अनियमितता

मेलम्चीको मुद्दामा रौँ बराबरको पनि दम छैन : आरोपित भीम उपाध्याय

इकागज |
फागुन ७, २०८० सोमबार ७:५ बजे

फाइल तस्बिर

काठमाडौँ- ​मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । 


तत्कालीन सचिव उपाध्ययविरूद्ध मुद्दा दायर भएपछि उनले आफूबाट कुनै गल्ती नभएको बताएका छन् ।

तत्कालीन सचिव भीमप्रसाद उपाध्यायको भनाइ जस्ताको त्यस्तै
नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो , मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ। मैले डेढ वर्षअघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ।

यो मुद्दा दायर गर्न पर्ने बिषय नै हैन, प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्यु मात्र हो भनेको थिएँ। तर अख्तियारले आफ्नो ब्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेछ।  मुद्दामा रत्ति दम छैन। अधिकार हुनेले अधिकारको दुरूपयोग गर्न सक्छन्। यसको दोष लिने कुरा हुँदैन।

मेलम्ची टनेल प्रोजेक्ट कूल रू ८ अर्बको ठेक्का हो, राज्यको हिनामिना ७ अर्ब भएको भनेर मुद्दा परेको भनिएको रहेछ। अभियोजनको डिटेल अझै अध्ययन गर्न पाएको छैन। मसँग सोधिएको कुरा तपाईं अध्यक्ष भएको मेलम्ची विकास बोर्डका ५ सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिनाब्याज पेश्की दिएको भनिएको हो, जति रकम पेश्की दिएको छ त्यसको ब्याज राज्यलाई हानी गर्‍यो भनिएको रहेछ। त्यो पेश्कीको ब्याज र ब्याजको स्याज वर्षौँको जोडेर बिगो कायम गरेको बुझियो।

अरूको बारेमा मलाई खास थाहा भएन तर मेरोबारेको कुरा यति रहेछ। म ०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको थिएँ, त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष थिएँ।

म ३ करोड नेपालीका सामू ढुक्कसँग भन्छु, मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैयाँ कुनै बेला दिएको छन् भने भनून्। मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन। रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ।

खैर बिशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनियत नभइ फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाईका लागि उपस्थित हुने नै छु। मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिले काँहि भाइरस लागेर रूघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन ।

बुझ्नुस् रू ८ अर्बको ठेक्कामा रू ७ अर्बको  भ्रष्टाचार ? त्यो पनि सबै प्रक्रिया र बैंक ग्यारेन्टी लिएर दिएको पेश्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडि निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा । त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै  कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा ।


Author

थप समाचार
x