साहित्य

गैंडाकोटमा बोखिमको `गोधूलि गीत´को परिचर्चा

इकागज |
भदौ ३, २०८० आइतबार ८:४९ बजे

गैंडाकोट । भानु बोखिमको उपन्यास ‘गाेधूलि गीत’को समीक्षात्मक कार्यक्रम गरिएको छ । उपन्यासमा दश वर्ष लामो माओवादी युद्ध र त्यसको प्रभावको विषय समेटिएको छ । लेखक सिर्जन अविरलले सहजीकरण गरेको अन्तरक्रियामा समीक्षक प्रभा मरहट्ठा, अविरल यात्री र लेखक बोखिम सहभागी थिए । शनिबार द नारायणी रिसोर्ट गैंडाकोटमा कार्यक्रम गरिएको हो ।

प्रभा मरहट्ठाले ‘गाेधूलि गीत’ जनयुद्धको दस्तावेज भएको बताउँदै युद्धमा लडेकाहरूले परिवर्तनको सपना देखेको बताइन् । तर परिवर्तनको अपेक्षा अनुरुप वर्तमान समय नआएको कुरा पनि उपन्यासले समेटेको बताइन् । `कसरी एक किशोरी पढाइ छाड्न बाध्य हुन्छे । साथै, उसलाई कसरी प्रभावित पार्दै लग्छ भन्ने विषय र घटनाक्रम ‘गाेधुलि गीत’मा समेटिएको छ´, उनले भनिन् ।


समीक्षक अविरल यात्रीले ताप्लेजुङमा जन्मिएका बोखिमले रोल्पाको कथा लेख्नु भनेको जनयुद्ध आँट्नुजत्तिकै साहसी काम भएको बताए । ‘जनयुद्ध भोगेर या प्रत्यक्ष सामेल भएर लेखिएको भन्दा पनि रोल्पा जाँदा सँगालेका अनुभवको आधारमा बोखिमले यो उपन्यास लेखेका हुन्,’ यात्रीले भने । रेडियो नाटकमा कलम चलाएका उपन्यासकारले यो उपन्यास पनि नाटकीय शैलीमै लेखेको उनले दाबी गरे ।

‘गाेधूलि गीत’ किन पढ्ने भन्ने प्रश्नमा उपन्यासकार बोखिमले युद्धलाई तटस्थ तरिकाले हेर्नका लागि उपन्यास पढ्नुपर्ने बताए । उनले युद्धरत पक्षलाई उपन्यासले राम्रो नराम्रो नभएर दुवैलाई समान दूरीमा बसेर नियालेको बताए । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टिप्पणीकार उदय अधिकारीले सशस्त्र युद्धलाई आधार मानेर नेपाली साहित्यमा धेरै उपन्यास लेखिएको चर्चा गर्दै ‘गाेधूलि गीत’ले पनि त्यही युद्धलाई फरक ढंगले प्रस्तुत गरेको बताए । कतिपय उपन्यास लडाकु आफैँले लेखेका भए पनि बोखिमले देश भ्रमणका क्रममा सुनेका र देखेका कुरालाई आधार बनाएर उपन्यासमा उतारेका छन्, अधिकारीले भने । 

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले अध्यक्षता गरेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । पुस्तकलाई कलम प्रकाशनले प्रकाशन गरेको हो ।


Author

थप समाचार
x