वार्ता

विराटनगरलाई ‘आइकनिक’ सहर बनाउँछु

उपेन्द्र अर्याल |
बैशाख १९, २०७९ सोमबार १८:१७ बजे

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले विराटनगर महानगरपालिकाको मेयर जितेको थियो । यसपटक पनि पाँच दलीय गठबन्धनको भागबण्डामा विराटनगरको मयेर पद कांग्रेसकै भागमा परेको छ । कांग्रेसले महानगरमा आफ्नो विरासत कायम राख्न चुनावी मैदानमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार बनेका कोइराला कांग्रेस विभाजनका बेला वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा थिए । उनले कांग्रेस प्रजातान्त्रिकमा तरूण दलको जिल्ला सभापति बनेर आफ्नो राजनीतिक यात्रा थालेका थिए । पछि कांग्रेस एक भएपछि तरूण दलकै जिल्ला सभापति बनेका कोइराला पार्टीको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै अहिले उपसभापति छन् । उनीसँग आफ्ना चुनावी अजेन्डा र विराटनगर महानगरलाई व्यवस्थित सहर बनाउन उनीसँग भएका योजनाका विषयमा इकागजका उपेन्द्र अर्यालले गरेको कुराकानी:

विराटनगरको मेयर पदको लागि तपाईको उम्मेदवारी किन ? 


विराटनगरलाई व्यवस्थित सहर बनाउनको लागि मैले मेयर पदमा उम्मेदवारी दिएको हुँ । यहाँको शिक्षा, स्वास्थ्य, यातायातलाई सहज र सरल बनाएर एउटा लोभलाग्दो सहर बनाउँन मैले मेयर बन्ने अठोट गरेको हुँ । मेरो उम्मेदवारीले विराटनगरले एउटा इमान्दारिताका साथ काम गर्ने मान्छे पाउँछ । अर्को भष्ट्राचार शून्य महानगर बनाउने नगरप्रमुख पाउँछ । 

तपाईंले भनेजस्तो विराटनगरलाई व्यवस्थित सहर बनाउन के छन् त तपाईंका अजेन्डाहरू ?

मैले उम्मेदवार बनिसकेपछि आफ्ना योजनाहरू राखेर संकल्प पत्र नै सार्वजनिक गरिसकेको छु । मैले जितेपछि महानगरमा करको दायरा बढाउने छु । तर, आम मानिसले तिर्ने कर घटाउँछु । अरु मुख्य कुराहरू भनेको शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापनलाई मैले प्राथमिकतामा राखेको छु । 

शिक्षा, स्वास्थ्य, खानेपानी प्राथमिकतामा राखेको छु त भन्नुभयो । तर त्यसमा के–के कार्यक्रम समावेश छन् ? 

शिक्षाको क्षेत्रमा सामान्य मानिस जोसँग पढ्न पैसा हुँदैन, ती सबैलाई पढाउने जिम्मा महानगरको हुनेछ । निम्नस्तरका परिवारका छोराछोरीलाई उच्च शिक्षा दिनका लागि महानगरले जिल्ला बाहिर पठाएर पनि पढाउने छ । सामुदायिक विद्यालयहरूमा निजी विद्यालयभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिने वातावरण बनाइने छ । त्यसका लागि शिक्षकहरूलाई तालिमदेखि शैक्षिक सामाग्रीको व्यवस्था गरिने छ । 

विराटनगरमा ६६ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा ८ कक्षादेखि माथिका विद्यार्थीहरूको ‘ड्रप आउट’ ( विद्यालय छाड्ने ) दर बढी छ । किनकी यहाँ एकदमै निम्न आयस्रोत भएका परिवारका अभिभावकका छोराछोरी सरकारी विद्यालयमा पढ्छन् । उनीहरूको कमाएको पैसाले छोराछोरीलाई पढाउन पुग्दैन । बालबालिकालाई अभिभावकले काममा लगाउने भएकाले विद्यालय छाड्ने विद्यार्थीको दर बढि छ । त्यसैले मैले मेयर पद जितेर विद्यालय छाड्ने विद्यार्थीलाई फेरि विद्यालयमा ल्याएर पढ्ने वातावरण बनाउँछु । 

विराटनगरमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो, यहाँका हेल्थ पोष्टहरूलाई व्यवस्थित बनाउने र डाक्टरसहितको सेवा दिइनेछ ।  दोस्रो, विराटनगर महानगरपालिकाको आफ्नै मेट्रो सिटी अस्पताले बनाएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने छ  । अस्पतालमा एकदमै न्यूनतम शुल्कमा शल्यक्रियासम्मका सेवा पाउने व्यवस्था मिलाइनेछ । ६५ वर्षमाथिका महानगरबासीका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको छ । 

खानेपानीमाको क्षेत्रमा धाराबाट थापेको खानेपानीलाई पिउन लायक बनाउने छौँ । फोहोरको व्यवस्थापनमा वैज्ञानिक विधि अपानाउने छौँ । घर र उद्योगबाट निस्केको फोहोरलाई डम्पिङ साइटमा फ्याँकेर मात्रै हुँदैन । त्यसमध्ये नकुहिने फोहोरलाई छुट्याएर पुनः प्रयोग गर्नेगरि मिलाइने छ । कुहिने फोहोरलाई मल वा बायो ग्याँस बनाएर महानगरबासीलाई प्रयोग गर्न दिनेछौँ । महानगरबासीलाई ३० युनिटसम्म विद्युत खपत गर्नेलाई निःशुल्क उपलब्ध गराइनेछ  ।

विराटनगरमा १० हजार सुकुम्बासी छन् । उनीहरूको समस्या समाधान गर्छु । उनीहरूको अपनत्व हुने गरि धनीपूर्जा सहितको बस्ति बनाएर व्यवस्थित गराउने योजना बनाएको छु । घर निर्माण गर्दा उनीहरूको पनि सहभागिता गराउँछु । जसले गर्दा उनीहरूको अपनत्व हुन्छ ।

यी त नियमित गर्ने काम भए, विराटनगरलाई उत्कृष्ट महानर बनाउने ‘एक्सक्लुसिभ’ योजना के छन् ? 

विराटनगर पूर्वको एउटा ठूलो सहर पनि हो । यहाँ प्रदेश राजधानी भएकाले सहरी यातायात व्यवस्थित बनाउनेछु । त्यसका लागि सिमादेखि महानगरका हरेक वडामा पुग्नेगरि ठूला सहरी बस सञ्चालन गर्ने योजना छ । यहाँ सिटी सफारीहरू थुप्रै छन्, तिनीहरूलाई विस्थापित गरेर बस हाल्न चुनौति छ । हामीले सिटी सफारीलाई हटायौँ भने सामान्य मान्छेको पनि रोजगारी गुम्छ । त्यसैले यसलाई वैज्ञानिक ढंगले सबैसँग छलफल गरेर अगाडि बढ्छु ।  

विराटनगरबाट थुप्रै प्रधानमन्त्री बन्नुभएको छ, यो नै एउटा पहिचान भएको छ । तर, उहाँहरूले देश बनाउनु भयो ।  विराटनगर बनाउनुभएन । अहिलेसम्मका सबै नेताहरूले देश बनाउन मै समय खर्चिनुभयो । म चाहिँ अब विराटनगर बनाउँछु ।

विराटनगर देशकै औद्योगिक क्षेत्रको रुपमा परिचित छ । गिरिजाबाबुको नेतृत्वमा मजदुर आन्दोलन यहीँबाट सुरु भएको थियो । मैले मेयर जितेपछि महानगरको औद्योगिक क्षेत्रको पहिचान फर्काउँछु । उद्योगधन्दा व्यवस्थित गर्छु । 

अर्को महाभारतमा लेखिएको विराट राजाको राजधानी पनि विराटनगरै थियो । त्यसलाई पनि संग्रालयको रुपमा परिणत गरेर उनीहरूको पहिचान राख्छु । यसले पर्यटनलाई पनि सहयोग गर्छ । पर्यटनमा मान्छेलाई आकर्षण गर्न सकिन्छ । ‘मेडिकल टुरिजम’को लागि पनि काम गर्छु । महानगरलाई हरित सिटी बनाएर यसको पहिचान राख्छु । यसलाई सुरक्षित सहर बनाउने योजना छ । विराटनगरमा ट्रेड सेन्टर बनाएर वर्षभरी नै व्यापार मेला लगाउने ठाउँ पनि बनाउने योजना छ । विराटनगरलाई ‘आइकनिक’ सहर बनाउने साेच छ । 

तपाईंले भनेका सबै काम गर्न चुनाव जित्नुपर्छ । तपाई पाँचदलीय गठबन्धनको उम्मेदवार हुनुहन्छ । तर, गठबन्धनमा विवादै–विवाद देखिएको छ । माओवादी र जसपाबाट बागी उम्मेदवारी परेको छ । चुनाव जित्न कति सहज देख्नुहुन्छ ?

हामीलाई पार्टीले जे निर्देशन दिएको छ, त्यही हिसाबले काम गरिरहेका छौँ । मलाई लाग्छ, गठबन्धनका अन्य दलका साथीहरूले पनि आफ्नो दलबाट पाएको निर्देशन अनुसार काम गरिरहनुभएको छ । त्यसकारण यहाँ समस्या छ जस्तो लाग्दैन । केही साथीहरूको असन्तुष्टि होला तर, उहाँहरू सहमतिमा आउनुहुन्छ । 

अहिले नै कति मतले जित्ने यकिन गर्न सकिने छैन । तर, हाम्रो आँकलनले यसपालि हामीलाई जित्न सहजै छ । २०७४ को निर्वाचनमा पनि राम्रो मतान्तरले जितेका थियौँ । यसपालि हामीसँग पाँच दलको मत पनि छ । त्यसैले हामीले सहजै विराटनगरको नेतृत्व पाउने छौँ ।

तपाईंसँगै महानगरको मेयरका लागि पार्टीभित्र डिला संग्रौला, अमृत अर्यालदेखि वर्तमान मेयर भीम पराजुलीसम्म आकांक्षी हुनुहन्थ्यो । तपाईंले अकस्मात टिकट पाउनु भयो । तपाईं पार्टीका नेता शेखर कोइरालाको नजिक भएर अरुलाई उछिनेर टिकट पाएको भन्ने आरोप छ नि !

म एकाएक आएको मान्छे होइन । पार्टीको मोरङ जिल्लाको उपसभापति हुँ । त्योभन्दा अगाडि जिल्लाको निर्वाचित सचिव थिएँ । त्यसअघि निर्वाचित कोषाध्यक्ष थिएँ । त्यसअघि तरुण तलको जिल्ला अध्यक्ष थिएँ । यत्रो लामो समयसम्म म विराटनगरको भूगोलमा बसेर काम गरेको मान्छे हुँ । मेयरको उम्मेदवारको लागि म सहित चार जना प्रतिस्पर्धामा हुनुहन्थ्यो । उहाँहरू पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरूले चाहेको भए पार्टीबाट टिकट पाइहाल्नुहुन्थ्यो नि ! तर, उहाँहरूले यत्तिको मान्छेले टिकट पाउँदा विराटनगर बनाउँछ भनेर छोडेकाले मैले पाएको हुँ । उहाँहरूले चाहेको भए छाड्नुहुन्न थियो । तर, मेरो चुनावी अभियानमा अहिले उहाँहरूले नै धेरै खटेर सहयोग गर्नुभएको छ । 

गठबन्धन र पार्टीभित्रै पनि असन्तुष्टीहरू देखिएका छन्, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

मुख्य कुरा हामी सबै पार्टीका कार्यकर्ता हौँ । सबैले पार्टीको निर्देशन मान्ने हो । उम्मेदवारीका बेला प्रतिस्पर्धा हुने कुरा स्वाभाविक हो । तर, पार्टीले टिकट दिइसकेपछि सबैकुरा भुलेर हामीले उम्मेदवारलाई जिताउन लाग्ने हो । टिकट नपाउने साथीहरूलाई दुईचार दिन नराम्रो लाग्यो होला । तर, त्यसपछि सबै एक भएर लागिरहेका छौँ ।  साथीहरूमा पनि मैले त्यस्तो असन्तुष्टि पाएको छैन । सबैजनाको सहयोग पाएको छु । सबैजना नेपाली कांग्रेसलाई जिताउन लाग्नुभएको छ । गठबन्धनको हकमा पनि त्यही हो । 

अघिल्लो कार्यकाल पनि कांग्रेसले नै पाएको थियो । भीम पराजुलीले मेयर जित्नुभएको थियो । उहाँको कार्यकाललाई कसरी नियाल्नु भएको छ ।  के–के समस्या देख्नुभयो ?

उहाँले विराटनगरमा काम गर्न धेरै प्रयत्न गर्नुभयो । तर, कोभिड–१९ को महामारीले साढे दुई वर्ष यत्तिकै बित्यो । भौतिक पूर्वाधारमा राम्रो काम गर्नुभएको थियो । सडकहरू राम्रो बनाउनु भएको थियो । योजना राम्रो थियो । तर, समय पुगेन । मैले जितेपछि उहाँले गरेका कतिपय कामलाई निरन्तरता दिदैँ अलि वैज्ञानिक ढंगका योजना बनाएर काम गर्नेछु । 

संघीयता आएपछिको पहिलो कार्यकालमा संघ र प्रदेशले स्थानीय तहलाई कस्तो व्यवहार गरेको अनुभव गर्नु भएको छ ?

२०७४ को संघीय निर्वाचनमा एमालेको दुई तिहाईको बहुमत थियो । संघ र प्रदेशमा उनीहरूकै सरकार थियो । त्यसबेलाको संघीय नेतृत्वले एकदमै विभेदपूर्ण काम गर्‍यो । संघले बजेट लगायतका कुराहरूमा आफ्ना उम्मेदवारले जितेका ठाउँमा मात्रै पठाउने खालको रणनीति अपनायो । प्रधानमन्त्री वा मन्त्री भएपछि दलको नेताको जस्तो व्यवहार गर्नुभएन । जनताको प्रतिनिधि भएर गइसकेपछि सबैको प्रतिनिधि भएर काम गर्नुपर्छ । एमालेको सरकारले सबैको अपनत्व लिएर काम गर्न नसकेका कारणले स्थानीय सरकारले राम्रोसँग काम गर्न सकेन । संघ र प्रदेशले धेरै हस्तक्षेप गरे । संविधानले दिएका अधिकारहरू पनि स्थानीय तहलाई दिन कन्जुस्याँइ गरियो ।  तर, महानगरले आफैँ धेरै काम गर्न प्रयत्न गरेको छ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x