वार्ता

निर्माण व्यवसायीलाई चुनावी चटारो

ठूला ठेक्कामा कार्टेलिङ रहेसम्म तोकिएको समय र लागतमा काम हुँदैन

इकागज |
फागुन २८, २०७८ शनिबार २०:४० बजे

निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको १२औं अधिवेशनमा कार्यसमिति छनौट गर्न आइतबार निर्वाचन हुँदैछ । नेतृत्वका लागि वर्तमान कार्यसमितिका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । ५६ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिएका छन् । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नेगरी रत्नबहादुर खड्का उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा दलीय झुकावदेखि सबैखाले अस्वस्थ प्रयत्न गरेर निर्वाचनको माहौललाई दूषित बनाएको भनेर अध्यक्षका प्रत्यासी पाण्डेको आलोचना भैरहेको छ । उनी राप्रपाका नेता विक्रम पाण्डेका छोरा हुन् भने देशका ठूला ठेक्का ओगट्ने कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक हुन् । यता अध्यक्षका अर्का प्रत्यासी सिंहले भने ठूला ठेक्कामा कार्टेलिङ तोड्ने र निर्माण व्यवसायीको आत्मसम्मान उँचो बनाउने भन्दै उम्मेदवारी दिएको बताएका छन् । कार्यसमिति निर्वाचनको पूर्वसन्ध्यामा इकागजले रवि सिंहसँग गरेको कुराकानीः 

अध्यक्षको रूपमा यहाँको कार्यकाल कस्तो रह्यो ? 


यसबीचमा हामीले सार्वजनिक खरिद नियमावलीमा संशोधनका लागि पहल गर्‍यौं र यसबीचमा विभिन्न चरणमा संशोधन हुँदै भर्खरैमात्र एघारौं संशोधन आएको छ । हामीले त खरिद ऐन नै संशोधन हुनुपर्छ भनेर पहल गरिरहेका छौं । अब चाँडै खरिद ऐनमा संशोधन हुने आश्वासन पनि पाएका छौं । यसबीचमा कोभिड–१९ महामारीले पनि विकासनिर्माणका काम प्रभावित भए र हामीले सरकारसँग पहल गरेर सरकारी ठेक्काको म्याद थपाउन सफल भयौं । ​

दोस्रो कार्यकालको उम्मेद्वारी के का लागि हो ? 

सार्वजनिक खरिद नियमवालीको एघारौं संशोधनको कार्यान्वयन गराउने साथै ऐन संशोधनका लागि हाम्रो पहल रहनेछ । अर्को मुख्य सवाल के हो भने एउटा कम्पनीले पाँच भन्दा बढी ठेक्का लिन पाउँदैन । तर ठूला ठेक्का हेर्ने हो भने सीमित निर्माण व्यवसायीको कब्जामा छन् । ठूला ठेक्का एक दर्जन निर्माण व्यवसायीको कब्जामा रहेको स्थिति छ । यो कार्टेलिङ हामी अन्त्य गर्छौं । 

अध्यक्षमा उम्मेदवारी दिएर युवा पुस्तालाई विश्वास नगर्नुभएको हो कि ? 

उनको व्यक्तिगत विषयमा म कुनै टिप्पणी गर्न चाहान्नँ । अहिले हाम्रो प्यानलको एजेन्डा भनेको ठूला ठेक्काको कार्टेलिङ अन्त्य गर्नेमा छ । निर्माण व्यवसायीलाई समान अवसर सिर्जना गर्नुपर्ने जरुरी छ । हामी ठूला ठेक्कामा कार्टेलिङ विरुद्ध हाम्रो लडाइँ निरन्तर रहन्छ । 

यसमा निर्माण व्यवसायीको क्षमताको कुरा पनि आउला, समान अवसर भनेर मात्र हुन्छ र ! त्यसै पनि विकास निर्माणका काम सुस्त छन्, गुणस्तर कमजोर छ ? 

त्यस्तो होइन । शक्ति र पैसाका आडमा ठूला ठेक्का कब्जा गरिन्छन् । अनि निर्माण व्यवसायीहरूले काम पाउनका लागि ती कार्टेलिङ गर्ने व्यवसायीको ढोकामा धाउनुपर्ने बिडम्बना छ । ठेक्का ओगटेपनि साइटमा काम त अरु नै निर्माण व्यवसायीले गरिरहेका हुन्छन् । उनीहरूको क्षमता पनि छ र गुणस्तरीय काम गर्छन् । यहाँ त शक्तिको आडमा ठेक्कामा कार्टेलिङ गरेर उपठेक्कामा काम लगाउने प्रवृत्ति छ । यसको अन्त्य हुनुपर्छ अनिमात्र समयमा र गुणस्तर निर्माणको काम हुन्छ । ठूला ठेक्कामा कार्टेलिङ रहेसम्म तोकिएको समय र लागतमा काम हुँदैन । ऐन संशोधनमार्फत् हामी सबैका लागि समान ‘लेभल प्लेइङ फिल्ड’ को सुनिश्चिितता गर्छौं । 

यहाँको प्यानलमा पदाधिकारी को–को हुनुहुन्छ ? 

हाम्रो प्यानलमा वरिष्ठ उपाध्यक्षमा एडी शेर्पा (आङदावा शेर्पा), उपाध्यक्षहरूमा दीपक गौतम (प्रदेश १), शम्भु ठाकुर (मधेश प्रदेश), पञ्चराम तामाङ (बागमती), मेघजंग साह (लुम्बिनी), रत्नबहादुर खड्का (कर्णाली– निर्विरोध), र प्रकाश सेठी (सुदूरपश्चिम) हुनुहुन्छ । त्यस्तै, एशोसिएट उपाध्यक्षमा अच्युत खरेल, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव  शिवहरि घिमिरे, आन्तरिक उपमहासचिव बालाजु श्रेष्ठ, कोषाध्यक्ष अमर विष्ट, सह–कोषाध्यक्ष सन्तोष शाह हुनुहुन्छ । हाम्रो प्यानलबाट सदस्यका उम्मेद्वारहरू पनि हुनुहुन्छ । हाम्रो प्यानललाई निर्माण व्यवसायी साथीहरूले विजयी गराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । 
 


Author

थप समाचार
x