वार्ता

व्यवस्थापन अभ्यासका विश्वव्यापी 'स्ट्यान्डर्ड' अनुसरणमा नेपाल पछाडि रहँदैन

इकागज |
चैत २६, २०७८ शनिबार ८:४५ बजे

नेपाल व्यवस्थापन संघ (म्यान) मा नयाँ नेतृत्वका लागि आज हुने निर्वाचनमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले नेपाल व्यवस्थापन संघमार्फत् सरकार र निजी क्षेत्रलाई विकासको समग्र प्रक्रिया, नयाँ अवधारणाहरूमा सहयोग गर्ने बताएका छन् । १४ वर्ष स्ट्यान्डर्ड चार्टर्ड र १७ वर्ष एनएमबी बैंकमा काम गरेका पौडेल नेपाल बैंकर्स संघको अध्यक्ष पनि थिए । उनले आफ्नो ज्ञान, अनुभव, सञ्जाललाई प्रयोग गरेर व्यवस्थापन संघलाई नयाँ उचाइ दिने बताएका छन् । प्रस्तुत छ पौड्यालसँगको संवादः 

म्यानको नेतृत्वमा यहाँको उम्मेदवारी के का लागि हो ? 


म सन् १९८२–८३ देखि नै लाइफ मेम्बर भएको हुँ । त्यो बेलादेखि संलग्न भएर म आफू पनि म्यानेजमेन्टको फिल्डमा लामो समय काम गरेको व्यक्ति हुँ । म बैंकिङ क्षेत्रबाट सेवानिवृत्त भएपछि सार्वजनिक क्षेत्रमा योगदान गर्ने सोच अनुसार काम गर्दै आएको छु । पहिलेदेखि नै म्यानले मलाई आकृष्ट गरेपनि सक्रिय पेसागत जीवनमा यता धेरै ध्यान दिइँन । मेरो सोचअनुसार देशका लागि यो प्लेटफर्मबाट केही केही योगदान गर्न सक्छु भन्ने विश्वासका साथ उम्मेदवारी दिएको हुँ । 

यहाँको विचारमा म्यान कस्तो संस्था हुनुपर्छ ? 

व्यवस्थापन र नेतृत्वमा देशमा यो रेफरेन्स प्वान्ट (सन्दर्भ बिन्दू) हुनुपर्छ । समसामयिक मुद्दामा सरकारलाई र अन्य क्षेत्र (निजी क्षेत्र)लाई सुझाव दिन सक्ने संस्थाको रूपमा यसलाई विकास गर्नुपर्छ भन्ने मेरो सोचाई छ र हाम्रो रोडम्याप (मार्गचित्र) त्यही दिशामा अघि बढ्छ । म आफू ‘ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुज्’ सँग आवद्ध छु । बैंकिङमा पनि हामी परम्परागत हिसाबले चलिरहेका छौं । बैंकिङ क्षेत्रमा धेरै आधुनिकीकरण र असल अभ्यासहरू विकसित भइरहेका छन् । तिनलाई नेपालमा ल्याएर असल अभ्यासहरूमाथि छलफल गर्नुपर्छ र त्यसलाई स्थानीयकरण (लोकलाइज) गरेर लागू गर्नुपर्छ हरेक क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय असल अभ्यासलाई लोकलाइज गरेर एउटा मापदण्ड (स्ट्यान्डर्ड) कायम गर्नुपर्छ अन्यथा हामी फेरि रिडन्डेन्ट (व्यर्थ) जस्तो हुन्छौं । प्रतिवेदन प्रणाली, प्रविधि, डिजिटाइजेसनमा दुनियाँ धेरै अगाडि बढीसक्यो । अब हाम्रा व्यवस्थापन अभ्यासहरू पनि सोही अनुसार अगाडि बढाउनुपर्छ, यसमा म्यान जस्ता संस्थाले नेतृत्व लिनुपर्छ । सरकार, नियामकसम्म यस्ता अभ्यासबारे जानकारी पुर्‍याएर, लागू गर्ने मोडालिटी छलफल गर्नुपर्छ र म्यानले यस्ता असल अभ्यास भित्र्याउने र त्यसलाई सहजताका साथ लागू गराउन माध्यमको रूपमा सहयोगी भूमिका निभाउनुपर्छ । म्यानको नेतृत्वमा व्यवस्थापनसम्बन्धी विभिन्न अभ्यासहरू आयोजना गर्ने र त्यसका लागि विदेशबाट स्रोत व्यक्ति ल्याउनुपर्छ भने पनि ल्याउने, स्थानीय स्रोत व्यक्ति पहिचान गर्ने र उहाँहरूको दक्षता उपयोगमार्फत् म्यानका सबै सदस्यहरूलाई इंगेज गर्ने खालका कार्यक्रमहरू आयोजना गर्नुपर्ने हुन्छ ।

म्यानले यस्ता कार्यक्रमहरू त आयोजना गर्दै आएको छ, होइन र ? 

हो । आज पनि हामीले सीईओ कन्फरेन्सको आयोजना गर्‍यो, यो आफैंमा एउटा अद्भूत कार्यक्रम रह्यो । यसमा धेरै व्यवस्थापकहरू सहभागी भएका छन् । समसामयिक विषयहरूमा पनि हामीले विज्ञहरू ल्याएर कार्यक्रम गर्नुपर्छ । म्यानलाई विगतमा लिड गरेका व्यक्तिहरू पेशागत र व्यवसायिक जीवनमा माझिएका व्यक्तिहरू हुनुहुन्छ । विद्यमान परिस्थितिमा उहाँहरूको जुन सोच, दृष्टिकोण, धारणा छन्, ती विषयमा पनि छलफल गर्ने थलो म्यान हुनुपर्छ । उहाँहरूलाई इंगेज गराएर म्यानको संरचनामा केही परिवर्तन गरेर उहाँहरूलाई नियमित इंगेज गराउने, उहाँहरूलाई मञ्च दिने मेरो सोच छ । म आएँ भने त्यो वातावरण बनाउँछु । म्यानले सञ्चालन गर्ने कलेजलाई अझै स्तरोन्नति गरेर ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्ने सोचेको छु । म्यानको संरचनालाई पनि प्रदेश तहमा लैजानुपर्छ । हुन त सातै प्रदेशमा म्यानका च्याप्टरहरू गठन भैसकेका छन्, ती च्याप्टरलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा विधानमै परिवर्तन आवश्यक छ भने त्यो पनि गरेर अगाडि बढ्ने सोच छ ।

यो संस्थागत विकासको पाटो भयो । यहाँ आफैंपनि बैंकिङ क्षेत्रमा लामो समय काम गरेर आउनुभएको अनुभवी व्यक्ति हुनुहुन्छ । सरकार र निजी क्षेत्रलाई म्यानले थप के दिन सक्छ ? 

हामीले सरकार, नियामक, निजी क्षेत्र तथा अन्य सरोकारवालालाई आवश्यक सल्लाह, सुझाव दिन सक्नेगरी थिंक ट्यांकको रूपमा म्यानलाई विकास गर्र्छौं । मैले अगाडि पनि भने कुनै महत्वपूर्ण सवालमा म्यानको धारणा के छ भनेर सबैले खोज्ने एउटा रेफरेन्स सेन्टरका रूपमा म्यानलाई विकास गरिनेछ । अन्तर्राष्ट्रिय असल अभ्यास भित्र्याएर, त्यसमा छलफल गर्ने, स्थानीयकरण गर्नेमा म्यानले भूमिका खेल्छ ।

व्यवस्थापन संघले सिंगो विकास प्रक्रियामा सरकार र निजी क्षेत्रलाई सहयोग गर्छ

यहाँ विभिन्न अन्तर्राष्ट्रिय सञ्जालमा पनि आवद्ध हुनुहुन्छ, म्यानमा त्यसलाई पनि लेभरेज गर्नुहुन्छ होला ? 

पक्कै पनि अन्तर्राष्ट्रिय सञ्जाललाई विस्तार गरेर अर्थात् हाम्रो सम्पर्क तथा सम्बन्ध बढाएर जानुपर्छ । आज (शुक्रबार)मात्रै मेरो एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दूनाथ लोहनीजीसँग यस्तै विषयमा कुराकानी भएको थियो । उहाँले ‘म फिलिपिन्समा छँदा पनि म्यानेजमेन्ट एसोसिएसन थियो, उपेन्द्रजी’ भन्नुभयो । मैले उहाँलाई त्यो संस्थाको संरचना के थियो, उहाँको सम्पर्क सूत्र प्रयोग गरेर उनीहरूसँग पहुँच स्थापित गरी आपसी नेटवर्क विस्तार गर्नेतर्फ पनि सहयोग गर्नुस् न भनेको छु । तत्कालै अमेरिकाबाट जलवायु परिवर्तन र त्यसबाट सिर्जित ‘हिट स्ट्रेस’ का बारेमा छलफल गर्ने कार्यक्रम छ । ‘हिट स्ट्रेस’ले खाँडीमा काम गर्न गएका हाम्रा कतिपय दाजुभाई दिदीबहिनीहरू बिरामी हुने, कतिपयले मृत्युवरण समेत गर्नुपरेको छ । ‘हिट स्ट्रेस’ले मुख्यतः किड्नी (मिर्गौला)मा असर गर्दोरहेछ । अमेरिकाको सम्बन्धित एउटा इन्स्टिच्यूसनको सीईओ यहाँ आएको बेला, उनीहरूको ज्ञान, अनुभव लिएर म्यानमा नै जलवायु परिवर्तनबाट सिर्जित ‘हिट स्ट्रेस’ ले मानव स्वास्थ्यमा कस्तो असर पर्छ र यसबाट कसरी हाम्रा प्रवासी कामदारलाई जोगाउन सकिन्छ भनेर छलफल गराउन मैले पहल गरिरहेको छु । त्यसमा सरकारका सबै सरोकारवालालाई जुटाउन सक्यौं भने आगामी साता नै ऊ फकर्नुअघि नै अर्को बृहत्तर कार्यक्रम आयोजना गर्ने पनि सोचिरहेको छु । यसले सचेतना पनि अभिवृद्धि गर्छ र हामीले सरकारी निकायलाई पनि झक्झक्याउन सकिने स्थिति त बन्छ नि !

अब विकासका भाष्य (न्यारेटीभ)हरू पनि परिवर्तन भैरहेका छन् । जलवायु परिवर्तनजन्य, जनसांख्यिक लगायत अन्य चुनौतीहरू पनि विकास प्रक्रियामा थपिनेवाला छन् । म्यानले यसतर्फ के योगदान गर्न सक्ला ? 

अवश्य पनि हो । हाम्रो विकास प्रक्रियालाई अब हामीले दिगो विकाससँग गाँसिरहेका छौं । यसमा अन्तर्राष्ट्रिय अनुभव, हाम्रो स्थानीय अनुभवलाई लिएर नयाँ मोडालिटीहरू विकास गर्ने साथै सरकारको बजेट, मौद्रिक नीति, निजी क्षेत्रका इनिसियटीभहरूलाई नयाँ परिस्थितिमा दिगो विकासतर्फ मुखरित गर्ने हाम्रो प्रयास हुनेछ । यसमा हामी विकास साझेदार संस्थाहरूसँग पनि काम गर्छौं । पक्कै पनि जलवायु परिवर्तनसँग अनुकुलन र परिवर्तनका असर न्यूनीकरणमा साझा पहल आवश्यक छ । विकसित देशहरूले ‘क्लाइमेट इमर्जेन्सी’को कुरा गर्न थालिसके, हामी भर्खरै ‘रेगुलेटरी स्टेज’मा छौं, यो पक्षलाई पनि तीव्रता दिनुपर्ने आवश्यक । यसमा हामी सरकारलाई रोडम्याप निर्माणमा सहयोग गर्छौं । 

अन्त्यमा 'म्यानेजमेन्ट प्रोफेसनल'हरूलाई केही सम्बोधन चाहानुहुन्छ ? 

अब म्यानलाई अहिलेको नयाँ परिवेशमा, नयाँ तरिकाबाट नयाँ उचाइमा लैजानुपर्छ । यसको संरचनामा पनि केही पुनर्विचार गर्ने साथै म्यानलाई सुदृढ र सशक्त बनाउन म कार्यकारी टिममा रहेर केही योगदान गर्न चाहान्छु । म केही फरक तरिकाले काम गर्न चाहान्छु । 
 


Author

थप समाचार
x