प्रमुख समाचार

सुनको मूल्य कसरी निर्धारण हुन्छ ?

इकागज |
साउन ५, २०७९ बिहीबार ११:० बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा हरेक दिन (बिदाबाहेक) सुनको मूल्य निर्धारण हुन्छ । दैनिक सुनको मूल्य घटे/बढेको समाचार आउँछ । उसो त नेपालमा मात्रै होइन विश्व बजारमा पनि छिनछिनमा सुनको मूल्य फरक फरक हुन्छ । हरेक दिन सुनचाँदीको मूल्यमा परिवर्तन आइरहन्छन् । अघिल्लो दिन कायम रहेको मूल्य भोलिपल्ट नहुन सक्छ । दैनिक सुनचाँदीको मूल्य थपघट भइरहन्छ ।

अब तपाईको मनमा एउटा जिज्ञासा आउन सक्छ, 'आखिर सुनचाँदीको मूल्य कसरी तोकिन्छ त ?' दैनिक परिवर्तन हुने सुनचाँदीको मूल्य कसरी निर्धारण हुन्छ ?


नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय हुन्छ । साथसाथै, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तय गर्ने गर्छ।

 नेपाली समयअनुसार बिहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ । उक्त दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन हुन्छ ।

यसरी आएको गुणन फलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिने गरेको शाक्यले जानकारी दिए । सुनको मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोडिन्छ ।

 त्यसको मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने उनले जानकारी दिए । सुन आयात गर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन महँगो डलरको भाउ वृद्धि हुँदा नेपाली बजारमा सुनको मूल्य बढ्छ । सरकारले भन्सार राजस्वको दर बढाइदिएको अवस्थामा पनि सुन महँगिने गरेको छ ।

 

 


Author

थप समाचार
x