प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको पत्र : संकल्प प्रस्ताव कै आधारमा सरकार परिवर्तनको कार्यमा नलाग्नु
काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव कै आधारमा सरकार परिवर्तनको कार्यमा नलाग्न प्रदेश प्रमुख परशुराम खापुङलाई स्मरण पत्र बुझाएका छन् ।
मंगलबार विराटनगरमा मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई स्मरण पत्र हस्तान्तरण गर्दै संविधान र प्रदेश सभा नियमावलीअनुसार प्रदेश प्रमुख भूमिका, संकल्प प्रस्ताव दर्ताको प्रक्रिया र प्रस्तावको उद्देश्य, मुख्यमन्त्री नियुक्तिका आधारहरूबारे जानकारी गराउँदै सरकार परिवर्तन नगर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव कै आधारमा सरकार परिवर्तन गर्नु असंवैधानिक र संसदीय मूल्य मान्यताविपरीत हुने बताए । उनले प्रदेश प्रमुखले संविधान र कानुनअनुसार तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्कीले प्रदेश प्रमुखले संविधानको मर्म र भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने बताए ।
गत चैत्र २६ गते नेकपा एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेश सांसदहरूको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ६ गते विशेष अधिवेशन आव्हान गरेका थिए । सो अधिवेशनले संकल्प प्रस्ताव पारित गर्दै वैशाख २६ गतेभित्र विश्वासको मत लिन मुख्यमन्त्री कार्कीलाई निर्देशन गर्ने निर्णय गरेको थियो ।
संकल्प प्रस्तावअनुसार वैशाख २६ गतेसम्म कोशी प्रदेशका मुख्यमन्त्रीले बहुमत सिद्ध गर्न नसके प्रदेश प्रमुखले अर्को सरकार गठनको प्रक्रिया सुरु गर्न सक्ने भएकाले मुख्यमन्त्री कार्कीले स्मरण पत्र बुझाएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया