साहित्य

भोजपुरेको ‘मुसुक्क म’ सार्वजनिक

इकागज |
जेठ ९, २०८० मंगलबार १३:३९ बजे

काठमाडौं - लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन् ।
एक सय ८ वटा लघुकथाहरुको यो संग्रहित भोजपुरेको  ‘मुसुक्क म’ पब्लिकेशन नेपालयबाट प्रकाशन भएको हो । 

नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो । साढे पाँच दशकअघि नेपालमा केहि तन्नेरीहरु मिलेर साँगीतिक समूह ‘लेकाली’ जन्माएका थिए । त्यसमा विशेषगरि भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिति थियो ।

भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ । उनीहरुले विशेषगरि लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए ।

भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरुभएको थियो । आफैले संगीत दिएर गाएको भोजपुरेको यो गीत राष्ट्रिय भावनाका नेपाली गीतहरुमाझ अजम्बरी मानिन्छ । यसरी नेपाली साहित्यमा गीतकारका रुपमा उदाएका भोजपुरेले कालान्तरमा कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन् । यसपटक भने उनी लघुकथाकारका रुपमा पाठकमाझ उपस्थित भएका हुन् ।


बाइरोडको बाटोमा धुलो उडाउँदै’ का यी सर्जक आफू वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन् । उमेरको उत्तरार्धमा पनि साथीसंगत बीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यहि गुण झल्कने हिसाबले जीवनका साना साना भोगाइहरुबाट निस्कने भावलाई यी लघुकथाहरुमा अभिव्यक्त गरेका छन् ।  ‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरो मनको बुनोट बन्छ,’ भोजपुरे यी लघुकथाहरुको रचना बारेमा भन्छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यहि कुरा आफूलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयारभएको हो ।’

दुई विषयमा उतिबेलै स्नातकोत्तर भोजपुरे लामो समय सरकारी सेवामा पनि संलग्न रहे । तर, उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ । भोजपुरेले यी लघुकथाहरु छ वर्षयता सिर्जना गरेका हुन् । ‘यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,’ भोजपुरे भन्छन्, ‘त्यो कालखण्डमा म छोरी ज्वाईं , छोरा बुहारी र नाती नातिना समिप अमेरिकातिर रहेकोले, प्रवासिँदाका नेपाली भोगाइहरु पनि यी कथाहरुमा समेटिन पुगेका छन् ।’

भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् । ईबुकको प्रतिलिपि र अडियो बुक thuprai.com बाट किन्न सकिन्छ । मास्केका अनुसार यो पुस्तक संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।


Author

थप समाचार
x