कपुरको रुखसँग शब्दको पदचाप
झन्नै ३० वर्षपछि काठमाडौँको प्रर्दशनी मार्गमा एक्लै टोल्हाउने मौका मिल्यो । २०७७ माघ महिनाको एक बिहानी । शनिबार । सुनसान प्रर्दशनी मार्ग । कपुरको बोटबाट झरेका पातहरूले पिच सडक छोपिएको थियो ।
वारिपट्टि नेपाल ल क्याम्पसको गेटैछेउको होटलमा बसेर कालो चिया (ब्ल्याक टी) सुर्काउँदै म त्यही कपुरको बोट नियालिरहेको छु । ओहो ! अब त यी रुख पनि बूढा भएछन् । फ्ल्यासब्याकमा कलेज पढ्दाताका (२०४५/२०४६ साल) को सम्झनाले रोमाञ्चित बनायो । प्रदर्शनीमार्गको बाटो त्यही, गारो र रेलिङ पनि त्यही तर कपुरको बोट चाहिँ बूढै भएको हो । हरियो र युवा लाग्ने बोट त अब फुस्रो फुस्रो र बूढो भएछ । कति रुखका त बोक्रा पनि उप्किन थालिसकेछन् ।
प्रदर्शनी मार्गको भृकुटी मण्डपमा कुनै मेला हुँदा टिकट काट्नुको असमर्थतालाई छल्न रेलिङ नाघेर कपुरको बोटमा बुर्कुसी मार्दै भित्र पसेको सम्झना कति रोमाञ्चित छन् । त्यो समय, भर्खर आइएल पढ्दै गर्दा पैसा नै कहाँ हुन्थ्यो र ! नेपाल ल क्याम्पसका अन्य साथीहरूसँग हेलिँदै रेलिङमा अडेस मारेर बसेको बहानामा भित्रपट्टि कपुरको बोटमा बुर्कुसी मार्दै बिनाशुल्क मेलामा रल्लिने तरिका, बुद्धिमता भन्ने कि उपद्रो !
त्यसो त मेरो पनि उमेर उकालो लाग्दै छ नि । तर कपुरको बोटले मलाई झण्डै ३० वर्षअघिको यादमा फर्काउँदा म आफू चाहिँ युवा र ऊर्जाशील महसुस गरिरहेको छु । रुख-बिरुवामा पनि चेतना हुन्छ भने ती कपुरका बोटहरूले मलाई चिने होलान् र ती रुखहरूले पनि फ्ल्यासब्याकमा ३० वर्ष अघिलाई सम्झे होलान्, रोमाञ्चित बने होलान् । त्यसो त मैले ती रुखका नाम पनि भुलेको रहेछु । भृकुटीमण्डपमै कार्यालय रहेको राष्ट्रिय जेष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्कीले भने- त्यो रुख कपुरको हो ।
म प्रदर्शनी मार्गको कपुरको बोटलाई यसकारण पनि सम्झिरहेको छु कि मैले साहित्य लेखनको सुरुवात त्यही कपुरको बोटबाट झरेका हरेक पातको उडाइहरूमा रमाउँदै गरेको थिएँ । हरिया चमकदार पातहरू हावाका झोँक्काहरूसँगै झर्न बाध्य थिए, त्यतिबेला पनि । ती पात रुखमै सजिन संघर्ष गरिरहँदा, अनि रुखबाट बिछोडिएर निक्कै बेर हावामा गोलचक्कर लगाइरहँदा मेरो युवा मष्तिस्कले विस्मयभाव ओकलेको थियो शब्दको पदचाप मिलाउँदै कविता बनाएर :
कल्पनाको शून्य संसारमा
रुमली रहेछु
सम्पूर्ण हाँसो बाँडी
आँसुमा डुबिरहेछु
चाहना अनि आवश्यकता
यी दुई चिज पूर्ति गर्न
समाज अनि संसारसँग लडिरहेछु
यथार्थको उराठलाग्दो संसारमा बाँचिरहेछु
रित्तिन लागेको केही आँसु साँचिरहेछु
हाँसो नभएर के भो ?
आँसु नै भए पनि देखाउन सक्छु
खुसी नभएर के भो ?
दुःखी नै भएर पनि बाँच्न सक्छु ।’
२०४६ सालतिर कोरिएका यी शब्दलाई २०४८ माघ महिनामा स्वरसम्राट् नारायण गोपालको सम्झनामा प्रकाशित ‘इन्द्रधनुष’ रमाइलो साहित्यिक सँगालोले स्थान दिएको थियो । साहेद यो मेरो पहिलो साहित्यिक लेखन थियो ।
संयोग पनि कस्तो, झण्डै ३० वर्षपछि माघ महिनाको बिहानीमा कविता लेखनको प्रेरणा बनेको त्यही कपुरको बूढो बोटलाई नियाल्न पुगेछु । तीनै कविताका भावहरूमा आल्हादित बन्दै । कपुरको रुखहरू त्यही, हावाका झोँक्का र पातको संघर्ष त्यही । अलिकता फरक, रुख चाहिँ बूढो भएकै हो !
संयोग अर्को पनि पर्यो यो पटक । झण्डै ३० वर्षअघि, त्यतिबेला कलेज पढ्ने बहानामा प्रदर्शनी मार्गमा भौँतारिने समय थियो । अनि त्यही समय शिवकुमार राईको ‘डाँक बंगला’ उपन्यास निक्कै घत मानेर पढेको सम्झना छ । तर अहिले ‘डाँक बंगला’को विषय लगभग भुलिसकेको छु । साहित्यकार, पत्रकार चंकी श्रेष्ठ (हाल : अभय श्रेष्ठ) ले कुनै लेखमा ‘डाँक बंगला’ सम्झाए र खासमा म ३० वर्षपछिको शनिबारको त्यो बिहानी ‘डाँक बंगला’को खोजीमा निस्किएको थिएँ । धेरै पसलको चक्कर लगाउँदा पनि ‘डाँक बंगला’ नभेटेपछि ब्ल्याक टी सुर्काउँदै टोल्हाउँदा कपुरको बोटले मोहित गरिदियो ।
प्रदर्शनी मार्गसँग कपुरको रुखको मात्र साइनो हैन । प्रदर्शनी मार्गमा रहेको क्याम्पस, क्याम्पसमा हुने राजनीतिक कार्यक्रम र कार्यक्रममा सहभागी विद्यार्थीहरूको राजनीतिक चेत । यी सबै कुराले मलाई व्यंग्य लेखनमा पनि प्रेरणा थपिदियो । र लेखे पहिलो व्यंग्य लेख ‘दंग र जंग’ । त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाको ‘मुक्ति’ पत्रिकामा छापियो मेरो २०४८ वैशाखमा ।
प्रदर्शनी मार्ग, भृकुटीमण्डप र कपुरको रुख । ३० वर्षपछि एक्लै अलि लामो समय यो ठाउँको सडक नियाल्दै टोल्हाउँदा पनि कति आनन्द लागेको । घरि साइकल कुदाउँदै साथीहरूसँग गफिएको सम्झना, घरि खुरुरुरु दौडिएर भृकुटीमण्डपपट्टिको रेलिङमा उक्लिएको सम्झना, अनि घरि बदामको पोको बोकेर पारिलो घाममा विश्राम गर्ने भन्दै रत्नपार्कतिर तर्किएको सम्झना ।
हरियो र युवा लाग्ने बोट त अब फुस्रो फुस्रो र बूढो भएछ । कति रुखका त बोक्रा पनि उप्किन थालिसकेछन् ।
खासमा सम्झना चाहिँ कपुरको बोटकै धेर । फुस्रो पातको चिन्ता, उप्किएका बोक्राहरूको चिन्ता, हावामा हल्लिएका हाँगाहरूको चिन्ता । सायद कपुरको रुखसँग आफूलाई दाँज्दा आफ्नो घर्किंदो उमेरको पनि चिन्ता हो कि ! आफ्नो बुढ्यौलीमा यसै गरी फुस्रिनु पर्दा, उप्किनु र चोइटिनु पर्दा, मष्तिस्कले संस्मरण गुमाउँदै गएपछि एक्लो एक्लो भावशून्य जीवन बिताउनुपर्दा, जीवन कस्तो होला ? यो मुख्य चिन्ता हो । मृत्यु कस्तो होला, कहिले होला ? त्यो त चित्रगुप्तलाई नै थाहा हुन्छ । तर सतिसालझैँ कपुरको रुखजस्तै हावा, हुण्डरी, असिना, पानी र बढ्दो प्रदूषणसँग हाम्रो जीवनले पनि त पौँठेजोरी खेल्नैपर्ने हुन्छ होला नि ।
२०७७ माघ महिनाको शनिबार, त्यो रात म निदाउनै सकिनँ । घरी घरी त्यही कपुरका रुखहरूले झकझकाइरह्यो मलाई । पाइप बेरेर बनाइएको मोटर र मोजामा कपडा कोचेर बनाइएको भकुण्डो खेलेर हुर्किएको मेरो बालापन, गौरीशङ्कर मुस्कुराएको चरिकोट । २०४४ सालमा एसएलसी दिँदा मेरो मष्तिस्कमा साहित्य, पत्रकारिताको चेत कहाँ थियो र ? काठमाडौँको यही ठाउँ हो (प्रदर्शनी मार्ग), सतिसालझैँ कपुरका यिनै रुख हुन् जसले शब्दमा खेल्न मलाई प्रेरित गर्यो ।
शब्दमा सलबलाएका हातहरूले ‘कामना’ फिल्मी पत्रिकामार्फत करिश्मा केसीलाई प्रश्न सोध्ने हिम्मत जुटायो । ‘कामना’, ‘नेपाल समाचारपत्र दैनिक’ र ‘साधना’का सम्पादक आदरणीय पुष्करलाल श्रेष्ठको प्रेरणा तथा गिरिराजमणि पोखरेल (नेकपा नेता, ‘जनएकता साप्ताहिक’को तत्कालीन सम्पादक) को उत्साहले ‘नेपाल समाचारपत्र’ र ‘जनएकता’मा समाचार लेख्ने आँट बढ्यो ।
स्व.पुष्करलाल श्रेष्ठको प्रसंग उल्लेख गर्दा उहाँ व्यावसायिक पत्रकारिताका लागि भीष्म पितामह हन् । उनको ‘कलम’ र ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकले अबको नयाँ पुस्तालाई पक्कै पनि पत्रकारिता र साहित्यमा लाग्न प्रेरणा दिने नै छ ।
अब मैले के कुरा ठम्माएँ भने जुनसुकै विषयको प्रेरणाका लागि पनि सामाजिक वातावरण अपरिहार्य हुने रहेछ । त्यतिबेला मेरो गन्तव्य चरिकोटै बनेको भए सायद पत्रकारिता मेरो लक्ष्य र साहित्य सौख हुँदैन थियो होला । दार्जिलिङबाट भित्रिएका महान् शब्द सारथिहरू पारिजात, लैनसिंह बाङ्देल, इन्द्रबहादुर राई, पिटर जे कार्थक, प्रकाश कोविद, शिवकुमार राईहरूको कर्मथलो बनेको काठमाडौँ लेखनको उर्वर भूमि थियो । उनै महान शब्द सारथिका लेखन पढ्दै त्रिचन्द्र श्रेष्ठ प्रतीक्षा, कमला श्रेष्ठ, व्याकुल पाठक, शान्ति प्रिय जस्ता साहित्यकार र स्व.पुष्करलाल श्रेष्ठ, गिरीराजमणि पोखरेलहरू जस्ता पत्रकारको संगतिले मलाई साहित्यानुरागी र पत्रकार बनायो ।
काठमाडौँकै प्रेरणाले चरिकोटमा पनि साहित्यको राप भित्र्याउन २०४९ तिर ‘अरुणिमा’ जन्माएका हौँ हामी केही साथी मिलेर । दाबी हैन तर ‘अरुणिमा’ले चरिकोटमा साहित्य र पत्रकारिताका लागि पुष्ठभूमि तयार गरेको कुरामा सत्यता पक्कै छ । त्यसमाथि चरिकोटसँग दार्जिलिङ, मिरिक, सिक्किम, गान्टुकको भावनात्मक सम्बन्धले त्यतातिरको साहित्यिक गन्ध चरिकोटमा भित्रिने नै भयो । दार्जिलिङतिरको भावनात्मक सम्बन्ध कतिसम्मको भने भारी बोक्ने सबैलाई चरिकोटेभन्दा पनि हाम्रो मन नदुख्ने । बरु पुस्तकभित्रको परिवेशमा चर्चा गरिएका उतातिरको टिस्टा रङ्गीन, मिरिक, घुम, चौरस्ता आदि नामहरूसँग आफ्नोपन भेटिने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया