प्रमुख समाचार

काठमाडौँमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्‍चालनमा राेक

इकागज |
जेठ ५, २०७९ बिहीबार २०:१३ बजे

काठमाडौँ- सार्वजनिक विदाको दिन काठमाडौँमा सरकारी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । सरकारले जेठ पहिलो सातादेखि दुई दिन विदा दिने निर्णय गरेसँगै सरकारी सवारीसाधन सञ्चालनमा कडाइ गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

शनिवार, आइतबार र अन्य सार्वजनिक विदामा सरकारी सवारीसाधन सञ्चालन गर्न नपाइने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए ।


'पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले सार्वजनिक विदामा सरकारी सवारीसाधनमा कडाइ गर्न लागिएको हो,' उनले भने,' सरकारी काम बाहेक अन्य काममा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।'

सार्वजनिक विदाको दिन सरकारी साधन सञ्चालन गर्नुपरे जिल्ला प्रशासनबाट पास लिनुपर्ने पौडेलले जानकारी दिए । विकास निर्माणको कामलाई अनुगमन गर्न जानु पर्ने भएमा पास उपलब्ध गराइने उनको भनाइ छ ।

उनका अनुसार पास माग गर्नेले सम्पूर्ण विवरण खुलाउनु पर्ने छ । पास मागका लागि कार्यालयको पत्र हुनु पर्नेछ । विना पासका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइने उनले बताए ।


Author

थप समाचार
x