र हुँदैन पनि ।
आमहड्ताल शान्तिपूर्ण कार्य नै हो भन्ने लाग्छ यहाँहरूलाई ?
पक्कै पनि । किनकि हामीले कुनै प्रकारको बल प्रयोग गर्ने र आमजनतालाई दुःख दिने भन्दा पनि जनताको साथ यहाँ खोजेका छौँ । जनताले साथ दिइरहनुभएको छ । तर, प्रतिनिधि सभा विघटन गर्ने कदमपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको ओली सरकारको गैरसंवैधानिक, गैरकानुनी एवं स्वेच्छाचारी निर्णयको अन्त्य गर्न पनि बन्द आह्वान गरिएको हो ।
क्षणिक सास्तीले दिगो शान्ति हुन्छ र मुलक विकासको पथमा जान्छ भने आमनागरिक हड्तालतिर उन्मुख हुनैपर्छ ।
यसमा जनताले साथ दिएका छन् र बन्द सफलता उन्मुख रहेको छ । हामी नेतृत्व तहमा रहेकाहरू विभिन्न स्थानमा पुगेर बन्दलाई शान्तिपूर्ण र सफल बनाउन सक्रिय छौँ । हामी जनताप्रति संवेदनशील पनि उत्तिकै छौँ ।
विरोध गर्ने अन्य उपाय हुँदाहुँदै किन आमहड्तालकै बाटो रोज्नुभयो त ?
हामीले जनताको समर्थनका लागि पनि यो बाटो तय गरेका हौँ । आमजनताको साथले मुलुक परिवर्तन हुँदै यहाँसम्म आइपुगेको र अझै जनता सचेत रहनुपर्ने अवस्था छ भनी त्यसको जानकारी दिन पनि खोजेका हौँ ।
१० वर्षे द्वन्द्व र जनताको सात दशकको अथक प्रयासबाट हासिल उपलब्धि एक व्यक्तिको सनकले धरापमा परेको कुरामा आम जनतालाई पनि चिन्ता छ । त्यसैले जनताको कुरालाई लिएर हामी आन्दोलनमा होमिएका हौँ ।
तर, आम जनताले सास्ती त पाए नि, होइन र ?
हो, क्षणिक सास्तीले दिगो शान्ति हुन्छ र विकासको पथमा मुलुक जान्छ भने आमनागरिक त्यतातिर उन्मुख हुनैपर्छ । कोभिडपछिको अवस्थामा हामीले जनतालाई सास्ती दिने कुनै चाहना नै थिएन । तर सरकारको गैरसंवैधानिक कदमविरुद्ध लाग्नैपर्ने बाध्यताले हड्ताल जस्ता आन्दोलनमा होमिनुपरेको हो । हामीले जनताको साथका लागि अनुरोध गरेका हौँ । जबर्जस्ती गर्ने हाम्रो सोच छैन ।
सत्तामोह वा त्यहाँ गएर रजगज भन्दा पनि नागरिकका लागि काम गर्न र सहजीकरणका लागि यो प्रकारको कार्य गरिरहेका छौँ ।
यहाँहरूका नेताहरू बिहानैदेखि पक्राउ परेको अवस्थाबारे के छ यहाँको धारणा ?
हो, हाम्रो शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारसमेत कुण्ठित गर्ने काम यो सरकारले गरेको छ । आमनागरिक हाम्रो पक्षमा देखेर अत्तालिएको सरकारले हाम्रा नेताहरूलाई गिरफ्तार गर्दै राज्य संयन्त्रको दुरुपयोग गर्ने काम गरेको छ ।
सरकारले आफैँले अप्रिय घटनासमेत घटाएको हुन सक्छ, त्यसतर्फ हामी सचेत छौँ । कुनै अप्रिय घटना आमहड्तालमा हाम्रो तर्फबाट भएको छैन । राज्यसंयन्त्रले यस्ता घटनाको जिम्मेवारी लिनुपर्छ । हाम्रा कार्यकर्ता र नेतृत्वलाई ‘इरिटेड’ गर्ने र त्यसतर्फ उद्यत गराउने कार्यमा सरकार लागेको देखिन्छ । हाम्रा सडकमा हिँडेका कार्यकर्ता–नेतासमेत पक्राउ परेका छन् ।
के यही हो त लोकतन्त्रको अभ्यास ? यस्तै असंवैधानिक कदम स्वीकार गर्न संविधान लेखिएको हो ? यस्तैका लागि सहिदले आहुति दिएका हुन् त ? यसमा हामी अझै स्पष्ट हुनुपर्छ । र यो कदमको घोर निन्दा र विरोध गर्नुपर्छ ।
र, यो पनि
- गण्डकी प्रदेशमा हड्तालको आंशिक प्रभाव
- रहबर अन्सारीसहित वीरगञ्जमा दाहाल-नेपाल समूहका कार्यकर्ता पक्राउ
- तस्बिरमा हेर्नुहोस् दाहाल-नेपाल समूहको आम हड्ताल
- कस्तो छ काठमाडौँमा आम हड्ताल प्रभाव ? अहिलेसम्म के-के भयो ?
- कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका कार्यकर्ता पक्राउ
- एकाबिहानै दाहाल-नेपाल समूहका कार्यकर्ताले गोंगबुमा ट्याक्सी जलाए
- दाहाल-नेपाल समूहको हड्ताल : काठमाडौँबाट ४० जना पक्राउ
- दाहाल-नेपाल समूहको आज आम हड्ताल, सुरक्षा व्यवस्था कडा
- आम हड्ताल गर्न दाहाल-नेपाल समूहले तोक्यो कमाण्डर (सूचीसहित)
- देशभर बन्दको प्रभाव : लामो दूरीका सवारी ठप्प, जनजीवन प्रभावित
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया