साहित्य

‘बोबी’ अभिनेत्री कविताले कवितामै उतारिन् जीवनका भोगाइ

इकागज |
साउन २६, २०८० शुक्रबार १४:५० बजे

काठमाडौँ  - हिट फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राई लगायतले कविता संग्रहको ‘सफ्टलन्च’  गरे ।
कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाइका अनुभवहरु कविता मार्फत् उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मनलागेकोले सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् ।

गुरुङले सार्वजनिक गरेको संग्रहमा १० वटा कविता छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकमा ल्याउने सोच छ । नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् । ‘भोलिका दिन म नरहुँला, समयले नदेला, ममा जोस नहोला, मेरो कविता त्यतिकै थन्किएर बस्ला’, उनले अगाडि थपिन् ‘जे जति कविता तयार भए । ती सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ ।’ अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने सोच आफ्नो रहेको उनले सुनाइन् ।


‘जव मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले थपिन् ‘मैले पहिलो चोटी ‘बोबी’ फिल्म अभिनय गरेँ । मिडियाका साथीभाइले राम्रोसँग साथ दिनुभयो । गत वर्ष पुस्तक ल्याए । त्यसमा पनि साथ पाएँ।’ पटकपटक साथ र सहयोग गर्नेसँग भेट्न कविताको बहानमा नेपाल आएको उनको भनाइ थियो । पहिलो पटक कोरेको कविता श्रीमान्लाई सुनाउँदा राम्रो भनेकोले अन्य कविता पनि आफूले कोरेको उनको भनाइ थियो ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेत्री गुरुङको आँट र क्षमताको आफू सधै प्रशंसक रहेको बताए । ‘कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन् । उनले लेख्न थालेपछि जानकारी दिइन्’, पराजुलीले भने ‘यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भएपनि राम्रो सुरुवात भयो ।’ कविताले पुस्तक पूरा गरेर सार्वजनिक गर्नेमा आफू आशावादी रहेको पराजुलीले बताए ।

‘अलिअलि गीत र कविता त म पनि लेख्दै आएको छु’ पराजुलीले भने ‘गुरुङको कवितामा मैले धेरै यथार्थ पाएँ, मन छाेयो ।’ गुरुङमा राम्रो साहित्यकारमा हुने छनक आफूले देखेको बताएका पराजुलीले कवितालाई पुस्तक सबै पाठक माझ पुर्याउन समेत सुझाए ।

त्यस्तै चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योती राइले अभिनेत्री गुरुङको कवितामा यर्थात र जीवन भोगाइका अनभुव भएकोले सबैको जीवनसँग कहिँ न कहिँ मेल खाने रहेको बताए । कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरु’, ‘भेट्नुछ एकचोटि अब फेरि’ शीर्षकका तीन कविता समेत वाचन गरेर सुनाएकी थिइन् ।

अभिनेत्री गुरुङले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् । जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन् । अहिले सार्वजनिक कविता संग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ छ ।

कविता र उमेशलेसँग परिवारको सहमतीबिना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्वे पुगेका उनीहरुको प्रेमकथामा केही वर्ष अगाडि ‘बोबी’ फिल्म निर्माण भएको थियो । जुन फिल्ममा कविता र उमेश नै मुख्य भूमिकामा थिए । 


Author

थप समाचार
x