साहित्य

‘हार्न नसक्ने मान्छे म’ लोकार्पण

इकागज |
भदौ २२, २०८० शुक्रबार १९:५२ बजे

मकवानपुर- मकवानपुरे कवि गणेशकुमार तिमल्सिनाद्वारा लिखित कविता तथा गजल संग्रह ‘हार्न नसक्ने मान्छे म’ को लोकार्पण गरिएको छ ।

आज हेटौंडा-११ डाङ्डुङ्गेस्थित मामाघर नेपालमा कार्यक्रमको आयोजना गरी मामाघर नेपालमा बस्दै आएका पाँचजना भान्जाहरूले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् । 


पुस्तकको विषयमा बोल्दै पुस्तकका सम्पादक समेत रहेका कवि निमेष निखिलले तिमल्सिनाका कविता र गजलहरू उत्कृष्ट रहेको बताए । जीवन भोगाइका सुखदुखात्मक अवस्था र अनुभूतिको अभिव्यक्ति नै तिमल्सिनाको कविताको मूल भाव रहेको उनले बताए ।

प्रतिकूल समयसँग पौँठेजोरी खेल्ने हिम्मत र बाटो बिराएको राजनीतिले सही बाटो पहिल्याउनु पर्छ भन्ने सन्देश उनको कविता तथा गजलमा समेटिएको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै कवि आरसी रिजालले तिमल्सिनाको कविता तथा गजलहरूले वर्तमान मानिसहरूको भावनालाई बोलेको बताए । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशन गर्दै आइरहेका तिमल्सिनाले कृति प्रकाशन मार्फत समाजमा भएको समसामयिक विषयलाई उजागर गर्न खोजेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अनलाइन मिडिया एसोसियसन (ओमान) का अध्यक्ष धर्मेन्द्र दाहालले तिमल्सिनाको कविता तथा गजल संग्रहले मकवानपुरे साहित्यमा थप योगदान दिएको बताए । उनले कविता तथा गजल मार्फत समाजमा व्याप्त असन्तोष, राजनीतिक खिचातानीलाई व्यङ्ग्य गर्न खोजेको दाहालको भनाइ थियो ।

कार्यक्रममा बोल्दै कृतिकार तिमल्सिनाले आफूले लामो समयबाट साहित्यको क्षेत्रलाई नियालेको, विभिन्न समाचार माध्यममार्फत आफ्ना कविता, गजलसहितका साहित्यिक विचारहरूलाई प्रस्तुत गर्ने गरेको बताए ।

'हार्न नसक्ने मान्छे म' आफ्नो पहिलो पुस्तक भएको भन्दै उनले आगामी दिनमा अन्य साहित्य कृतिको तयारी गरेको बताए । कार्यक्रम मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीको अध्यक्षतामा भएको हो ।


Author

थप समाचार
x