साहित्य

तुलसीकुमार गुरुङको आत्मकथा ‘तुलसी’ सार्वजनिक

इकागज |
जेठ २९, २०७९ आइतबार १७:४५ बजे

काठमाडौँ-  पूवै ब्रिटिस गोर्खा तुलसीकुमार गुरुङको आत्मकथा ‘तुलसी’ सार्वजनिक भएको छ । उनले लेखेको आत्मकथा  ‘तुलसी’ को हालै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको थियो  ।

पौरखी र प्रेरणादयी स्वभावका गुरुङ परोपकारका लागि चिनिन्छन् । हङकङमा बसोबास गर्दै आए पनि मातृभूमि र जन्मभूमिको समृद्घि गुरुङको सपना हो । ‘तुलसी’ मा गुरुङको जीवन यात्रा वर्णन समेटिएको छ । पुस्तकमा उनले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवनयात्राको वर्णन त गरेका छन् नै,  उनलाई नजिकबाट बुझेका आमा, श्रीमती, छोराहरूदेखि अन्य व्यक्तिहरुले पनि पुस्तकमा गुरुङप्रतिको आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।


कास्कीको वार्चोकमा जन्मिएका तुलसी कुमार गुरुङ लामो समय ब्रिटीस गोर्खा सैनिकमा आवद्ध रहे । यो सँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन । यस विधामा हङकङ सरकारका प्रमुख प्रशिक्षक समेत बनिसकेका गुरुङले तेक्वान्दोमा  अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका पनि निर्वाह गरिसकेका छन् । नेपालका गाउँघरमा खेलिने छेलोदेखि स्विमिङ च्याम्पियन बनेर गुरुङले राष्ट्रिय–अन्तराष्ट्रिय पदक समेत प्राप्त गरिसकेका छन् ।

विश्वभरका सयौं सैनिक एवं गैर सैनिकलाई तालिम दिइसकेका गुरुङले गरिमामय ‘हल अफ फेम’ को उपाधि समेत प्राप्त गरिसकेका छन् । खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरुप गुरुङलाई नेपाल सरकारले प्रबल जनसेवा श्री पदकद्वारा विभूषित समेत गरिसकेको छ ।

यो पुस्तक वि विल राइज फाउण्डेसनले प्रकाशित गरेको हो । गुरुङ उक्त फाउण्डेसनका अध्यक्ष पनि हुन् । लेखक गुरुङले पुस्तकबाट प्राप्त हुने सम्पूर्ण आम्दानी सामाजिक कार्यमा उपयोग गर्नेगरि फाउण्डेसनलाई प्रदान गर्ने घोषणा गरेका छन् । २७२ पृष्ठको यो पुस्तकको मुल्य ५ सय रुपैंया राखिएको छ ।


Author

थप समाचार
x