जीवनशैली

'नेपाललाई नाइट लाइफको सहरका रूपमा पनि चिनाउनु छ'

मानिस नै प्रेरणाको स्रोत हुन्

अतिन आचार्य |
कात्तिक १७, २०७८ बुधबार ७:४० बजे

काठमाडौँ- बत्ती र संगीतको विशेष चाँड मानिने तिहारको रौनक देशभर छाएको छ । बजार,चोक, गल्‍ली र गाउँघर झिलिमिल भएका छन् । कोभिड महामारीका कारण रातभर मस्‍त निदाउनेहरू जाग्‍न थालेका छन् ।  रात्रीकालीन क्लबहरू विस्तारै लयमा फर्कन थालेका छन् । 'नाइटलाइफ' ज्‍यूनेहरू ब्‍यूँझिन थालेका छन् । 

पछिल्लो समय महामारीलाई बिर्सेर पनि नाइटक्‍लबहरूमा युवायुवतीदेखि वयस्क उमेरका मानिसहरूसमेत रमाइरहेका छन् । कहिलेकाही रात्रीकालीन जीवनमा रमाउन पूर्व राजा ज्ञानेन्द्र शाहसमेत क्लब जान्छन् । केही वर्षअघि ठमेलको एलओडी क्लबमा उनी नाचेको भिडियो भाइरलै भएको थियो ।


त्‍यही चर्चित क्लब 'एलओडी'का संस्‍थापक/सञ्‍चालक रविन श्रेष्‍ठ आफ्नो छुट्टै परिचय बनाउनका लागि परिरहेका छन् । उनी डेढ दशकदेखि रात्रीकालीन व्यवसायमा संलग्‍न छन् ।

रविन सहरको सबैभन्दा चर्चित क्लबका निर्देशक हुन् । तर उनी एकै पटकको अनुभवले जमेका होनन् । उनले क्लबको मालिकको यात्रा तय गर्नुअघि थुप्रै अनुभव संगालेका छन् । कर्मा, रिफका बार सञ्‍चालक, बेलायती दूतावासको क्लब म्यानेजर र ट्रेकिङ अफिस उनको अनुभवका पूँजी हुन् ।

 गाह्रो काम मानिसलाई खुसी बनाउनु

आफू रमाएर अरुलाई पनि खुसी बनाउन सक्नु ठूलो काम जस्तो लाग्छ रविनलाई । अरुलाई यही खुसी दिन उनी रात्रीकालीन व्यवसायमा संलग्‍न भएको बताउँछन् । 'संसारमा गाह्रो काम भनेको अरुलाई खुसी बनाउनु हो । म अहिले यही गाह्रो काम गरिरहेको छु' रविन भन्छन् ।

समयअनुसार मानिसले आफ्नो परिचय बदल्दै जान्छ । रविन कुनै समय विद्यार्थी बनेर सिंगापुर पुगे । जतिखेर उनी विदेश जाँदै थिए, त्यसबखत मुलुक जनयुद्धमा फसेको थियो । शिक्षा र व्यवसायिक क्षेत्र धराशायी बन्दै गइरहेको थियो । दैनिक हडताल मात्र हुने गरेकाले नेपालमा केही नहुने बुझेर उनी होटल म्यानेजमेन्ट पढ्न सिंगापुर पुगे ।

काठमाडौँको मध्यमवर्गीय परिवारमा हुर्किएका रविनले दुखः बुझेका थिएनन् । सिंगापुरमा पहिलोपटक 'वेटर' को काम गरे । उनी त्यहीँबाट हस्पिटालिटी क्षेत्रमा प्रवेश गरे । उनलाई संयोगले स्थान, समय र मानिस भेटिने लाग्छ । उनले मानिस प्रेरणाको स्रोत हो भनेर पनि बुझेका छन् । उनीसँग होटलमा वेटर गरेकोदेखि म्यानेजरसम्मको अनुभव छ ।

पहिलो गासमा ढुंगा भनेजस्तै पहिलो पटकको सर्भिसमा उनले ग्लास फुटाए । गेस्टको शरीरमा ग्लासले लाग्यो तर केही भनेनन् । रविनलाई गेष्टले भनेका थिए,' तिमी सिकारु हौ थाहा छ । सुरुमा यस्तै हुन्छ ।'  गेस्टको बोली र व्यवहारले उनको सिंगापुरको बसाई लम्बियो । अन्तिममा उनले म्यानेजरको समेत अवसर पाए ।

सिकेको सीपले मानिसलाई सधै अगाडि बढाउँछ

 

'समयमा सीप सिक्दा र बुझेको कुराले मानिसलाई कहिले पछि पार्दैन,' रविन भन्छन्,' सिंगापुरमा रहँदा होटल क्षेत्रमा लागेकाले पनि यो क्षेत्रमा जम्‍न सजिलो भएको छ ।' उनले त्यहाँ रहँदा होटल म्यानेजमेन्ट मात्र पढेनन् । फिल्मी कोर्ससमेत पढ्न भ्याए । उनलाई विदेशमा आफूले चाहेको कर्म गर्न संयोग र भाग्यले साथ दिनुपर्ने जस्तो लाग्छ । उनलाई यी दुवैले साथ दिए । विदेशमा रहँदा केही मानिसको स्मरणयोग्य व्यवहारले यो क्षेत्रमा लाग्‍न उनले प्रेरणा पाएको बताए ।

मानिसलाई शिक्षा र कर्मको साथसाथै मनोरञ्‍जन पनि जरुरी हुन्छ । सिंगापुरमा रहँदा रविनले नाइट लाइफलाई समेत बुझ्‍ने अवसर पाए । उनी नेपालमा रहँदादेखि संगीतका पारखी भएकाले पनि त्यहाँ पनि ठूला-ठूला संगीतमय क्लबहरूमा जान्थे । संगीतमा सौख भएकाले होला अहिले पनि उनी बेलाबेलामा डिजेइङ र गीत गाउने गर्छन् । आफ्नो स्वरमा दुई वटा गीत रेकर्डिङ गरेका छन् जुन चाँडै सार्वजनिक गर्ने सोचमा छन् उनी । यसअघि उनले गिति एल्‍बम पनि निकालिसकेका छन् ।

उनी क्लबमा मात्र संलग्‍न छैनन् । पोखराको विभिन्‍न प्रोजेक्टमा संलग्‍न रहेका तिहार पछाडि कर्मा भिल्लासमेत सञ्‍चालनमा ल्याउने तयारीमा छन् । उनले  एशियन र युरोपेली विभिन्‍न मुलुकसहित १५ मुलुकको भ्रमण गरिसकेका छन्। चाँडै २ वटा मुलुक जाने तयारीमा छन् । स्काई ड्राइभिङमा उनको रुचि छ ।  

कसरी प्रवेश गरे रात्रीकालीन व्यवसायमा

रविन बिदामा नेपाल आउजाउ गरिरहन्थे । साथीहरू आ-आफ्नो व्यवसाय गरिरहेका देख्‍थे । ट्राभलदेखि होटल सञ्चालन गर्नेसम्म उनका साथी थिए । साथीहरूको हौसलाले उनी होटल लाइनमा प्रवेश गरे । साथीहरू रुदिप, भुपेन्द्र, राजु (माइला दाइ) टिमले क्लब सञ्‍चालन गरिरहेको उनले बताए । 'एक्लैले केही गर्न सकिँदैन, एकजनाले ताली मात्र बजाउन सकिन्छ,' उनी थप्छन् ।

रविन रेष्‍टुरेण्ट र क्लबको व्यवस्थापन मात्र गर्दैन थिए । सौखले रिफमा गेष्टहरूको फोटोसमेत खिच्थे । रेष्टुरेण्टमा आउनेहरू रविनको फोटोग्राफी देखेर पनि लोभिन्थे । फोटो खिच्‍नका लागि गेष्टहरू आउने गरेको उनले सुनाए ।

'फोटो खिच्नका लागि मात्र पनि रेष्टुरेण्टमा ग्राहकको भिड बढ्यो । व्यापारका लागि यो ठूलो टुल सावित भयो जुन अहिले व्यापक छ ' उनले भने । ग्राहक बढेकाले उनीसँग  टेबलको प्लेटसमेत उठाएको अनुभव छ । कामले ठूलो र सानो नभइने सोचाइ उनीसँग छ ।

जुन समयमा ठमेलमा रिफ खुल्यो, वरिपरि राम्रा रेष्टुरेण्ट खुलेका थिएनन् । रिफले मानिसको चहलपहल बढाएको थियो ।' 'डेड' ठमेललाई रिफले जगायो । सामान्य चपलपहल हुने ठाउँमा बिस्तारै मानिसको भिड बढ्यो,' रविन विगत सम्झन्छन् । दैनिक लाइभ म्युजिक गरेर गेष्टको चाप बढ्न थालेको थियो । अन्य क्लबले सुरु गरेकै थिएनन् ।

रविनले दूतावासमा काम गरेकाले होला तत्कालीन बेलायती राजदूत मिस्टर जोन टकनटले रिफ लञ्ज एण्ड बार उद्घाटन गरेका थिए । ' होटलको वातावरण राम्रो लागेर होला उद्घाटन गरेर गए पनि राजदूत फर्के । टकनट पनि कुनै दिन बारमा काम गरेकाले  रिफमा फर्केर उनले ड्रिङ्क्स बनाएर खुवाए,' रविन सम्झन्छन् ।

एलओडी कसरी बन्यो भन्‍ने जिज्ञासामा उनले एउटा नराम्ररी डुबेको फिल्मको कथा सुनाए । यो फिल्म थियो 'मुखौटा' । नेपालका सबै स्टारको अभिनय रहको यो फिल्म बक्स अफिसमा भने नराम्ररी डुब्यो । फिल्‍म क्षेत्रमा सफल हुन नसके पनि उनी होटल लाइनमा भने पहिले झै सक्रीय नै रहे । दुई वर्षअघिदेखि एलओडीले सुस्ताएको रात्रीकालीन जीवनलाई पुनः जगायो ।

'रात्रीकालीन व्यवसाय उद्योगको रूपमा स्थापित' 

'नाइट लाइफलाई चलायमान गराउन यहाँ प्रशस्तै डान्स क्लब, रोधी, दोहोरी जस्तै अन्य व्यवसाय पनि सञ्‍चालनमा आउनुपर्छ,' सरकारले पर्यटक आकर्षित गर्न नीति नबनाएको आक्रोश पोख्दै उनले भने,' साँझ ८ बजेपछि अन्य पसल बन्द हुन्छन् । राति घुम्‍न आउनेले सपिङ गर्न चाहेमा उपलब्ध सामग्री पाउँदैनन् । तिनका लागि निश्‍चित नीति बन्‍नुपर्छ ।'

एलओडी जस्ता धेरै क्लबहरू खुल्नुपर्छ तब मात्र रात्रीकालीन व्यवसाय उद्योगको रूपमा स्थापित हुने उनलाई लागेको छ । क्लब निर्माण हुनु मात्र नाइट लाइफ नभएको श्रेष्‍ठको बुझाइ छ । रमाउन चाहनेहरूलाई रमाउन सक्ने आधार निर्माण हुनुपर्छ । एक जना गेस्टले रातको समयमा स्वतन्त्र रूपमा खर्च गरी सुरक्षित वातावरणमा घुम्‍न पाउनुपर्छ । अहिले पनि नेपालमा व्यवस्थित नाइट लाइफ हुन सकेको छैन ।

नेपाल सगरमाथा र लुम्बिनीको देश भनेर चिनिएकोमा रविनलाई गर्व छ । तर, नेपाल हिमालको मात्र देश नभई, नाइट लाइफमा पनि प्रसिद्ध र सुरक्षित छ भनेर उनलाई चिनाउन मन छ । 'नेपालमा गरिबी मात्र छैन, रात्रीकालीन समयमा रमाउनेहरूले रातमा लाखौं खर्च गर्न सक्छन भनेर देखाउनु छ,' उनले थपे ।

क्लबमा रमाउन आउनेलाई कम्फर्टेबल फिल गराउन सकेमा मात्र पुनः गेस्ट आउन सक्ने उनी बताउँछन् । रुचि गरेर आउनेलाई रहरमा बदल्न सके मात्र गेस्ट आउने उनको भनाइ छ । क्लबमा सर्वसाधारणदेखि सबैखालका मानिसका लागि स्थान उपलब्ध छ । टेबल अनुसारको मूल्य तोकिएको उनले बताए ।

एलओडीको नाइट क्लबको चेन बिज्नेस गर्ने तयारीमा रहेको रविन बताउँछन् । झापामा सोहीअनुरुप सुरुवात हुन लागेको छ । यसलाई अन्तर्राष्‍ट्रियस्तरमा पनि लान सोचाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x